बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

घुँडाको शल्यक्रिया अर्थोस्कोपी

घुँडाको शल्यक्रिया अर्थोस्कोपी


  • डा. शैलेन्द्र श्रेष्ठ
  • फाल्गुन २५ २०७५, शनिबार

अर्थोस्कोपी एउटा शल्यक्रिया विधि हो, जुन विधिबाट अर्थोपेडिक शल्यचिकित्सकले जोर्नीभित्रको समस्या पत्ता लगाउने र उक्त समस्याको उपचार गर्छन् । यो अर्थोस्कोपी भन्ने शब्द ग्रीक भाषाको दुई शब्द आर्थो (जोर्नी) र स्कोपिन् (हेर्ने) मिलेर बनेको हो । घुँडाको अर्थोस्कोपीमा शल्यक्रिया विधिद्वारा छालामा सानो प्वाल पारेर जोर्नीभित्र हेर्न गरिन्छ । यसबाट घुँडामा हुने विभिन्न समस्याको निदान र उपचार गर्न सहज भएको छ ।
अर्थोस्कोपी गर्ने बेलामा बिरामीको घुँडामा सानो प्वाल पारेर अर्थोस्कोप भन्ने सानो क्यामेरा घुँडाभित्र छिराइन्छ । क्यामेराले ‘भिडियो मनिटर’ मा घुँडाभित्रको तस्वीर र भिडियो देखाउँछ । ती तस्वीर र भिडियोको प्रयोग गरेर घुँडाभित्र रहेको समस्या पत्ता लगाउनुका साथै स–साना औजारहरूको प्रयोग गरेर विभिन्न समस्याको उपचार गरिन्छ ।
अर्थोस्कोपीमा प्रयोग गरिने उपकरणहरू साना हुने भएकाले धेरै चिरेर ठूलो घाउ बनाउनुको सट्टा सानो प्वाल पारेर उपचार गर्ने विधि प्रयोगमा आइसकेको छ । जसको शल्यक्रियापछि दुखाइ कम हुने, चाँडै घुँडा चलाउन सम्भव हुने, पहिलेको अवस्थामा फर्किन कम समय लाग्नेजस्तो फाइदा छन् ।
अर्थोस्कोपीका बेला चिकित्सकले क्यामेराको सहायताले भिडियो मोनिटरमा घुँडाभित्रको बनावट हेरेर समस्या पत्ता लगाउने गर्छन् र त्यसपछि आवश्यक उपचारको व्यवस्था मिलाइन्छ ।
घुँडाको बनावट
घुँडा शरीरको ठूलो र जटिल प्रकारको जोर्नी हो । यो तिघ्रामा हुने फिमर हड्डीको तल्लो भाग, पटेला र टिबियाको माथिल्लो भागले बनेको हुन्छ । यीबाहेक यसका अरू महìवपूर्ण बनावट निम्नानुसार हुन्छन् ः
१. आर्टिकुलर कार्टिलेज
फिमर र टिबियाको पछिल्लो भाग र पटेलाको भित्री भाग आर्टिकुलर कार्टिलेजले ढाकेको हुन्छ । घुँडा खुम्च्याउँदा र सीधा बनाउँदा हड्डीहरूलाई एक आपसमा सहजरूपमा चल्न दिन यसले सहयोग पु¥याउने गर्छ ।
२. साइनोभियम
घुँडाको जोर्नी साइनोभियम नामक पातलो झिल्लीले ढाकिएको हुन्छ । जसले तरल पदार्थ उत्पादन गरी कार्टिलेजहरूलाई चिप्लो बनाउँछ र घुँडा चलाउँदा त्यहाँ घर्षण कम हुन्छ ।
३. मेनिस्कस
घुँडामा हुने दुईवटा मेनिस्कसले फिमर र टिबियाकाबीचमा ‘सक एब्जर्वर’ को काम गर्छ । यो कडा र रबरजस्तो हुन्छ । जसले घुँडालाई सन्तुलित रहन मद्दत गर्छ ।
४. लिगामेन्ट
एउटा हड्डी अर्को हड्डीसँग लिगामेन्टका सहायताले जोडिएको हुन्छ । घुँडामा चारवटा लिगामेन्ट हुन्छन् । जसले बलियो डोरीकोजस्तो काम गरी हड्डीहरूलाई समाई घुँडालाई सन्तुलित राख्न महìवपूर्ण भूमिका निर्वाह गर्छ ।
सामान्यतया घुँडाको अर्थोस्कोपी आर्टिकुलर कार्टिलेज, लिगामेन्ट र जोर्नीका अरू बनावटमा हुने समस्या पत्ता लगाउन तथा त्यसको उपचार गर्न प्रयोग गरिन्छ । शल्यक्रिया विनाका उपचारजस्तै औषधि, फिजियोथेरापी र विश्रामले गर्दा पनि घुँडाको समस्यामा सुधार आएन र दुखाइ कम भएन भने चिकित्सकले अर्थोस्कोपीको सल्लाह दिन सक्छन् ।
घुँडाको अर्थोस्कोपीक विधि निम्न प्रकारका छन् ः
१. च्यातिएको मेनिस्कसलाई निकाल्ने तथा सिलाउने ।
२. च्यातिएको लिगामेन्टमा अर्को लिगामेन्ट राख्ने ।
३. बिग्रिएर काम नलाग्ने भएको साइनोभियल तन्तुहरूलाई निकाल्ने ।
४. बिग्रिएर काम नलाग्ने भएको आर्टिकुलर कार्टिलेजलाई काट्ने र निकाल्ने ।
५. टुक्रा भएर छुट्टिएको हड्डी निकाल्ने ।
६. पटेलाको समस्या उपचार गर्न ।
७. घुँडाको जोर्नीमा भएको सङ्क्रमणको उपचार गर्न ।
शल्यक्रियाको तयारी
शल्यक्रिया पूर्व बिरामीको शल्यक्रियामा असर पु¥याउन सक्ने विभिन्न समस्या पत्ता लगाउन अनेक जाँच गर्नुपर्ने हुन्छ । यसमा रगत, पिसाब, इसिजी, एक्स–रे पर्छन् । यदि बिरामी स्वस्थ छ भने बिरामीलाई भर्ना नगरी शल्यक्रिया गर्न पनि सकिन्छ । यसो गर्दा बिरामीले अस्पतालमा रात बिताउनु पर्दैन ।
यदि बिरामीले कुनै औषधि नियमित रूपमा खाने गरेको छ र कुनै पुराना रोग छन् भने अनिवार्य रूपमा चिकित्सकलाई जानकारी गराउनुपर्छ । चिकित्सक तथा नर्सले बिरामीको शल्यक्रिया विधि र बिरामीले गर्नुपर्ने कार्यहरूको जानकारी दिन्छन् । ती निर्देशनको बिरामीले पालना गर्नुपर्ने हुन्छ ।
शल्यक्रिया पूर्व एनेस्थिेसिया चिकित्सकले बिरामीसँग सम्पर्क गर्दछ । घुँडाको अर्थोस्कोपी निम्न प्रकारको एनेस्थिेसियामा गर्न सकिन्छ ।
– लोकल : यसमा घुँडामात्र लाटो पारिन्छ । 
– स्पाइनल : यसमा कम्मरभन्दा मुनि लाटो पारिन्छ । 
– जेनेरल : यसमा बेहोस बनाइन्छ ।
शल्यक्रिया विधि
बिरामी शल्यक्रिया गर्ने कोठामा पुगेपछि उसलाई आवश्यक भएअनुसारको एनेस्थिेसिया दिइन्छ । सङ्क्रमण हुन नदिन बिरामीको घुँडा सफा गरेर ‘सर्जिकल ड्रयापिङले’ ढाकिन्छ र घुँडामा सानो प्वाल बनाइन्छ, जसलाई पोर्टल भनिन्छ । यो पोर्टलबाट अर्थोस्कोप भन्ने सानो क्यामेरा छिराएर चिकित्सकले बिरामीको घुँडाभित्र भएको समस्या पत्ता लगाउने प्रयास गर्छन् । आवश्यक भएमा अन्य साना उपकरणहरू छिराएर शल्यक्रिया गर्छन् । ती साना उपकरण खुर्किन, समाउन, काट्न र मेनिस्कस सिलाउन प्रयोग गरिन्छ ।
प्रायःजसो यस्तो अर्थोस्कोपी एक घण्टाभित्र सकिन्छ तर बिरामीको समस्या र गर्नुपर्ने उपचारमा पनि समय भर पर्छ । घुँडामा पारिएको प्वाल सिलेर नरम ब्यान्डेजले ढाकिन्छ । यो अर्थोस्कोपी शल्यक्रियाको जटिलता एकदम कम र सामान्य खालको हुन्छ । केही सम्भाव्य जटिलता निम्नानुसार हुन्छन् ः
– सङ्क्रमण ।
– घुँडाको स्टिफनेस् (चलाउन अप्ठ्यारो हुने) ।
– जोर्नीमा रगत जम्मा हुने ।
– रगत जम्ने ।
परम्परागत रूपमा गरिने उपचारभन्दा यो विधिबाट गरिने उपचारमा सुधार चाँडो हुने गर्दछ । शल्यक्रियापछि बिरामीले सामान्य दुखाइ महसुस गर्नसक्छ । केही दिनपछि पनि दुखाइ कम भएन भने चिकित्सकसँग सल्लाह गर्नुपर्छ । दुखाइबाहेक सङ्क्रमण हुन नदिन र रगत जम्न नदिन चिकित्सकले बिरामीलाई अरू औषधि दिन सक्छन् ।
शल्यक्रियापछिका केही दिन खुट्टा उठाएर राख्ने र ‘आइस प्याक’ ले सेक्ने गर्नुपर्छ । जसले गर्दा सुन्निन कम हुनुको साथै दुखाइ पनि कम हुन्छ । अस्पतालमा लगाएको ड्रेसिङलाई सफा राख्ने र अर्को ड्रेसिङ कहिले गर्ने, कहिले नुहाउनेजस्ता कुराको जानकारी चिकित्सकले नै दिने गर्छन् । प्रायः बिरामीलाई अर्थोस्कोपीपछि बैसाखीको सहायता चाहिन्छ । कहिलेबाट खुट्टा टेक्ने भनी बिरामीको उपचारको प्रकृति हेरेर चिकित्सकले सल्लाह दिने गर्छन् ।
बिरामीले सिकाएको फिजियोथरापी व्यायाम नियमित रूपमा गर्नुपर्छ । यसले बिरामीको घुँडामा चाल आउनुका साथै मांसपेशीहरू पनि बलियो हुन्छन् । फिजियोथेरापी व्यायामले बिरामी ठीक हुने वा बिरामीको घुँडाको सुधारमा महìवपूर्ण भूमिका खेल्छ । प्रायः मानिस आर्थोस्कोपीपछि पूर्णरूपमा पहिलेको जस्तै सामान्य अवस्थामा फर्किन्छन् । उपचारबाट बिरामीमा आउने सुधार उसको घुँडाको चोटको प्रकारमा पनि निर्भर रहन्छ ।
घुँडाको लिगामेन्ट फेरेको बाहेक अरू अवस्थामा बिरामीले ६÷८ हप्ताभित्र प्रायः सबै दैनिक शारीरिक क्रियाकलाप गर्न सक्छ तर घुँडालाई धेरै भार पर्ने काम लामो समयसम्म गर्नुहुँदैन । यदि बिरामीको कडा शारीरिक क्रियाकलाप गर्ने काम छ भने काममा फर्किन लामो समय लाग्न सक्छ । कहिले सुरक्षित रूपमा काममा फर्कने भनेर बिरामीले चिकित्सकसँग सल्लाह लिनु आवश्यक छ ।
केही मानिसमा जोर्नीलाई लामो समय बचाउनका लागि जीवनशैलीमा परिवर्तन गर्नु जरुरी हुन्छ । जस्तै दौडिने, पौडिने, साइकल चलाउने आदि । यसमा चिकित्सकको सल्लाह आवश्यक पर्छ । कुनै अवस्थामा बिरामीको घुँडाको चोट निकै जटिल हुन्छ, जुन शल्यक्रियापछि पनि पहिलेको अवस्थामा नआउन सक्छ ।
(लेखक सुभेक्षा अस्पतालमा कन्सल्टेन्ट अर्थोपेडिक र अर्थोस्कोपिक सर्जन हुन। )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->