
बागलुङ/जिल्ला अदालत बागलुङमा सम्बन्ध विच्छेदका मुद्दा धेरै देखिएको छ । अदालतले आर्थिक वर्ष २०८२÷०८३ मा गरेको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांकले कुल मुद्दाको आधाभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका भएको देखिएको छ ।
अदालतका स्रेस्तेदार टीकाराम आचार्यले सम्बन्ध बिच्छेदका ४ सय ७३ मुद्दा परेको बताए । अघिल्लो वर्ष सरेर आएकासमेत गरी ५ सय ११ मुद्दा पुग्दा मुद्दाको ५७ दशमलव २२ प्रतिशत सम्बन्धविच्छेदका छन् ।
गत वर्ष ३ सय ८५ मुद्दा फछ्र्यौट भएका छन् भने ८८ मुद्दा चालु वर्षका लागि सरेर आएका हुन् । सम्बन्धविच्छेद गर्नुमा कतिपय बाध्यताका छन् भने कतिपय पारिवारिक मिलन नभएकाहरु छन् । त्यसको छुट्टै अध्ययन नभए पनि भारतीय पेन्सन तथा बेलायतको पेन्सन खानेका लागि समेत छोराछोरीले सम्बन्धविच्छेद गरेको देखिएको जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीले जानकारी दिइन् ।

‘सबै अध्ययन त भएको छैन, तर यो संख्या धेरै हुनुमा कतिपय भारतमा पेन्सन खान पाउने कारण पनि छ’, उनले भनिन्, ‘तर जिल्ला अदालतको लगतमा भने संख्या बढिरहेको देखिन्छ ।’ अदालतमा विवाहसम्बन्धी मुद्दा पनि ४८ वटा परेका थिए । तीमध्ये ४१ फछ्र्यौट भएका छन् भने ७ वटा विधाराधीन छन् ।
अदालतमा अंशबण्डाका लागि ३९, लेनदेनका ३४ र अन्य ४३ गरी देवानीतर्फ ६ सय ३७ मुद्दा रहेकोमा ५ सय ३ वटा फैसला भई १ सय ३४ सरेका छन् । सरकारवादी फौजदारीतर्फ भने १ सय ९२ मुद्दा परेकोमा १ सय ३९ फैसला भएका छन् । ५३ मुद्दा बाँकी छन् । तीमध्ये बहुविवाहका ११, बालविवाहका ४, कर्तव्य ज्यानका ८ र ज्यान मार्ने उद्योगका १४ मुद्दा परेका थिए ।
जबरजस्ती करणीसम्बन्धी ३६ वटा परेकोमा २३ फछ्र्यौट भई १३ चालु वर्षलाई सरेर आएका छन् । चोरीका ९, लागुऔषधका १२, सवारी ज्यानका १५ र बैंकिङ कसुरका ३१ मुद्दा छन् । दुनियावादी फौजदारी मुद्दातर्फ ५९ मुद्दा परेकोमा ४९ वटा फछ्र्यौट भई १० वटामात्र बाँकी छन् ।
चालु वर्ष ८ सय ९३ लगत रहेकोमा ६ सय ९६ मुद्दा फछ्र्यौट भइ १ सय ९७ बाँकी छन् । समाजमा घरेलु हिंसा, जबरजस्ती करणी र अन्य अपराधका घटना बढिरहेको यो तथ्यांकले देखाउँछ । त्यसबाहेक बालविवाहसमेत भइरहेको देखिएको हो ।
‘इजलासले त हेर्छ नै, समाजले पनि यस्ता कार्यमा कडा सजाए हुन्छ भन्ने बुझ्यो भने घटना कम हुन्छन्’, अधिकारीले भनिन्, ‘त्यसका लागि सबै नागरिक समाजले साथ दिने र अभियानमा पनि लाग्नुपर्छ ।’ अदालतले गत वर्ष ९ सय १४ मुद्दाको लगत अनुमान गरेको र ६ सय ६ थान फछ्र्यौटको लक्ष्य राखिएकोमा लक्ष्यभन्दा २१ थान थोरै मुद्दा परेका थिए ।
लक्ष्यभन्दा ९० थान मुद्दा बढी फछ्र्यौट भएका छन् । तहशिल शाखाबाट २ सय १६ थान फैसला कार्यान्वयन गर्ने लक्ष्य राखेकोमा १ सय ३२ कार्यान्वयन भई ५० दशमलव १६ प्रतिशत प्रगति भएको तहशिलदार सदीक्षा नेपालले जानकारी दिइन् ।





