बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

कालीगण्डकी एकेडेमीले जित्यो स्क्राबल उपाधि

कालीगण्डकी एकेडेमीले जित्यो स्क्राबल उपाधि


  • ढाेरपाटन संवाददाता
  • भाद्र २४ २०८३, बुधबार

बागलुङ/स्क्राबल क्लब पर्वत र माझीगाउँ आधारभूत विद्यालयको संयुक्त आयोजनामा पर्वतमा छैठौं जिल्लास्तरीय स्क्राबल च्याम्पियनसिप सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका १० विद्यालयका २४ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा कालीगण्डकी एकेडेमीले लगातार तेस्रो पटक च्याम्पियनको उपाधि हात पारेको छ । यसअघि चौथो र पाँचौं जिल्लास्तरीय च्याम्पियनसिपको उपाधि समेत कालीगण्डकीकै दिविशा थापाले जितेकी थिइन् । यसपटक भने छैठौं जिल्लास्तरीय च्याम्पियनसिपको उपाधि समृद्धि जोशीले जित्दै इतिहास रचेकी छन् ।

प्रतियोगितामा आदर्श आवासीय मावि कुश्माका शाहिल गिरी द्वितीय भएका छन् भने नमुना आवासीय माविका न्युसन श्रेष्ठ तृतीय भएका छन् । त्यस्तै आदर्श आवासीय माविका दिप्सन पौडेल र नमुना आवासीय माविका सक्षम रेग्मी सान्त्वना स्थान हासिल गर्न सफल भएको स्क्राबल क्लब पर्वतका संयोजक बिक्रम थापाले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताबाट छनोट भएका विजेताहरू आगामी कात्तिक महिनामा बुटवलमा आयोजना हुने १२ औँ राष्ट्रिय स्क्राबल प्रतियोगितामा सहभागी हुन सफल भएका छन् ।

सो अवसरमा विक्रम थापाको संयोजकत्वमा ७ सदस्यीय स्क्राबल क्लब पर्वतको कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिका सदस्यहरूमा सन्तोष थापा, यमनाथ पौडेल, उमा गुरुङ, लालु बसेल, वविना श्रेष्ठ र तुलसी श्रेष्ठ रहेका छन् ।

जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीको सहभागिताले स्क्राबल खेलप्रतिको आकर्षण बढ्दै गएको देखाएको छ । प्रतियोगिताले विद्यार्थीहरूको शब्दज्ञान, भाषिक क्षमता, तार्किक सोच तथा प्रतिस्पर्धात्मक क्षमताको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->