सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

१५ दिनमा मुस्ताङ भन्सारमा उठ्यो १ अर्ब ७८ करोड राजस्व

१५ दिनमा मुस्ताङ भन्सारमा उठ्यो १ अर्ब ७८ करोड राजस्व

भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८३, आइतबार
कोरला नाकामा अध्यागमन कार्यालय उद्घाटनका लागि पुगेका गृहमन्त्री रमेश लेखकलाई स्वागत गर्दै स्थानीय । पृष्ठभूमीमा चीनले बनाएकाे पूर्वाधार

मुस्ताङ / नेपाल-चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ-४, न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको  छ ।

रसुवाको भोटेकोसी नदीमा गएको बाढीका कारण (रसुवागढी-केरुङ) नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढेको छ ।

भन्सार प्रमुख बिदुर चुडालका अनुसार, रसुवागढी-केरुङ नाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गरे ।

शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन २७ करोड ११ लाख राजस्व संकलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालको भनाइ छ ।

चुडालका अनुसार, शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

रसुवागढी नाका बन्द भएको भदौ १० गतेपछि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार कार्यालयमा जाँचपास गराइएको उनले बताए ।

चालु आव २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिँदा दुई अर्ब ३१ करोड ४४ लाख राजस्व संकलन भएको भन्सार प्रमुख चुडालले बताए ।

भदौ ९ गतेसम्म १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए ।

वि.सं. २०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्रै बाह्रै महिना खुला गरिएको कोरला नाका गत वर्ष तातोपानी र रसुवागढी नाका बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि कोरला नाकालाई वैकल्पिक रूपमा निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो ।

भन्सार प्रमुख चुडालका अनुसार, गत आव २०८२/८३ मा उत्तरी कोरला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोडको राजस्व संकलन गरेको थियो ।

त्यस वर्ष पैठारीतर्फ १४ अर्ब ४१ करोड र निकासीतर्फ २० करोड ५० लाख बराबरको मालवस्तुको कारोबार भएको थियो । गत वर्ष कोरला नाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारी र एक हजार ८७३ वटा कन्टेनरको जाँचपास गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->