कास्की/अन्नपूर्ण गाउँपालिका–८, वीरेठाँटीस्थित वीरठाँटी माध्यमिक विद्यालयमा सञ्चालित तेस्रो चरणको तेक्वान्दो प्रशिक्षण सकिएको छ । उम होङ गिल ह्युमन फाउन्डेसन नेपाल र नेपाल तेक्वान्दो संघको सहयोगमा सञ्चालित डब्लुटी केयर्स युएजजी तेक्वान्दो स्कुल प्रोजेक्ट २०२५/२६ अन्तर्गतप्रशिक्षण आयोजना गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक हिमलाल न्यौपानेले सन् २०२२ अगस्ट १ देखि सुरु भएको तेक्वान्दो प्रशिक्षण कार्यक्रममा हालसम्म सयौं विद्यार्थीले विभिन्न तहका बेल्ट प्राप्त गर्न सफल भएको बताए । १७ विद्यार्थीले निरन्तर प्रशिक्षण लिएर ब्ल्याक बेल्ट प्राप्त गर्न सफल भएको उनको भनाइ छ ।
कार्यक्रममा उम होङ गिल ह्युमन फाउन्डेसनका कन्ट्री डाइरेक्टर पार्क हि डोङले जनशक्ति उत्पादन गर्न सफल भएकोमा नेपाल तेक्वान्दो संघलाई धन्यवाद दिँदै आगामी दिनमा पालिकामा उत्पादित जनशक्तिबाट तेक्वान्दो कार्यक्रम अझ विस्तार गर्ने योजना सुनाए । उनले कार्यक्रममा उपस्थित करिब ३ सय विद्यार्थीलाई टी–सर्ट उपहार दिए ।
आगामी एक वर्षभित्र उत्पादित जनशक्तिबाट तेक्वान्दो प्रशिक्षण गराई ब्ल्याक बेल्ट प्राप्त गर्ने उत्कृष्ट एक विद्यार्थीलाई मासिक पाँच हजार प्रोत्साहन छात्रवृत्ति प्रदान गर्ने घोषणासमेत उनले गरे । गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले विद्यालयमा कम्प्युटर इन्जिनियरिङजस्ता प्राविधिक विषय सञ्चालन गरी स्थानीयस्तरमै प्राविधिक जनशक्ति उत्पादन भइरहेको उल्लेख गरे ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले स्थानीय तहमा ब्ल्याक बेल्ट तहको जनशक्ति उत्पादन गर्न सहयोग गर्ने सबैलाई बधाई दिए । अन्नपूर्ण ८ की वडाध्यक्ष गोमाया नेपालीले विद्यालयलाई आवश्यक सहयोग गाउँपालिकाबाट मिल्ने वाचा गरिन् । विद्यालय बस सञ्चालनका लागि आवश्यक रकम जुटाउन आफ्नै नेतृत्वमा समिति बनेको र छिट्टै स्कुल बस ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद जैसीले विद्यालयको सर्वांगीण विकासका लागि समुदाय तथा संघ, संस्थाबाट स्वतःस्फूर्त सहयोग प्राप्त भइरहेको उल्लेख गरे । कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक गणेशप्रसाद रिसालले गरेका थिए ।





