पोखरा\ पर्वतको महाशिला गाउँपालिकाले बाढी प्रभावितको उद्धार, राहत र पुनस्र्थापनाका कामलाई सघाउन आर्थिक सहयोग गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ जम्म गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिए ।
गाउँपालिकाको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । बुधबार रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवासहित, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा ठूलो धनजनको क्षति गरेको छ ।
गाउँपालिकाले सूचना प्रकाशन गरी भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति मर्माहत भएको जनाउँदै मृतकप्रति श्रद्धाञ्जली र पीडितहरुप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।





