म्याग्दी/ गलेश्वर शिवालय क्षेत्र विकास कोषले साउन महिनाभर हुने सोमबारे पर्वलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन विभिन्न २५ वटा उपसमितिहरु गठन गरेको छ । हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र प्रसिद्ध तीर्थस्थल गलेश्वर धाममा साउने सोमबारका अवसरमा दर्शनार्थीको बढ्दो भीडलाई व्यवस्थित गर्नका लागि आवस्यक तयारी पुरा भएको कोषले जनाएको छ ।
कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा हालै बसेको बैठकले साउन महिनाको ४, ११, १८ र २५ गते पर्ने सोमबारका दिन गलेश्वर धाममा आउने हजारौँ भक्तजनलाई सहज रूपमा दर्शन, पूजा–अर्चना र धार्मिक अनुष्ठान गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले उपसमितिहरू गठन गरेको हो ।
गठित उपसमितिअन्तर्गत मनोज पौडेलको संयोजकत्वमा मण्डपभित्र पूजा, टीका तथा प्रसाद व्यवस्थापन, बमबहादुर पुनको संयोजकत्वमा शिवलिङ्ग पूजा व्यवस्थापन, गंगाबहादुर बानियाँको संयोजकत्वमा बसाहा तथा हनुमान पूजा व्यवस्थापन, कुमारी रोकाको संयोजकत्वमा गणेश मन्दिर पूजा व्यवस्थापन तथा इन्द्र बरुवालको संयोजकत्वमा स्वयंसेवक परिचालन तथा भित्री प्रवेशद्वार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
त्यसैगरी गलेश्वरधाम आमा समूहलाई भोजन तथा जलपान व्यवस्थापनको जिम्मेवारी दिइएको छ भने गोपाल पुरीको संयोजकत्वमा नरिवल स्थल व्यवस्थापन, हिराबहादुर बरुवालको संयोजकत्वमा मन्दिर अगाडिको बत्ती व्यवस्थापन, तेजेन्द्रबहादुर खत्रीको संयोजकत्वमा सरसफाइ, सुरक्षा तथा ट्राफिक व्यवस्थापन र बेलपत्र व्यवस्थापन, लोकेन्द्रबहादुर खड्काको संयोजकत्वमा मूल गेट रसिद व्यवस्थापन, राधिका आचार्यको संयोजकत्वमा लक्ष्मीनारायण मन्दिर तथा जलकुण्ड व्यवस्थापन, सम्मरबहादुर थापाको संयोजकत्वमा प्रचार–प्रसार, मनु पुन फगामीको संयोजकत्वमा भगवती मूर्ति व्यवस्थापन तथा माधवप्रसाद रेग्मीकै संयोजकत्वमा शिवालय परिसर अनुगमन उपसमिति गठन गरिएको छ । यसबाहेक दर्शनार्थीको सहजता र समग्र व्यवस्थापनका लागि अन्य आवश्यक उपसमितिहरू समेत सक्रिय बनाइएको कोषले जनाएको छ ।
साउन महिना भगवान् शिवको विशेष आराधना गरिने पवित्र समयका रूपमा हिन्दु धर्ममा अत्यन्त महत्वका साथ मनाइन्छ । धार्मिक विश्वास अनुसार साउने सोमबारमा भगवान् शिवको व्रत, जलाभिषेक, बेलपत्र अर्पण र पूजा–अर्चना गरे मनोकामना पूरा हुने, सुख–समृद्धि प्राप्त हुने तथा परिवारमा शान्ति र कल्याण आउने जनविश्वास रहेको छ । यही विश्वासका कारण गलेश्वर धाममा नेपालका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत हजारौँ भक्तजन दर्शनका लागि आउने गर्दछन् ।
समुद्री सतहदेखि करिब ९०० मिटर उचाइमा कालीगण्डकी र रघुगंगा नदीको संगमस्थलमा रहेको गलेश्वर धाम प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र ऐतिहासिक पहिचानका कारण पश्चिम नेपालकै प्रमुख शिव तीर्थस्थलका रूपमा परिचित छ । ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामा अवस्थीत गलेश्वर विशेषगरी साउने सोमबार, महाशिवरात्रि र बालाचतुर्दशीका अवसरमा यहाँ भक्तजनको उल्लेखनीय उपस्थिति रहने गर्दछ ।
अध्यक्ष रेग्मीले साउने सोमबार पर्वलाई व्यवस्थित, सुरक्षित र भक्तिमय बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले भने, ‘साउन महिना भगवान् शिवको आराधनाको सबैभन्दा पवित्र समय हो । गलेश्वर धाममा हरेक वर्षझैँ यस वर्ष पनि ठूलो संख्यामा भक्तजन आउने अपेक्षा गरेका छौँ । दर्शनार्थीहरूले सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन तथा पूजा–अर्चना गर्न सकून् भन्ने उद्देश्यले २५ वटा उपसमिति गठन गरी आवश्यक सम्पूर्ण तयारी पूरा गरेका छौँ ।’ सबै भक्तजनलाई अनुशासित रूपमा दर्शन गर्न र धार्मिक मर्यादा कायम राख्न अनुरोध गर्दै उनले केही प्राविधिक कुराहरु बाँकी रहेको भए पनि अन्य सबै प्रकारका तयारी पुरा भइसकेको छ ।





