पोखरा/ पोखरामा असोजको पहिलो साता खुला प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा– १९ लामाचौरमा रहेको गुरुङ मगर समाजले स्थानीय पातीघारी खेल मैदानमा यही असोज १ देखि ४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
चार दिनसम्म संचालन हुने प्रतियोगितामा प्रौढ पुरुष, महिला छुट्टाछुट्टै टिमको सहभागिता रहने खेल संयोजक सन्दिप थापा मगरले जानकारी दिए । हालसम्म पुरुषतर्फ १७ र महिलातर्फ ११ टिम दर्ता भईसकेको र टिम दर्ताको अन्तिम दिनसम्म पुरुष २५ र महिलाका २० टिम सहभागी हुने संयोजक मगरले बताए । देशका जुनसुकै क्षेत्रबाट पनि सहभागिता जनाउन सकिने प्रतियोगितामा ४० वर्ष माथिका पुरुष र ३० वर्ष माथिका महिलाले भाग लिन पाउने बताईएको छ ।
प्रौढ पुरुषतर्फको विजेताले १ लाख १ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले ६१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले ३१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै महिलातर्फ विजेताले ५१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले ३१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र र तृतीय हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका कोषाध्यक्ष सुर्य पुर्जा मगरले जानकारी दिए ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, लिव्रो र स्पाईकरलाई नगद पुरस्कार दिईने उनले बताए । प्रतियोगिताका लागि पुरुषतर्फ ७ हजार र महिलातर्फ ४ हजार ५०० टिम दर्ता शुल्क तोकिएको छ । पत्रकार सम्मेलनमा बोल्दै खेल संयोजक मगरले प्रतियोगिताबाट बचेको रकम मध्ये केही रकम स्थानीय सरकार मार्फत भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरिने बताए ।
उनका अनुसार प्रतियोगिता सम्पन्न गर्न १२ लाख खर्च लाग्ने र बिभिन्न सहयोगदाताबाट १२ लाख ५० हजार रकम संकलन हुने अपेक्षा गरिएको छ । समाजका अध्यक्ष युग गुरुङले संस्थाले पहिलोपटक कार्यक्रम गर्न लागेको जानकारी दिदैं, यस प्रतियोगिताले खेलकुदमा उमेरले छेक्दैन भन्ने मान्यतालाई स्थापित गर्ने बताए । उनले भलिबल खेलको विकास, संरक्षण तथा प्रर्वद्धनमा यस प्रतियोगिताले टेवा पुर्याउने बताए । प्रतियोगिता सम्पन्न गर्न बिभिन्न खेल संस्था, सहयोगीदाता र संघ संस्थासँग समन्वय भईरहेको सचिव लिलबहादुर क्षेत्रीले जानकारी दिए ।
समाजका अध्यक्ष युग गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा भलिबलका राष्ट्रिय रेफ्री राम गुरुङ, प्रचार प्रसार समितिका संयोजक विराज शर्मालगायतले प्रतियोगिताको उद्येश्य र नियमका बारेमा चर्चा गरेका थिए । समाजमा गुरुङ, मगर मात्र नभई सबै समुदायको प्रतिनिधित्व रहेको बताईएको छ ।





