पोखरा/प्रा डा लक्ष्मीशरण अधिकारी पृथ्वीनारायण क्याम्पसको नेपाली विषयकाृ विभाग प्रमुखमा नियुक्त भएका छन् । अधिकारीले साहित्यकार सरुभक्त श्रेष्ठको उपन्यासको प्रवृत्तिगत विश्लेषण शीर्षकमा विधावारिधि गरेका छन् । उनका समालोचनाका ६ कृतिका साथै ६ वटा अनुसन्धान गरेका छन् ।
विभागीय प्रमुख अधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेलगत्तै उनले विभागबाट हुँदै आएका कामलाई निरन्तरता दिने र थप सिर्जनशील कार्य गर्दै जाने प्रतिबद्धता गरेका छन् । नेपाली लेखक संघ कास्कीका संस्थापक अध्यक्षसमेत रहेका अधिकारी सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानसहित विभिन्न शैक्षिक संघ, संस्थामा आवद्ध छन् ।
आफू जोडिएका पोखराका शैक्षिक संस्थाहरुसँग सहकार्य र अन्तरक्रिया गर्नुका साथै विभागभन्दा बाहिरका साहित्यकार÷समालोचकबाट कार्यपत्र लेखाएर छलफल, अन्तरक्रिया, संवाद गर्ने योजना उनले सुनाए । ‘सबै शुभेच्छुकको सहयोग र विश्वासका साथ नेपाली विषयको अनुसन्धान, सिर्जनशीलता र विभागको समग्र विकासका लागि समर्पित रहनेछु,’ उनले भने, ‘हिजो भए÷गरेका कार्यहरुलाई निरन्तरता दिँदै सिर्जनात्मक र नवीनतम कार्य गर्न लागिपर्ने छु ।’




