पोखरा/पोखरामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण क्रिकेट हुने भएको छ । आइसिसी पुरुष टी २० विश्वकप एसिया सब–रिजनल छनोट ‘ए’ अघि भुटानको राष्ट्रिय टोली पोखरा आउने भएको हो । नेपाल क्रिकेट संघ (क्यान)को सहयोग तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा भुटानले पोखरामा चार अभ्यास खेल खेल्ने तय भएको छ ।
मलेसियामा यही असोज १७ देखि सुरु हुने प्रतियोगिताको तयारीका लागि भुटानले पोखरालाई वैदेशिक प्रशिक्षण गन्तव्य बनाएको छ । भ्रमणका क्रममा भुटानी टोलीले गण्डकी प्रदेश क्रिकेट टोलीसँग दुई र क्यान–११ सँग दुई गरी चार अभ्यास खेल खेल्ने प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।
नेपाल एसोसिएट राष्ट्र भएकाले भुटानले नेपालसँग अभ्यास खेलका लागि सहयोग मागेको हो । काठमाडौंको मैदान खाली नभएका कारण टोली पोखरामा आउन लागेको उनले बताए । पोखरामा आइसिसी मापदण्डकै सेवा प्रदान गर्ने भनेपछि भुटान पोखरा आउन तयार भएको हो ।
‘आइसिसीको तालिममा भएको प्रशिक्षण खेल यहाँ हुनु भनेको आइसिसीको चासो रहनु हो । यसले भोलिका दिनमा काठमाडौं पछिको अन्तर्राष्ट्रिय गन्तव्य पोखरा हो भन्ने पनि चिनाउन मद्दत गर्छ’, सिग्देलले भने ।
त्यसका लागि मैदान निर्माण भइरहेको मैदान व्यवस्थापक रिषिराम गौतमले जानकारी दिए । अहिले मैदानको घाँस काट्ने र सरसफाइ गरिँदै छ । ‘हामीले मैदान पनि आइसिसीकै स्ट्यान्डर्डअनुसार बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘९ गतेभित्र सबै काम सम्पन्न हुन्छन् । पोखरालाई खेलकुदको गन्तव्य बनाउनका लागि यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता सबैले ल्याउनुपर्छ ।’
कास्कीमा अन्तर्राष्ट्रिय स्तरको मैत्रीपूर्ण खेल हुनु गर्वको कुरा रहेको कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेन्द्रप्रताप चन्द बताउँछन् । पहिलो खेल विश्व पर्यटन दिवसका अवसरमा ११ असोज दिउँसो साढे १२ बजे भुटान र गण्डकी प्रदेश क्रिकेट टोलीबीच हुनेछ । दोस्रो खेल १२ असोजको बिहान १० बजे भुटान र गण्डकीबीच नै हुनेछ ।१४ र १५ असोजमा भुटानले क्यान–११ सँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
भुटानसँग खेल्ने गण्डकीको १६ सदस्यीय टोलीको घोषणा भएको छ । विपिन खत्रीको कप्तानीमा गण्डकीको टिम घोषणा गरिएको हो । टिममा अर्जुन कुमाल, सुवास भण्डारी, सन्दीप खत्री क्षेत्री, दीपक डुम्रे, समीर कँडेल, अपराजित पौडेल, सिव्रिन श्रेष्ठ, ईश्वर क्षेत्री, करण पगेनी, कृष्ण पौडेल, सुदीप अर्याल, रोहित चन्द, विश्व कार्की, मुस्कान थापा र अभिषेक थापा छन् ।





