मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

तीजको शुभकाना !

तीजको शुभकाना !

बन्धनबाट मुक्तिका निम्ति नारीले तीजको उपयोग गर्नुपर्छ । तीजलाई खानपान र उत्सवको मात्र नभएर पारिवारिक पुनर्मिलन, पीडा र खुसीको आयतन आँकलन अनि स्वतन्त्रताको प्रण गर्ने पर्वको रुपमा लिनुपर्छ । तीजको शुभकामना !


  • Dhorpatan News
  • भाद्र २९ २०८३, सोमबार

आज भाद्र शुक्लपक्षको त्रयोदशी अर्थात् हरितालिका तीज । पौराणिक मान्यता अनुसार पार्वतीले भगवान शिवलाई लामो व्रतपश्चात पतिको रुपमा प्राप्त गरेको दिन भएको विश्वास गरिन्छ । ‘भाद्रे मासि सिते पक्षे तृतीया हस्त सोमयुक्।तदनुष्ठानमात्रेण सर्वपापैः प्रमुच्यते’अर्थात् तीन चीज ( भाद्रशुक्ल तृतीया, हस्ता नक्षत्र र सोमबार) को संयोग जनाउने संस्कृत शब्द ‘त्रिज’ अपभ्रंश हुँदै नेपाली जिब्रोले तीज भन्न थालेको भाषाविद्हरूको भनाइ छ । तीज नेपाली र खासगरी हिन्दू धर्मावलम्बी नारीको मौलिक पर्व हो । भारतको उत्तर खण्डतिर पनि तीज मनाइन्छ भने थारुसहित तराइका महिलाले पनि फरक शैलीबाट तीज मनाउँदै आएको पाइन्छ । हरेक पर्वमा धार्मिक र सांस्कृतिक मान्यताका अलावा सामाजिक,आर्थिक एवं मनोवैज्ञानिक पक्ष पनि जोडिएका हुन्छन् । मान्छेको आस्था र विश्वाससँग ती तŒव घुलमिल हुँदा पर्वहरु धार्मिक अनुष्ठानमा सीमित नभएर उत्सव बन्ने गर्छन् । तीज धार्मिक अनुष्ठान वा समर्पणभन्दा परको यस्तै महत्वपूर्ण उत्सव हो भन्दा अत्युक्ति हुँदैन ।किनकि,पौराणिक मान्यता अनुसार यो पर्वले नारीलाई पतिपरायणता वा समर्पणमा बाँधेर राखेको छैन;विद्रोह र स्वतन्त्रताको बाटो पनि देखाएको छ ।

मनुस्मृतिकालीन समयभन्दा यता खस–आर्य परिवारमा पुरुषको आधिपत्य बढ्न थाल्यो; नारीले नै पति रोज्ने अधिकारखोसियो ।सम्पत्तिमा पुरुषकै खटनपटन भएपछि वैदिककालीन समयजस्तो नारीको निर्णय नै सर्वोपरी हुने परम्परा खण्डित बन्यो । उनीहरुलाई ‘भोग्या’मा सीमित गरियो र ‘अवला’ तुल्याइयो । लोग्ने मरेपछि जिउँदी स्वास्नीलाई लोग्नेको लाससँगै जलाउने आततायी प्रथासुरु भयो । नेपालकै कुरा गर्ने हो भने, नारीमाथि भएको ज्यादती बुझ्न ११० वर्षअघि फर्कनु पर्छ । जंगबहादुरले यो प्रथा अन्त्यको प्रयास गरे पनि सफल भएनन्;बरु उनकै रानीहरु सती गए । १९७७ साल असार २५ गते तत्कालीन श्री ३ महाराज चन्द्र शमसेरले ऐनद्वारा नै यो कुप्रथालाई निषेध गराएको हामीले भुल्नु हुँदैन । त्यसरी सामाजिक रुपले बन्धक बनाइएका,ज्यूँदै मर्न बाध्य तुल्याइएका नारीहरुको वेदना र पीडतको सुनुवाइ कल्पनाभन्दा बाहिरको कुरा थियो ।

त्यो समयमा तीजले नारीलाई कम्तीमा माइतीमा पुगेर वेदनाका उच्छवासहरु निकाल्ने स्वतन्त्रता दियो । मनोवैज्ञानिक रुपले हेर्दा पीडा ओकल्ने क्रममा त्यसबाट मुक्ति अनि विद्रोहको हिम्मत पनि प्रदान ग¥यो । अतः तीज नारीका निम्ति धार्मिक पर्वभन्दा पनि उत्सव बन्यो । तीजले उत्सवको स्वरुप ग्रहण गर्दै गर्दा यो ‘व्यापारी’को पर्व पनि बन्न पुग्यो । रातो परिधानको यो पर्वले हिन्दूनारीसँग शौभाग्य सामग्री बेच्ने मुस्लिम महिलाहरू जोडिए । दरखाने परम्परामा अन्य व्यापारिक समूह पनि सामेल भए । जसले गर्दा तीज सवैको पर्व बन्न पुग्यो ।

दरखाने परम्पराले व्यापकता लिँदा अहिले यो होटल र रेस्टुराँ व्यवसायीको पनि पर्व बन्न पुगेको छ । विकृति र तडकभडकलाई बिर्सने हो भने तीजले व्यावसायिक स्वरुप ग्रहण गरेको छ । सतीप्रथा छैन; संविधानले नारीलाई स्वतन्त्रता प्रदान गरेको छ । आफ्नो शरीरमाथिको अधिकार प्रत्याभूत गरेको छ तर केही मान्यताले अहिले पनि नारीलाई बन्धनमै राखेकाछन् । ती बन्धनबाट मुक्तिका निम्ति नारीले तीजको उपयोग गर्नुपर्छ । तीजलाई खानपान र उत्सवको मात्र नभएर पारिवारिक पुनर्मिलन, पीडा र खुसीको आयतन आँकलन अनि स्वतन्त्रताको प्रण गर्ने पर्वको रुपमा लिनुपर्छ । तीजको शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->