बेनी/राज्यका हरेक तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने मागसहित म्याग्दीको सदरमुकाम बेनीमा आइतबार कार्यक्रम भएको छ ।
अन्तरपुस्ता महिलावादी मञ्च (आइजिएफएफ)को आयोजनामा सञ्चालित देशव्यापी महिलावादी अनुपम अभियानअन्तर्गत कार्यक्रम गरिएको हो । महिला अधिकार, लैंगिक समानता, सामाजिक न्याय, समावेशिता, नेतृत्व विकास र निर्णय प्रक्रियामा महिलाको समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।
कोणसभापछि सरोकारवालाको सहभागितामा अन्तरक्रिया भएको छ । कार्यक्रममा आइजिएफएफ तथा टेवा संस्थाका संस्थापक रीता थापाले राज्यका सबै तहमा महिलाको अर्थपूर्ण उपस्थिति स्थापित गराउन देशव्यापी रूपमा महिलावादी अनुपम अभियान सञ्चालन गरिएको बताइन् ।
अभियान चौथो वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी देशभर कोणसभा, अन्तरक्रिया, छलफल, बहस तथा पैरवीका कार्यक्रम सञ्चालन भइरहेको सुनाइन् । थापाले अभियानलाई आगामी दिनमा जिल्लास्तरबाट पालिका र वडा तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिइन् ।
आगामी निर्वाचनमा कम्तीमा १५ प्रतिशतसम्म प्रमुख पदमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सबै क्षेत्रबाट सकारात्मक सहयोग आवश्यक रहेको उनको भनाइ छ । जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाले ओगटेको अवस्थामा संविधानले प्रदान गरेका अधिकारको पूर्ण कार्यान्वयनका लागि पनि सोहीअनुसार प्रतिनिधित्व हुनुपर्ने उनको मत छ ।
नागरिक आवाजका कार्यालय प्रमुख सुसन रिसालले महिलावादी अनुपम अभियानलाई म्याग्दीका सबै स्थानीय तहसम्म विस्तार गर्नुपर्ने बताइन् । महिलाले एकअर्कालाई सहयोग र प्रोत्साहन गर्दै राज्यका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिका स्थापित गर्नुपर्नेमा उनले जोड दिइन् ।
छलफलका सहभागीले महिलाको नेतृत्व विकास र राजनीतिक तथा सामाजिक क्षेत्रमा पहुँच विस्तारका लागि स्वयं महिला पनि जागरुक हुनुपर्ने धारणा राखेका थिए । महिलाको सहभागिता र नेतृत्व स्थापित गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धतासमेत उनीहरूले जनाएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी लगायत राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सामाजिक, आर्थिक र संघसंस्थामा आबद्ध महिलाको सहभागिता थियो । कार्यक्रमको सञ्चालन अनुपम अभियानका अभियन्ता हरि धामीले गरेक थिए ।
अन्तरपुस्ता महिलावादी मञ्च (आइजिएफएफ) सन् २०१९ मा स्थापना भएको देशव्यापी, अनौपचारिक, खुला तथा स्वयंसेवी महिलावादी सञ्जाल हो । सात वटै प्रदेश र ७७ वटै जिल्लामा विस्तार भइरहेको यस सञ्जालले पछिल्लो चार वर्षदेखि पाँच वर्षे अनुपम अभियानमार्फत् महिलाका अधिकार, नेतृत्व विकास र अर्थपूर्ण सहभागिताका सवालमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।





