आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३
  • १४ भाद्र २०८३ , आइतबार
  • August 30 2026

जनैपूर्णिमा र क्वाँटीबारे केही कुरा

जनैपूर्णिमा र क्वाँटीबारे केही कुरा

जनैपूर्णिमाले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश बोकेको छ भने क्वाँटी खाने चलेले स्वास्थ्य र परम्परालाई जोड्छ


  • डा नरनाथ पाण्डे
  • भाद्र १२ २०८३, शुक्रबार

चाडबाड भित्रिनै लाग्दा नेपालमा फरक खालका त्रासदीपूर्ण घटना भएको छ । चाडबाड हामी नेपाली विशेष तरिकाले मनाउँछौँ; जुन हाम्रो संस्कार नै हो । रमाइलो र खुसीयालीपूर्वक चाडबाड मनाउने नेपालीलाई यस वर्ष रमाइलो हुने छैन । चाडबाडको मुखैमा रसुवाबाट आएको अप्रत्याशित बाढीले रसुवा, त्रिशूली, नुवाकोट जस्ता क्षेत्र प्रभावित हुँदा धेरै जनाको ज्यान गएको र अनुुमानै नगरिएको भौतिक क्षति भएको छ । विपद्मा ज्यान गुमाउनेहरुमा भावपूर्ण श्रद्धाञ्जलि साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै जनैपूर्णिमाबारे केही तथ्य लेखमा प्रस्तुत छन् ।

जनैपूर्णिमा र विशेष
फरक विशेषताले भरिपूर्ण नेपाली समाजमा जनै पूर्णिमाका दिन जनै लगाउने, डोरो (विशेष पूजा गरिएको रङ्गिन धागो) बाँध्ने र अघिल्लो दिन दर खाने प्रचलन छ । जनैपूर्णिमा विशेष गरी हिन्दूको पर्व हो । यसलाई रक्षा बन्धन वा ऋषि तर्पणी पर्व पनि भनिन्छ । साउन शुक्ल पूर्णिमाका दिन यो पर्व पर्छ । तागाधारीहरुले यो दिन विशेष पूजा गरिएको यज्ञोपवीत वा जनै लगाउने गर्दछन् । जसले आत्मिक शुद्धता, अनुशासन र ज्ञानको प्रतीक बोकेको विश्वास गरिन्छ । कुनै समुदायमा यो दिन दिदीबहिनीले दाजुभाइलाई राखी वा रक्षासूत्र बाँधिदिने प्रचलन पनि । यो दिन ऋषिमुनिहरुप्रति कृतज्ञता व्यक्त गर्न ऋषिपूजा गर्ने गरिन्छ ।

क्वाँटी के हो ?
जनै पूर्णिमामा विशेष खाना क्वाँटी खाने प्रचलन छ । यो प्रचलन कहिलेदेखि सुरु भएको हो यकिनका साथ भन्न सकिंदैन । तथापि, यो नेवार समुदायबाट सुरु भएको र हाल नेपालका अधिकांश स्थानमा सबै जनजातिले क्वाँटी र क्वाँटीको झोल खाने प्रचलन छ । नेवारी भाषामा क्वाँ भनेको तातो र टी भनेको सुप हो । त्यस कारण क्वाँटी भनेको विभिन्न गेडागुडीको मिश्रणबाट पकाएर बनाएको स्वादिलो र तात्तातो सुप हो भन्ने बुझिन्छ ।

क्वाँटी विभिन्न गेडागुडीको मिश्रण हो । यसमा खासगरी नौ किसिमका गेडागुडीको समिश्रण हुन्छ । खेतबारीमा काम गर्ने समयमा, मौसम परिवर्तन हुने समयमा र जाडो याम सुरुवात हुने समय आउनै लाग्दा जनैपूर्णिमा पर्व पर्छ । त्यति बेला विभिन्न गेडागुडीको रस खाने प्रचलन छ । धार्मिक तथा सांस्कृतिक प्रचलनका रुपमा कुनै समुदायबाट आएको प्रचलन अहिले चर्चाको विषय बनेको छ । यो खानेकुरा अब कुनै विशेष जातिविशेषको नभई साझा बनेको छ । किनकि यसका पछाडि विभिन्न सत्य र वैज्ञानिक कारण लुकेका छन् ।

यसले शरीरलाई फाइदा पु¥याउँछ । कमजोर शारीरिक क्षमता भएको अवस्थामा, रुघाखोकी जस्ता रोगहरू लाग्नबाट बचाउन वा शरीरको रोगविरुद्ध लड्ने क्षमता बढाउन जानेर वा नजानेरै क्वाँटी जस्ता विभिन्न पौष्टिक तत्व खाने प्रचलन चलिआएको हो । यो सांस्कृतिक पर्व मान्नका लागि मात्र नभई क्वाँटीलाई असाध्यै वैज्ञानिक पौष्टिक खाना मानिने हुँदा यसको प्रचारप्रसार जरुरी छ । क्वाँटीमा पाइने विभिन्न पौष्टिक पदार्थले ऊर्जा प्राप्त हुने, शरीरमा रोग व्याधि र परिश्रमका कारण कोषमा आएका समस्या समाधान हुने, शारीरिक वृद्धि विकासमा वा शरीरको मर्मत सम्भारमा सहयोग पुग्ने, व्यक्तिको रोग प्रतिरोध क्षमता बढ्ने र रोग लाग्नबाट बचाउन सक्छ । क्वाँटीको सेवन सुरुमा सांस्कृतिक मूल्य, मान्यताबाट प्रभावित भएर विशेष समुदायबाट सुरु गरिएता पनि यसबाट विभिन्न फाइदा पाउन सकिने हुँदा अहिले सबैको खाना बनेको छ ।

लेखक

त्यसो त क्वाँटी जनैपूर्णिमाको दिन वा अघिल्लो दिनमात्र खाएर पुग्दैन । यस्ता गेडागुडीको मिश्रणयुक्त खाद्यपदार्थ सकभर दैनिक खानामा हुनु राम्रो हुन्छ । हामीले खाने प्रत्येक छाकको खानामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज र पानी आवश्यक छ । क्वाँटीमा मुख्यगरी प्रोटिन पाइने भएकाले शरीरका लागि पौष्टिक तत्व प्रोटिनको आपूर्ति हुन सहयोग पुग्छ । हामीलाई प्रोटिनमात्र खाएर हुँदैन । सन्तुलित खानाको रुपमा कार्बोहाइड्रेट र चिल्लो पदार्थ तथा भिटामिन पाइने खानाको स्रोतसमेत मिलाएर खानुपर्छ ।

सकभर कार्बोहाइड्रेट कम, प्रोटिन केही बढी मात्रामा र अन्य खाद्यपदार्थ ठिक्क मिलाएर खानु राम्रो हुन्छ । तर, खाद्यपदार्थको उत्पादन, आर्थिक अवस्था, पोषणसम्बन्धी चेतना, घरपरिवारको आकार आदिले सन्तुलित खाना प्राप्त गर्न कठिनाइ पर्ने गरेको यथार्थ नेपाली समाजमा देखापर्दछ । खाना खाँदा भात वा रोटी, आलुको तरकारी र आलुका अन्य परिकार बनाएर खाने चलन छ । जसले गर्दा सन्तुलित खाना प्राप्त गर्न सकिँदैन । यस्तो खानाबाट केवल कार्बोहाइड्रेटमात्र प्राप्त हुने र अति आवश्यक तत्व प्रोटिन, भिटामिन र खनिज तत्वको सधैं अभाव हुने भयो । जसको परिणाम स्वरुप हामीलाई विभिन्न पौष्टिक तत्वको कमीबाट लाग्ने रोगहरु देखा पर्न थाल्छन् ।

शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य राम्रो हुन सक्दैन । कुपोषण जस्ता समस्या देखिन सक्छन् । यस्ता समस्या बाल्यकाल, किशोरावस्था र वृद्धावस्थामा देखिएमा रोग विरुद्ध लड्ने प्रतिरोध क्षमताको अभावले गर्दा विभिन्न समस्या थपिई व्यक्ति मृत्युको मुखमा पुग्न पनि सक्छ । क्वाँटी एक अर्थमा निकै पौष्टिक तत्वले भरिपूर्ण खाद्यपदार्थ भएकाले पनि यसको महत्व बढी देखिएको हो । क्वाँटी बनाउने क्रममा बढी फाइदा पाउन विभिन्न गेडागुडीलाई ३ देखि ४ दिनसम्म पानीमा भिजाएर राख्ने जबसम्म यसमा टुसा पलाउँदैन । त्यसपछि यसलाई राम्रोसँग प्रेसर कुकरमा पकाउनुपर्छ र बेसार, खुर्सानीको धुलो, नून, तोरीका दाना, आलसका दाना, टमाटर, प्याज, लसुन र अदुवाको पेस्ट तथा विभिन्न मरमसलाको प्रयोग गरी पुनः पानी थपेर पकाएर स्वादिष्ट बनाई बाक्लो सुपको रुपमा खान सकिन्छ ।

क्वाँटी नौ किसिमका गेडागुडी एकै ठाउँमा मिलाई पकाएर खाने गरिन्छ । त्यसो त जुनसुकै दलहन तथा गेडागुडी दुई वा सो भन्दा बढी भएमा र टुसा उमारेर खाएमा त्यसको पौष्टिक गुणमा थप गुणस्तर आउने र विभिन्न तत्व प्राप्त गर्न सकिने हुन्छ । हाम्रो प्रचलनमा क्वाँटी बनाउन तोकिएका गेडागुडी छन् ।

१. राजमाः यो हेर्दा मिर्गाैलाको आकार जस्तै देखिन्छ र मिर्गाैलाको स्वास्थ्यमा प्रभावकारी छ । यो गेडागुडीमध्ये निकै लोकप्रिय छ । सँगसँगै, विभिन्न पौष्टिक तत्वहरूले पनि भरिएको छ । यसले मुटुका रक्तनलीमा जम्ने बोसोको तहलाई कम गराउँछ वा खराब कोलेस्टेरोल नियन्त्रण गर्छ । साथै मस्तिष्कको कार्यक्षमता बढाउने, मृगौलालाई सुरक्षा गर्ने र मुटुको समग्र स्वास्थ्य राम्रो राख्ने भएकाले सुगर रोगीलाई पनि राजमाको सेवनले फाइदा गर्छ । यसमा पाइने प्रोटिनका कारण यो बढी स्वास्थ्यबर्धक पनि हुन्छ । यसमा प्रशस्त फाईबर पाइने हुँदा यसको नियमित सेवन गर्दा पेटका समस्या र अपच हुने समस्या पनि निराकरण हुन्छ ।
२. बोडीः यस्ता गेडागुडीलाई प्रोटिनको पावरहाउस पनि भनिन्छ । बोडीको सेवनले मुटुका रोग नियन्त्रण, सुगर तथा रक्तचाप नियन्त्रण, रक्तअल्पताको उपचार, आँखाको स्वास्थ्य सुरक्षा, तौल कम गराउन सहयोग र प्याङ्क्रियाजमा हुनसक्ने क्यान्सरको समेत रोकथाम गर्दछ । यसमा उच्च मात्रामा प्रोटिन लगायत अन्य विभिन्न पौष्टिक तत्व पाइन्छन् ।
३. चनाः अरु गेडागुडी जस्तै चना पनि प्रोटिन लगायत विभिन्न पौष्टिक तत्वको भण्डार हो । यसको नियमित सेवनले तौल कम हुने, रक्तचाप सन्तुलनमा आउने, हर्मोनहरूको उत्पादन सन्तुलित हुने र मधुमेहका रोगीलाई समेत लाभदायक हुन्छ ।
४. भटमासः भटमास पनि प्रोटिन, फाइबर तथा विभिन्न पौष्टिक तत्वको भण्डार र सुपर फुड नै हो । यसको सेवनले पनि कोलेस्टेरोल नियन्त्रित हुने गर्छ । यसमा हानिकारक चिल्लो कम हुने, एन्टिअक्सिडेन्ट् तथा ओमेगा ३ फ्याटी एसिड प्रशस्त पाईन्छ ।
५. मुङः यो पोटासियम, म्याग्नेसियम र फाइबर प्रशस्त पाइने गेडागुडी हो । यसको नियमित सेवनले मुटुका रोगहरू, रक्तचाप र कोलेस्टेरोल नियन्त्रण गर्दछ ।
६. मासः यसमा पनि अन्य गेडागुडीमा जस्तै प्रशस्तै विभिन्न पौष्टिक तत्व पाइन्छन् । यसको सेवन गर्नाले पाचन प्रणाली, हाडजोर्नी, प्रजनन् प्रणाली, मुटु र मृगौलाको कार्यक्षमता बढाउँछ । कलेजोलाई सक्षम बनाउन, उच्च रक्तचाप कम गर्न, रगतमा सुगरको मात्रा घटाउन र स्नायु प्रणालीको क्षमता बढाउन समेत यसको सेवन गर्न सकिन्छ । यो पेट दुखाई, पाइल्स्, कब्जियत जस्ता रोगको उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।
७. बकुल्लाः यो हाडजोर्नीको स्वास्थ्य र प्रतिरोध क्षमता अभिवृद्धि गर्ने फाइदाजनक गेडागुडी हो । यसको सेवनले स्नायुको कार्यक्षमता बढाई पार्किन्सन्स् रोगमा फाइदा पु¥याउँछ भने रक्तअल्पता कम गर्ने, तौल कम गर्ने, रक्तचाप व्यवस्थित गर्ने र कोलेस्टेरोल कम गर्ने जस्ता काम पनि गर्छ ।
८. केराउः केराउको सेवनले पाचनप्रणालीको कार्यलाई सुधार गर्ने, मेटाबोलिज्म बढाउने, मुटुको स्वास्थ्यलाई राम्रो बनाउने र सुगरको मात्रा समेत नियन्त्रण गर्ने काम गर्छ ।
९. सेतो सिमीः यो स्वस्थकर शारीरिक तौल बनाउन, मांसपेशी बलियो बनाउन र पाचन प्रणाली राम्रो बनाउन लाभदायक छ ।

अन्तमा,
जनैपूर्णिमा पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश बोकेको छ भने क्वाँटी खाने प्रचलनले स्वास्थ्य र परम्परालाई जोड्छ । हिन्दू धर्ममा तागाधारीले जनै लगाउने, दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिने र ऋषिपूजा गर्ने प्रचलन एकातर्फ यो पर्वले सम्झाउँछ भने अर्कातर्फ क्वाँटी खाने नेवार समुदायको परम्परालाई अन्य समुदायसम्म पु¥याउने काम गरेको छ । क्वाँटी हाम्रो सांस्कृतिक प्रचलनको रुपमा जनैपूर्णिमाको अवसरमा खाने खाद्यपदार्थ हो । नियमित रुपमा सबै नौ किसिमका गेडागुडीयुक्त सुप बनाएर खान नसकिएता पनि जति उपलब्ध छन्, त्यति नै मिश्रण गरी वा मिश्रण नै नगरी कुनै एक किसिमको भए पनि गेडागुडी हामीले प्रत्येक खानामा खानु आवश्यक छ ।
यस्तो खाना खानाले हाम्रो शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक स्वास्थ्य पनि स्वस्थ हुनेमा कुनै शंका छैन । गर्भवती महिला, स्तनपान गराउने महिला, बच्चा, किशोर किशोरी र वृद्धहरुका लागि त यो निकै वरदानयुक्त खाद्यपदार्थ हो ।
(सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक पाण्डे जीवनशैली व्यवस्थापनमा विद्यावारिधि हुन् )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->