खर्वाङ (बागलुङ)/बागलुङको निसिखोला गाउँपालिका ३, ढाँडखर्ककी ३९ वर्षीया मिना सुनारले मंगलबार बिहान बोहोरागाँउ स्वास्थ्य चौकीमा बिहान छोरी जन्माइन् ।प्रसूतिपछि सकुशल रहेकी मिनाको परिवार तत्कालै छोरी जन्मिएको खुसी मनाउन मिनाको परिवार घर जाने जिद्दी गर्दै थियो । सुत्केरी भएको २४ घन्टासम्म कुरुवा घरमा बस्नुप्रर्ने भन्दै बोहरागाउँ स्वास्थ्य चौंकीका जनस्वास्थ अधिकृत टोपबहादुर चन्दले सम्झाए र मिनाको परिवार त्यही बस्न राजी भयो ।
भर्खरै जन्मिएकी छोरीसँग मिना र उनको परिवार खुसी मनाउँदै थियो । मध्यरातसम्म हाँसिखुसी रहेकी मिनाले राति १ बजेतिर पेट दुखेको सुनाइन् । तत्काल जनस्वास्थ अधिकृत चन्द सहितको स्वास्थकर्मीको टोलीले उनको उपचार सुरु ग¥यो ।
‘हामी राति पेटको दुखाई कम गर्न त सफल भयौं, थप जोखिम नहोस् भनेर मिनालाई रातिनै सवारी खोजेर थप उपचारकालागि बुर्तिबाङ अस्पताल पठायौं,’ चन्दले भने ।बिहान ७ बजेतिर मिनालाई बुर्तिबाङ अस्पतालपु¥याइँदा उनी बेहोस थिइन् ।
अस्पताल पुग्नसाथ उपचार थालेकास्वास्थ्यकर्मीले शरीरभित्र अत्यधिक रक्तस्राव भएको अनुमानसहित मिनालाई हवाई उद्धार गरी काठमाडौं लैजानसुझाव दिए । नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं नपुग्दै अवस्था झन जटिल बनेपछि हेलिकप्टर मणिपाल शिक्षण अस्पताल पोखरामा अवतरण भयो । उपचारका क्रममा बुधबार बिहान ११ बजेतिर मीनालाई चिकित्सकले मृत घोषणा गरे ।
मीनाले जन्म दिएकी नवजात शिशु भने सकुशल छिन् । मंगलबारैढोरपाटन नगरपालिका वडा नम्बर ८ बोबाङकी कर्मला विक सुत्केरी व्यथाले च्यापेपछि बुर्तिबाङ अस्पताल पुगिन् । त्यहाँ चेकजाँच गर्दा बच्चा खेल्ने पानीको मात्रा कम भएको र तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने स्वास्थ्यकर्मीले बताए । बच्चाको अवस्था गम्भीर भए राख्नुपर्ने एनआइसियुसमेत त्यहाँ नभएपछि पोखरा वा बागलुङ जान स्वास्थ्यकर्मीले सुझाव दिए ।
कर्मला सुत्केरीकै हुनका लागि देवर रामबहादुर विकसँगसडक मार्गबाटबागलुङतर्फ लागिन् । गलकोटको मनेवा पुगेपछि उनी सवार गाडी बिग्रियो ।अर्को सवारी खोजेर अस्पताल लैजाँदै गर्दा दिउँसो ५ बजेतिर ट्याक्सीमै उनले छोरीलाई जन्मदिइन् ।
‘भाउजूलाई सुरक्षित सुत्केरी गराउन अस्पताल लैजाँदै थियौं । बाटोमै छोरीलाई जन्मदिनुभयो । हरिचौर अस्पतालमा थप स्वास्थ्य चेकजाँचपछि घर जाँदै छौ । आमाछोरीको अवस्था ठीक छ,’ रामबहादुरले भने, ‘आफ्नै गाउँघरमा भने जस्तो उपचार पाउन कठिन छ । बजार जान पनि सडकको अवस्था उस्तैगाह्रो छ ।’
बुर्तिबाङ अस्पतालकी नर्सिङ विभाग प्रमुख एवं सूचना अधिकारी पार्वती अर्याल पछिल्लो ६ दिनमा मात्रै अस्पतालबाट ३ जटिल अवस्थाका गर्भवतीलाई रिफर गर्नु परेको बताउँछिन् । मिनासहित तीन जनालाई बागलुङ अस्पताल रिफर गरिएको थियो ।
धौलागिरी प्रादेशिक अस्पतालकी नर्सिङ प्रशासक शान्ति पौडेलपछिल्लो समय महिलाहरु गर्भवतीभन्दा बढी सुत्केरी भइसकेपछि समस्या भएर आउने अस्पताल आउने गरेका बताउँछिन् ।गर्भवतीको नियमित चेकजाँच र उपचार सेवा ग्रामीण क्षेत्रमा पनि नियमित हुन थालेपछि गर्भवती बिरामी भई अस्पताल आउने क्रम भने केहीघटेको उनको भनाइ छ ।
‘निसीखोलाबाट रिफर भई आएका बिरामीको अवस्था सुधारोन्मुख छ । दुबै केसमा आमा, बच्चाको अवस्था अस्पताल आईपुग्दा भन्दा सुधार भएकाले नर्मल वार्डमा लैजाने तयारी गर्दै छौं,’ पौडेलले भनिन् । निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती भने संघ सरकारले चासो नदिँदा नागरिकले स्वास्थ्य सेवा पाउन नसकेको दाबी गर्छन् ।
निसिखोलामा बनिरहेको नगर अस्पताल बजेट अभावमा पूरा हुन सकेको छैन । २०७८ सालबाट निर्माण थालिएको अस्पतालका लागि पटक पटक संघ र प्रदेश सरकार गुहार्दा पनि सुनुवाई नभएको घर्ती बताउँछन् । अस्पतालले अहिले पनि निर्माण कम्पनीलाई १ करोडभन्दा बढी भुक्तानी गर्न बाँकी छ ।
यस पटक भने प्रदेश सरकारबाट ६० लाख विनियोजन भएकोमा पालिकाको ६० लाख थपेर निर्माण कम्पनीलाई भुक्तानी दिने तयारी भएको छ । ‘मध्यपहाडी राजमार्गले तल्लो क्षेत्र सुगम बनेपनि पालिकाका उपल्लो भेगमा धेरै समस्या छन् । जिल्लाकै कम बजेटमध्ये हाम्रो पालिका पनि हो,’ उनी भन्छन्,‘समस्या छ भन्दैमा सबै बजेट एकै ठाँउ लगानी गर्न पनि भएन । अस्पताल भवन यो वर्ष सक्ने योजना छ ।’ भवन निर्माण भए पनि संघ, प्रदेशले सञ्चालनका लागि नसघाए सेवा सञ्चालन सम्भव नहुने उनी बताउँछन् ।
६ वर्षमा ७३ जनाको हवाई उद्धार
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले ६ वर्षअघि ज्यान जोखिममा परेका सुत्केरी महिलाको हवाई उद्धार सुरु गरेको थियो । त्यसयता निरन्तर रहेको ज्यान जोखिममा रहेका गर्भवतीको निशुल्क हवाई उद्धार कार्यक्रममार्पmत् हालसम्म ७३ जनाको उद्धार भइसकेको छ ।
आर्थिक वर्ष २०८३÷०८४ मा यसका लागि १५ लाख बजेट छ । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा रमेशकुमार केसी मुख्यगरी प्रदेशका तीन जिल्लाबाट हवाई उद्धार गरिएको बताउँछन् ।‘पश्चिम बागलुङ, म्याग्दी र गोरखाको माथिल्लो क्षेत्रबाट कठिन अवस्थाका सुत्केरीहरुको उद्धार गर्ने गरिएको छ,’उनी भन्छन् ।
गएको वर्ष प्रदेश सरकारले ३ सुत्केरीको हवाई उद्धार गरेको थियो । आर्थिक वर्ष ०७७÷०७८ बाट सुरु भएको यो कार्यक्रममा अहिलेसम्म पश्चिम बागलुङबाट मात्रै ३४ जनाको उद्धार भइसकेको छ । ‘जटिल प्रकृतिका शल्यक्रिया जिल्लामै हुन थालेकाले पछिल्लो समय संख्या घटेको छ । अहिलेसम्म सबैभन्दा ठूलो संख्या पश्चिम बागलुङकै छ,’ डा केसीले भने ।
हेली उद्धारका लागि पोखराबाटै उडान भए २ लाखसम्म र काठमाडौबाट हेलिकोप्टर बोलाउनु परेका तीनदेखि चार लाख खर्च हुने गरेको छ । संघीय सरकारसँगको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार हुँदा भने संघीय मन्त्रालयले नै उद्धारको शुल्क तिरिदिने गरेको छ ।




