पर्वत/पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । दुर्लुङकोट म्याराथन समाजको आयोजनामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचार तथा युवालाई खेलकुद र स्वस्थ जीवनशैलीमा जोड्ने उद्देश्यका साथ आगामी असोज ३१ गते म्याराथन आयोजना गर्न लागिएको हो ।
बडादसैंको अवसर पारी ‘दौडौं स्वास्थ्यका लागि, जोडौं समाजका लागि, दुर्लुङकोट चिनाऔँ, खेलकुदसँग जोडाऔँ’ भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । म्याराथन प्रतियोगिता पर्वतको मोदी गाउँपालिकाको पातिचौरबाट सुरु भई कुश्मा बजार हुँदै दुर्लुङकोट पुगेर टुंगिनेगरी रुट तय गरिएको छ ।
म्याराथनमा प्रतियोगितामा देशभरका व्यावसायिक खेलाडी तथा धावकलाई सहभागी हुन आयोजक दुर्लुङकोट म्याराथन समाजले आह्वान गरेको छ।म्याराथन प्रतियोगतामा सहभागी हुन चाहने खेलाडी १७ वर्ष पूरा भएको हुनुपर्ने र असोज २३ गतेसम्म आयोजकलाई सम्पर्क गरी गुगल फारम भरेर आफ्नो नाम दर्ता गर्ने व्यवस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । द्वितीयलाई ६० हजार, तृतीय पुरस्कार ४० हजार, चौथो पुरस्कार २० हजार र पाँचौलाई १० हजार प्रदान गरिनेछ । दौड सफलतापूर्वक पूरा गर्ने सबै धावकलाई प्रोत्साहन स्वरूप सम्मानपत्र तथा मेडल प्रदान गरिनेछ ।





