म्याग्दी/ सदरमुकाम बेनीस्थित प्रदेश अस्पताल बेनीमा मिर्गौलाका बिरामीहरु ४० जनाले डाइलाइसिस सेवा लिइ रहेका छन् । २०७६ देखि ६ वटा मेसिनबाट सेवा प्रवाह गरिरहेको अस्पतालले गण्डकी प्रदेश सरकारबाट प्राप्त थप ३ मेसीनको मद्दतमा अहिले ४० जनालाई सेवा दिन थालेको हो ।
जिल्ला भित्रका स्थानीय तहसँग भएको तथ्याङ्क अनुसार जिल्लामा मिर्गौला सम्बन्धी समस्याबाट १६९ जना पीडित छन् । हालको अवस्थामा १०८ जना मिर्गौला फेल, ५६ जनाले डाइलाइसिस गरिरहेका छन् ५ जना मिर्गौला प्रत्यारोपण गरेका छन् । प्रदेश अस्पतालमा डाइलाइसिस गराइ रहेका म्याग्दीका मात्रै नभएर अन्य जिल्लाको पनि भएको हुँदा म्याग्दीका अझै पनि कयौं नागरिकले जिल्ला बाहिरको अस्पतालबाटै सेवा लिइरहेका छन् । जटिल रोगका बिरामीले पाउने सुविधा प्राप्त गर्ने जिल्लाका छ वटै स्थानीय तहका बिरामीहरुको तथ्याङ्क हेर्दा २९० जना बिरामीहरु मध्ये १६९ जना मिर्गौला सम्बन्धी समस्याका बिरामीहरु रहेका छन् ।
बेनी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.हेमन्त बाँस्तोलाका अनुसार ३ मेसीन थप भएपछि बिरामीलाई प्रतिक्षा सुचीलाई शुन्य पार्ने गरी अभियान जारी छ । तीन मेसिन थपिए पछि हाल ३८ जनाले सेवा लिइ रहेको भए पनि अब थप केही बिरामीलाई पनि सेवा दिने तयारी गरिएको बाँस्तोलाको भनाई छ ।
बेनी अस्पतालमा हेमोडायलाइसिस सेवा २०७६ फागुनमा गण्डकी प्रदेश सरकारबाट बिनियोजित बजेटबाट ७ वटा डाइलाइसिस मेसीन जडान गरी ६ वटा सञ्चालन गरी एउटा रिजर्बमा राखिएको तत्कालिन अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । शुरुमा सेवा सुरु गर्दा हप्तामा २ पटक डाइलाइसिस गर्नु पर्ने बिरामीहरु मात्रै रहेको र दिनमा दुई सिफ्ट गरेर १२ जना बिरामीले सेवा लिने गरी शुरु भएको कटुवालको भनाई छ । तत्कालिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सामाजिक विसका मन्त्री नरदेवी पुनले सेवाको शुभारम्भ गराएका थिए ।
सेवा शुरु भएपछि जनशक्ति तथा पूर्वाधारहरु थप गर्दै क्रमशः विस्तार गर्दै आएको सेवा हाल बिहान ७ बजे देखि राती १० वजे सम्म गरी तीन सिफ्टमा ९ वटा मेसीनबाट सेवा प्रवाह गरीदै आएको छ । हाल दैनिक २७ जना बिरामीहरुले डाइलाइसिस सेवा लिने गरेको अस्पतालले जनाएको छ । हप्तामा एक जना बिरामीले दुई देखि तीन पटक सम्म डाइलाइसिस सेवा लिनु पर्ने भएकाले पनि बिरामी संख्या भन्दा पनि आवश्यकताको आधार तय भएको हो ।
मिर्गौलाको दीर्घरोगबाट पीडित बिरामीका लागि प्रदेश अस्पताल बेनीबाट डायलाइसिस सेवा म्याग्दीसहित पर्वत, मुस्ताङ, बागलुङकोलागि पनि जीवनरक्षक सेवाका रूपमा स्थापित हुँदै गएको छ । जिल्लामै सहज र निःशुल्क उपचारको पहुँच बढेसँगै बिरामीको आर्थिक भार कम हुनुका साथै लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यतासमेत घटेको बेनी अस्पतालका डा.रामु सापकोटाको भनाई छ ।
यसैबीच हाले प्रदेश सरकारबाट थप सहयोग आएको तीन वटा मेसिनबाट बिस्तारीत सेवाको स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले शुभारम्भ गरेका छन् । बिहीबार बेनीमा भएको एक कार्यक्रमका बीच उनले सेवा विस्तारको शुभारम्भ गरेका हुन् । शुभारम्भ गर्दै मन्त्री पाण्डेले चाँडै नै प्रदेश सरकारले स्वास्थ्य मन्त्रालय अन्तर्गतबाट डायलाइसिस सेवा सुरु गर्ने अभियानमा रहेको बताए । उनले धेरै ठाउँमा बिरामीले पालो पर्खेर बस्ने अवस्था छ, कतिपयले नपाएर अरू जिल्लामा जानुपर्ने अवस्था छ, त्यसको अन्त्य गरेर छिटोभन्दा छिटो यहाँको आफ्नो गण्डकी प्रदेशका जनतालाई स्वास्थ्यको प्रत्याभुति गराउने बताए । आधारभूत स्वास्थ्य २०७२ को संविधानअनुसार हामीले प्रत्येकलाई दिनुपर्छ, यो अभियानमा सरकार लाग्छ र त्यसमा सबैको साथ आवश्यक छ ।
उनले गण्डकी प्रदेश भित्रका कतिपय अस्पतालमा जेनेरेटर नहुँदा समस्या भएको यो समस्या समाधानमा सरकार लाग्ने बताए । मन्त्री पाण्डेले भने, ‘सरकारको आयु कम छ के गर्छन् भन्ने पनि सुन्छि मन्त्री फेरीए पनि प्रदेश सरकार त रहन्छ नै त्यसैले जो मन्त्री आए पनि जनताको पक्षको काम गर्छन् त्यसका लागि सबै ढुक्क हुनुस् ।’





