शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

रेखदेख तथा पुजारीमा एकै परिवारका तेश्रो पुस्ता

रेखदेख तथा पुजारीमा एकै परिवारका तेश्रो पुस्ता

मन्दिर स्थापना गर्ने परिवार तीन पुस्तामा पुगेको छ भने पुजारीको जिम्मेवारी पनि तीन पुस्तादेखि एउटै परिवारले सम्हाल्दै आएको तथ्य आफैंमा दरवाङ भगवती मन्दिरको दुर्लभ विशेषता हो ।


  • अमृत बास्कुने
  • भाद्र ४ २०८३, बिहिबार

म्याग्दी/ जिल्लाको मालिका गाउँपालिका–६ दरवाङ बजारस्थित भगवती मन्दिर धार्मिक मात्र नभएर मानव विकास र शैक्षिक विकासको पनि केन्द्रका रुपमा रहेको छ । मन्दिरले पश्चिम म्याग्दीको सामाजिक विकास, शिक्षाको सुरुआत, बसाइँसराइको इतिहास, समुदायको एकता र पुस्तौंदेखि जोगिँदै आएको सांस्कृतिक परम्पराको लामो कथा बोकेको स्थानीय ८३ वर्षिय भिमेन्द्र गौचनको भनाई छ ।

चैत्राष्टमी तथा नवदुर्गाको समयमा भव्य पुजा हुने उक्त मन्दिर जिल्ला विकास समिति म्याग्दीका पूर्व सभापति ओमप्रकाश शेरचनका पिता शेरबहादुर शेरचनले आफ्ना सन्तान प्राप्तिको कामना गर्दै वि.सं. २००० सालमा निर्माण गरेका थिए । ओमप्रकाश शेरचनका बाबाले निर्माण गरेको मन्दिरको रेखदेख अहिले ओमप्रकाशका छोरा दोरन शेरचनले गर्दै आएका छन् । ए डिभिजन फुटबल क्लब जाउलाखेलबाट लामो समय फुटबल खेलेका दोरनले आफ्ना बाजेले निर्माण गरेको मन्दिर रेखदेख गर्दै आएका हुन् ।

मन्दिरका पुजारी पनि अहिले तेश्रो पुस्ताकै छन् । मन्दिर बनेपछि मराङबाट टिकाराम उपाध्यायलाई पुजारी ल्याएर पूजाको जिम्मेवारी दिइएको थियो । त्यसपछि उनका छोरा जयश्वर सुवेदीले पुजारीको जिम्मेवारी सम्हालेका थिए भने अहिले जयश्वरका छोरा जीवनाथ सुवेदीले नियमित पूजाआजा गर्दै आएका छन् । जयश्वरले दरवाङकै शिवालय मन्दिरको पुजारीको रुपमा काम गर्न थालेपछि जीवनाथ भगवती मन्दिरमा पुजारी भएका हुन् ।

स्थानीय अगुवा भिमेन्द्र गौचनका अनुसार वि.सं. १९७९ सालमा निस्कोट तर्फबाट आएको विनाशकारी पहिरोमा परेर दरवाङमा करिब तीन सय हाराहारी मानिसको ज्यान गएको थियो । त्यसपछि भिमेन्द्रका बाबु तेजबहादुर गौचन वि.सं. १९९१ मा दरवाङमा आएका थिए भने शेरबहादुर शेरचन र जगतबहादुर तुलाचन वि.सं. १९९२ सालमा दरवाङमा बसाइँ सरेर आएका थिए । नयाँ बस्ती बसाल्ने क्रममा उनीहरूले भगवती मन्दिर निर्माणलाई प्राथमिकता दिएका थिए ।

शेरबहादुर शेरचनले मनोकामना पूरा होस् भन्ने विश्वासका साथ मन्दिर निर्माण गरेको र छोरा ओमप्रकाशको २००७ सालमा जन्म भएपछि आफ्नो मनोकांक्षा पुरा भएको महशुष गरेर मन्दिरलाई गाउँ समाजकै नाममा हस्तान्तरण गरेका थिए । यही कारण यो मन्दिर सुरुदेखि नै समुदायको साझा धार्मिक धरोहरका रूपमा विकास हुँदै आएको मालिका–६ का पूर्व वडाध्यक्ष सन्तोष सुवेदीको भनाई छ ।

मन्दिर स्थापना गर्ने परिवार तीन पुस्तामा पुगेको छ भने पुजारीको जिम्मेवारी पनि तीन पुस्तादेखि एउटै परिवारले सम्हाल्दै आएको तथ्य आफैंमा दरवाङ भगवती मन्दिरको दुर्लभ विशेषता हो । पुस्ता फेरिए पनि पूजा, परम्परा र आस्था भने कहिल्यै नफेरिएको मन्दिरका पुजारी जीवनाथ सुवेदीको भनाई छ । म्याग्दी नदिको कटानले मन्दिरमा क्षती भएपछि भिमेन्द्र गौचनको अध्यक्षतामा नयाँ मन्दिर निर्माणको काम भएको थियो । उनी अध्यक्ष बनेर वि.सं. २०५२ सालमा हालको मन्दिर निर्माण सम्पन्न गरेका थिए ।

८३ वर्षीय गौचनका अनुसार भगवती मन्दिरको इतिहाससँग जोडिएको अर्को महत्वपूर्ण अध्याय पश्चिम म्याग्दीको शिक्षाको इतिहास हो । मन्दिरकै जग्गामा शेरचन परिवारकै अग्रसरतामा वि.सं. २००८ साल मंसिरमा जनप्रिय विद्यालय स्थापना गरिएको थियो । अहिले पनि जनप्रिय मावि पश्चिम म्याग्दीको मुख्य शैक्षिक केन्द्रका रुपमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्ववडाध्यक्ष सुवेदीको भनाई छ ।

भिमेन्द्र गौचन स्वयं जनप्रिय माध्यमिक विद्यालयका विद्यार्थी तथा आफैले पढेको विद्यालयलाई व्यवस्थीत बनाउनका लागि वि.सं. २०३३ सालदेखि लगातार १६ वर्ष तथा पछि पुनः तीन वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालयको नेतृत्व गरे ।

भगवती मन्दिर धर्म, ईतिहास, शिक्षा, समाज र संस्कृतिको दुर्लभ धरोहर रहेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा बताउँछन् । मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले दरवाङ भगवती मन्दिर आफैमा ऐतिहासीक भएको हुँदा यहाँ पुग्नै पर्ने बताउँछन् । यो मन्दिर केवल मालिका गाउँपालिकाको मात्र होइन, समग्र म्याग्दी जिल्लाकै धार्मिक, ऐतिहासिक र पर्यटकीय गौरवका रूपमा लिइनु पर्ने एवम् धार्मिक तथा शैक्षिक इतिहासको साँक्षी रुपमा समेत यो मन्दिरलाई संरक्षण गर्नु पर्ने अध्यक्ष रोकाको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->