पोखरा/नेपालमा चर्चित आख्यान÷काव्यलाई रंगमञ्चमा उतार्ने क्रम बढ्दै गएको छ । लक्ष्मीप्रसाद देवकोटोको मुनामदन खण्डकाव्य, गुरुप्रसाद मैनालीको कर्तव्य कथा, हृदयचन्द्रसिंह प्रधानको एक चिहान नाटक रंगमञ्चमा लोकप्रिय बनेका थिए । नयनराज पाण्डेको लु उपन्यास, पारिजातको शिरिषको फूल हुँदै अहिले आख्यानकार अमर न्यौपानेको ‘सेतो धरती’ उपन्यासलाई नाट्य रुपान्तर गरी रङ्गमञ्चमा देखाइँदै छ ।
२०६८ सालको मदन पुरस्कार प्राप्त सेतो धरती काठमाडौं र विराटनगरपछि पोखराको गन्धर्व नाटकघरमा शुक्रबारबाट मञ्चन भइरहेको छ । कान्तिपुर थियटरले काठमाडौंमा एक सय एक सो प्रदर्शन गरेको यो नाटकको निर्देशन सुन्दर धितालले गरेका छन् ।
पोखराका नगर प्रमुख धनराज आचार्यले नाटकको पोखरा मञ्चन सुरुआत गरेका छन् । पोखरामा यो नाटक सोमबारसम्म मञ्चन हुनेछ । बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी दैनिक तीन शो नाटक देखाइनेछ । यो नाटक एक घन्टा ४० मिनेट लामो छ ।
नगर प्रमुख आचार्यले पोखरा कला, साहित्य र सिर्जनाको सहर भएको उल्लेख गर्दै ‘सेतो धरती’ पोखराका लागि विशेष नाटक भएको धारणा राखे । ‘सेतो धरती नेपाली समाज, संस्कृति र परम्पराको प्राचीन अवस्थालाई प्रतिनिधित्व गर्ने कथा हो । यस अर्थमा यो पोखराको आफ्नै कथा जस्तो पनि लाग्छ,’उनले भने,‘यसले पोखरामा बोलिने भाषा र शैलीलाई दुरुष्ट पोखरेली लबजमा प्रस्तुत गरी नाटकमार्फत भाषिक न्याय समेत गरेको अनुभूति मैले गरेँ ।’
साहित्य, संस्कृति र सहासिक गतिविधिको केन्द्र पोखराको प्रवर्धनमा पनि यसले सघाउने उनको अपेक्षा छ ।साहित्यिक कृतिलाई रंगमञ्चमार्फत जीवन्त बनाउने प्रयासले नयाँ पुस्तालाई नेपाली समाजको बुझ्न पनि सघाउने उनको ठम्याइ छ । आख्यानकार अमर न्यौपानेले आफ्नो उपन्यासलाई रंगमञ्चमा मौलिकता कायम राख्दै प्रस्तुत गरिएको सुनाउँदै पोखरेलीलाई नाटकलाई माया गरिदिन आग्रह गरे ।
यो नाटकमा गीता विष्ट, सुहाना आचार्य, सजना थापा, सुष्मिता श्रेष्ठ, एड्रिन धमला, बिना रोक्का, विरान दाहाल, प्रतीक चौधरी, संस्कार चौलागाँई लगायत कलाकारको अभिनय छ । नाटकले बालविवाह, बालविधवा, महिला जीवन, सामाजिक संरचना र महिलाको अस्तित्वसँग जोडिएका गम्भीर विषयलाई संवेदनशील रूपमा रङ्गमञ्चमा प्रस्तुत गरेको छ ।





