पोखरा/विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वल्र्ड गल्फ क्लासिक’को पाँचौं संस्करण यही भदौ १५ गते हुने भएको छ । प्रतियोगिता १८ होलमा स्टेबलफोर्ड ढाँचामा खेलाइनेछ ।
विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन, लङ्गेस्ट ड्राइभ र सिनियर विजेता जस्ता विभिन्न विधामा ट्रफी प्रदान गरिनेछ । यस पटक पनि ‘होल इन वान’ गर्ने खेलाडीलाई पुरस्कार मुस्ताङको रैथाने घोडा प्रदान गरिनेछ । जसलाई गल्फ खेलकै एक अनौठो र मौलिक पुरस्कारका रूपमा हेरिएको छ ।
मुस्ताङ गल्फबाट दिइने ट्रफीहरू पूर्ण रूपमा नेपालकै पाटनमा उत्पादन गरिएका हुन् । यस प्रतियोगितालाई लोमान्थाङ गाउँपालिका, प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, माछापुच्छ«े बैंक, सोनम गियर, सोल्टी पानी, गोर्खा हिल्स लगायतका विभिन्न संघ, संस्थाले सहयोग गरेका छन् । सहभागी खेलाडीहरू आफ्नै खर्चमा मुस्ताङ पुगेर गल्फमा सहभागी हुनेछन् ।
बुधबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिइयो । विगतभन्दा फरक अवधारणाका साथ आयोजना गर्न लागिएको यस वर्षको प्रतियोगितालाई ‘टि फर क्लाइमेट’ को विशेष टाइटल दिइएको छ । विश्वकै अग्लो स्थानबाट हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन र सचेतना फैलाउन यो नारा तय गरिएको संयोजक तथा गण्डकी प्रदेशका पूर्व सांसद ईन्द्रधारा विष्टले जानकारी दिए ।
यस पटकको गल्फमा प्रोतर्फ नेपालकै उत्कृष्ट ५ खेलाडी प्रतिष्पर्धामा उत्रिने छन् । यस प्रतिष्पर्धामा प्रथम हुनेलाई ‘नेपाल मास्टर’ घोषणा गर्दै नगद ७५ हजार रुपैयाँसहित ‘मास्टर कोट’ प्रदान गरिने भएको छ । दोस्रो हुनेले ५० हजार रुपैयाँ तथा तेस्रो, चौथो र पाँचौँ स्थान हाँसिल गर्ने जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको एमेच्योरतर्फ १० जना महिला र ४० जना पुरुष गरी ५० जना खेलाडीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको मुख्य उद्देश्य मुस्ताङ गल्फ कोर्सलाई आधिकारिक रूपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गराउने रहेको विष्टले सुनाए । यसका लागि आवश्यक प्रारम्भिक आधार तथा प्रमाणहरू तयार पारिसकिएको उनले जनाए ।
‘गिनिज बुक अफ वल्र्ड रेकर्डको टोलीसँग इमेलमार्फत नियमित संवाद भइरहेको भए पनि समय र कार्यतालिका नमिल्दा यस पटक टोली नेपाल आउन सकेको छैन । यद्यपि, व्यावसायिक गल्फरहरूको प्रतिष्पर्धाले गिनिज रेकर्डको दाबी प्रक्रियालाई थप बलियो बनाउने विश्वास लिएका छौं’, उनले भने ।





