बागलुङ/जिल्ला भलिबल संघ बागलुङको पाँचौँ अधिवेशनले गोरख बहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
बागलुङ सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अर्जुन खड्का र होम थापा, महासचिवमा मनबहादुर पुन, कोषाध्यक्षमा दिलिप थापा, सदस्यहरूमा योगेश भण्डारी, माया रोका, यमदिप पुन, सुरक्षा जिसी, यमकुमारी नेपाली र गोविन्दबहादुर थापा चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ । अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहका प्रतिनिधिको सहभागिता रहेको थियो ।
अधिवेशन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्णप्रसाद कँडेलले भलिबल बागलुङमा लोकप्रिय खेलका रूपमा स्थापित हुनुका साथै स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म जिल्लाका खेलाडीहरूले क्षमता प्रदर्शन गरिरहेको बताए ।
उनले जिल्लामा भलिबल खेलको विकासका लागि संघ, खेलाडी, प्रशिक्षक तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए । विद्यालय तहदेखि नै भलिबल खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा प्रशिक्षण, नियमित प्रतियोगिता आयोजना र दक्ष प्रशिक्षक उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
जिल्ला खेलकुद विकास समिति खेल संघहरूसँग सहकार्य, समन्वय र साझेदारी गर्दै अघि बढ्न प्रतिबद्ध रहेको कँडेलले बताए । सीमित स्रोतसाधनका बाबजुद खेल क्षेत्रको विकासका लागि स्थानीय तह, प्रदेश सरकार, खेल संघ, विद्यालय, क्लब तथा खेलप्रेमीबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले उल्लेख गरे ।
अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले बागलुङ भलिबल खेलाडी उत्पादनको उर्वर भूमि रहेको बताए । बागलुङका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सफल भएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले पनि मन्तव्य व्यक्त गरेका थिए । जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष योगेशबहादुर भण्डारीको अध्यक्षता, उपाध्यक्ष किशोर थापाको स्वागत तथा महासचिव मनबहादुर पुनको सञ्चालनमा अधिवेशन सम्पन्न भएको थियो ।





