बागलुङ/प्रिसियस एकेडेमी बागलुङको आयोजनामा कक्षा ८ सम्ममा अध्ययन गर्ने छात्रछात्रा कब्ड्डी प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि शुरु भई आइतबारसम्म चल्ने दोश्रो संस्करणको प्रतियोगितामा २७ टोलीले सहभागि जनाउने छन् ।
आयोजकका अनसार, सामुदायिक र संस्थागत गरी १६ विद्यालयका छात्रतर्फ १६ र छात्रातर्फ १५ टोलीले प्रतिष्पर्धा गर्ने छन् । बालबालिकाको शारीरिक तथा मानसिक विकासका साथै शैक्षिक गुणस्तर अभिवृद्वि गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक राजन शर्माले जानकारी दिए ।
प्रतियोगिताको छात्रतर्फको विजेताले नगद १० हजार पुरस्कार र उपविजेता टोलीले नगद ७ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै छात्रातर्फ पनि विजेता हुने टोलीले १० हजार र उपविजेता ७ हजार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट डिफेन्डर र रेडरलाई पनि नगरसहित पुरस्कृत गरिने छ । सेमीफाइनलिष्ट टोलीलाई पनि मेडेल र प्रमाण पत्र प्रदान गरिने छ ।
बालबालिकाको प्रतिभा प्रस्फुटन, आत्मविश्वासको विकास, अनुशासन र स्वास्थ्य आचरणमा प्रतियोगिता सहयोग हुने आयोजकले अपेक्षा गरेको छ ।





