सोरठी लय जनगलाबाट सृजित कुनै न कुनै कथामा बगेको हुन्छ भने समूहमा गरिने लोकनृत्यले दर्शकदीर्घालाई मन्त्रमुग्ध बनाउँछ ।नेपाल साँस्कृतिक विविधताले भरिएको एक सार्वभौम सम्पन्न देश हो । भौगोलिक विविधताकासाथै क्षेत्रीय रुपमा व्याप्त भिन्नभिन्न किसिमको मौलिक संस्कृतिले हाम्रो देशलाई अझ सुन्दर बनाएको पाउँछौँ । अनेक जाति, धर्म, संस्कार र संस्कृतिभित्र रमाउने हाम्रो देश नेपाललाई विश्वसामु पहिचान गराउने माध्यममध्येको एक माध्यम हाम्रो संस्कृति हो । यीनै साँस्कृतिक विविधताभित्रको एक विधाहो–लोकभाकामा गाइने गीत अनि त्यसमा नाचिने पृथक प्रकारको लोकनृत्य र सँगै बजाइने लोकवाद्यहरु । हिमाल, पहाड र तराइ भेगमा बसोबास गर्ने हरेक जातजातिको आफ्नै मौलिक भाकाका लोकगीतहरु रहेका छन् । उनीहरुले सामूहिक रुपमा गाउने लोकभाकामा समुदाय र समाजको कथा–व्यथालाई समेटेको पाइन्छ । मेलापात, विभिन्न महोत्सव र चाडपर्वमा गाइने यस्ता लोकभाकाका गीतहरु नै निश्चित समुदायको लागि कुनै बेला मनोरञ्जनको मुख्य माध्यम थिए । कुनै पनि राष्ट्रको संस्कृति भनेको त्यस देशको सम्पत्ति हो । एकसय बयालीस जातिका विविध संस्कृति रहेको नेपाल, साँस्कृतिक रुपमा धनी र छुट्टै पहिचान बोकेको राष्ट्रको रुपमा विश्वमा स्थापित छ ।
दुखको कुरा भारतीय र पश्चिमी संस्कृतिको प्रभावका कारण हाम्रा युवाहरु आप्mनो मौलिक लोक संस्कृतिलाई छाडेर त्यतातिर ढल्केकोकारण देशमा गाइने धैरै लोकलयहरु संकटमा पर्दै गएको बताउनुहुन्छ, लोकभाकाका पुराना गुरु ऐकबहादुर गुरुङ ।गण्डकी प्रदेशमा प्रचलित विभिन्न लोकभाकाहरुमध्ये सोरठी विशेष किसिमको लोकलय र वाद्यवादनसहितको लोकनृत्य हो । गण्डकी प्रदेशमा सोरठी गुरुङ र मगर जातिमा प्रचलित परम्परागत नृत्य हो । यो नृत्य ठूलो समूहमा नाचिने गरिन्छ । यस नृत्यमा गुरुले मादलको तालमा गीत गाउने र अन्यले साथ दिन्छन् । यसमा कम्तिमा १२ जना नृत्याङ्गनाहरु नाच्ने गरिन्छ । जसमा म्हिला र पुरुष दुबै हुनसक्दछन् । यसलाई सोरठी भन्नुको पछाडि कुनै एक राजाको १५ वटा रानी र एक राजकुमारी गरी १६ वटी भन्ने शब्द अपभ्रंश हुँदै सोरठी भएको भनाइ रहेको छ । तिनै राजारानीको कथालाई श्रृंगारिक लयमा वाद्यवादनसहित गाइने भएको कारण यसलाई प्राचिन लोकनाटक पनि भन्ने गरिन्छ । ठूलो–सानो, ऊँच–निच र धनी–गरीब नभनी सबै मिलेर गाउने र नाच्ने यस नृत्यले समाजमा सदभाव र मित्रताकायम गर्न मद्दत पु¥याएको पाइन्छ । सोरठी लय जनगलाबाट सृजित कुनै न कुनै कथामा बगेको हुन्छ भने समूहमा गरिने लोकनृत्यले दर्शकदीर्घालाई मन्त्रमुग्ध बनाउँछ । यो गुरुङ र मगरबाहेक दुरा, धिमाल, कुमाल र थारु जतिमासमेत प्रचलनमा रहेको पाइन्छ ।यी समुदायमा यो नृत्य चाडपर्व, शुभविवाह, मृत्यु संस्कार र राम्रो नराम्रो कार्यहरुमा नाच्ने र गाउने गरिन्छ ।सोरठी पर्वतको कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कमा पनि अति प्रचलनमा रहेको लोकभाका हो । निसन्तान घरमा सोरठी गाउने र नाच्ने गरेमा सन्तान जन्मनेमिथक अहिले पनि गाउँघरतिर व्याप्त रहेको छ । बसाइँसराइ तीव्र बन्नुअघि सोरठीलगायतका अन्य भाकाहरु गाउँमा मज्जाले गुञ्जन्थे । मेलापात, उत्सव, चाडपर्व र जमघटमा मनोरञ्जनको मुख्य माध्यम लोकभाका लयहरु रात–रातभर गाउने प्रचलन सम्झने पुस्ता अझ जीवित नै रहेको छ । तर, त्यो बेला र अहिलेको समयमा धेरै अन्तर आइसकेको छ । गाउँमा गुञ्जने ती लोकभाकाहरु क्षितिजमा हराउँदै गएको पाउँछौँ र त्यसरी लोप हुदै गएको भाकाहरुमध्ये सोरठी पनि एक रहेको छ । कुनै बेला त्यस गाउँमा जनजनको मुखमा झुण्डिने सोरठीलाई नयाँ पुस्ताले खासै चासो दिएको पाइँदैन । जसले गर्दा मौलिकताले भरिएको सोरठीे लोप भएर जाने त हैन भन्ने चिन्ता झन थपिएको छ ।
सोरठीलाई संरक्षण गर्नुपर्ने आजको आवश्यकता भएको छ । रोधिं बस्ने प्रचलनलोप भएसँगै धेरै लोकसंस्कृतिहरु हराउँदै गएका छन् । हिजोको समयमा रोधीं घरमा गाउँले युवायुवतीहरु एकत्रित भएर सामूहिक रुपमा लोकभाकाका गीतहरु गाउने र नाच्ने गर्दथे, जसले गर्दा संस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरण हुन्थ्यो । आजकल आधुनिकताको प्रभावले सहरमात्र नभएर गाउँघरसमेत बिटुलिएको छ । रोधीं बस्ने परम्परा नै टुटेको छ । सोरठीलगायतका लोकभाकाहरु बुढापाकामा सीमित हुँदै गएको छ । उनीहरुको अवसानपछि ती लोकभाका र लोकनृत्यहरु लोप हुने निश्चितप्रायः छ । तसर्थ यसको संरक्षण, सम्बद्र्धनका साथै पुस्ता हस्तान्तरण अतिआवश्यक भएको छ । यसै सन्दर्भलाई लिएर श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज पोखराले आप्mनो गाउँमा प्रचलित लोपोउन्मुख सोरठीगीत र नृत्यको संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा पोखराको समाज घरमा एक महिने सोरठी नृत्य प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। गाउँमा पुराना लोकभाका गाउने केही जीवित पुराना पुस्तामध्येका सोरठी भाकाका गुरु ऐकबहादुर गुरुङ र सहयागीहरुलक्ष्मीकुमारी गुरुङ, पुष्पा गुरुङ, सकुन्तला गुरुङ, स्यानकन्छी गुरुङ र बदम कुमारी गुरुङ त्यसै गरी सोरठी नृत्यका प्रमुख गुरु भोजप्रसाद गुरुङ र वाद्यवादनका गुरु ना.सु. भिमप्रसाद गुरुङ र ऐकबहादुर (लामा) गुरुङकोअगुवाइमा एक महिनेसंयुक्त प्रशिक्षणमा ४४ जना समाजका युवा–युवती प्रशिक्षित भएका थिए ।समाजले चालेको यस कदमलाई सकारात्मक मान्न किन जरुरी छ भन,े केही हदसम्म यस प्रशिक्षणले पुस्ता हस्तान्तरण कार्यको सफल प्रयास भएको छ ।कार्यक्रमको उद्घाटन गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले गरेका थिए भने उपकुलपति गोरेबहादुर गुरुङको पनि विशेष उपस्थितिमारहेको थियो । त्यसैगरी भव्य कार्यक्रमसहित प्रशिक्षणको समापन तथा प्रमाणपत्र वितरण कुलपतिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उहाँले आर्थर डाँडाखर्क गाउँको सोरठीको लय फरक प्रकारको र मीठासपूर्ण रहेको हुनाले यसलाई प्रतिष्ठानको लाइब्रेरीमासुरक्षित राख्ने बताउनु भयो ।
(आर्थर डाँडाखर्क समाजको रजत जयन्ती विशेषाङ्कबाट साभार । सं.)




