पोखरा/माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले पोखरामा दबदबा कायमै राखेको छ । प्रदर्शनको चौथो दिन सोमबार पनि पोखराका हलमा दर्शकको उत्साहजनक सहभागिता देखियो । बढ्दो माउथ पब्लिसिटीसँगै चलचित्रका सोसमेत थपिएका छन् ।
पोखरा ट्रेडमल स्थित क्युएफएक्स, मिडटाउन सिनेमाज र श्रीकृष्ण चलचित्र मन्दिरमा ‘पेन्सन पट्टा’ हेर्न दर्शकको बाक्लो उपस्थिति छ । पोखरामा मंगलबारका शोसमेत थपिएका छन् । क्युएफएक्सले दैनिक ६ सो, मिडटाउन सिनेमाजले ५ सो र श्रीकृष्ण चलचित्र मन्दिरले ३ सो सञ्चालन गरिरहेका छन् ।
सोमबार ‘पेन्सन पट्टा’का कलाकार दयाहाङ राई, पुस्कर गुरुङ, सोल गुरुङ, विश्वास गुरुङ, माया गुरुङ, मनिका गुरुङ, डिबी गुरुङ लगायतका कलाकार पोखराका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए । निर्देशक एवं लेखक माओत्से गुरुङसहितको टोलीले दर्शकसँग चलचित्रको प्रतिक्रिया लिएको थियो ।
मिडटाउन सिनेमाज र पोखरा ट्रेडमलस्थित क्युएफएक्सका दुई सोमा पुगेर नायक दयाहाङ राईले दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरे । उनले आफूले व्यक्तिगत रूपमा सोचेको भन्दा पछिल्लो समय चलचित्रले राम्रो माया पाइरहेको बताए ।
रसुवाको बाढी र ग्यासको समस्याका कारण मनोरञ्जनका लागि हल पुग्ने दर्शकको संख्या कम हुन सक्ने आफूले सोचेको भए पनि त्यसो नभएको दयाहाङले उल्लेख गरे । कलाकार पुस्कर गुरुङले ‘पेन्सन पट्टा’को माउथ पब्लिसिटी निकै सकारात्मक र बढ्दो रहेको बताए ।
नायिका सोल गुरुङले पहिलो पटक दर्शकको प्रतिक्रिया लिन हलहलमा पुग्दा उत्साह थपिएको बताइन् । नेपाली चलचित्रप्रति दर्शकको आकर्षण बढ्दो देख्दा खुसी लागेको उनको भनाइ छ ।
निर्देशक माओत्से गुरुङले पोखरा मात्र नभई बुटवल, चितवन, लमजुङ, तनहुँ, झापा र काठमाडौंका केही स्थानमा समेत चलचित्रले राम्रो दर्शक सहभागिता पाइरहेको बताए । चलचित्र हेर्ने दर्शकले सकारात्मक प्रतिक्रिया दिएको र फिल्म समीक्षकबाट समेत सौहार्दपूर्ण समीक्षा आएकाले पछिल्लो समय दर्शक हलमा पुगिरहेको उनले उल्लेख गरे ।
‘रिलिजको तेस्रो दिनसम्म काठमाडौंमा दर्शकको कमी थियो । तर चौथो दिन सोमबारबाट काठमाडौंमा समेत दर्शकको भीड बढ्दो छ,’ माओत्सेले भने । काठमाडौंका विभिन्न मल्टिप्लेक्समा चलचित्रलाई समय उपलब्ध गराइएको र ती हलमा दर्शकको उपस्थिति राम्रो रहेको उनको भनाइ छ ।
कास्कीको ताङतिङ र त्यसैको सेरोफेरोमा आधारित ‘पेन्सन पट्टा’ सामाजिक यथार्थवादी कथामा निर्माण भएको चलचित्र हो । परिवार, प्रेम, त्याग, समर्पण र लाहुरे परिवेशको कथाले दर्शकलाई आफ्नै जीवन र सामाजिक परिवेशसँग जोडेको निर्माण पक्षको भनाइ छ ।
चलचित्र हेर्न परिवार नै बोकेर हल पुग्ने दर्शकको संख्या बढ्दो छ । लाहुरे परिवेशको कथा भएकाले भूपू सैनिक तथा लाहुरेका परिवारले समेत चलचित्रलाई विशेष माया दिइरहेका छन् । गुरुङ समुदायका मात्र नभई विभिन्न समुदायका दर्शक हलमा उपस्थित भइरहेका छन् ।





