पोखरा, २ चैत-दुई सन्तान ईश्वरको बरदान सुन्दै आएको आधुनिक समाज न प¥यो । अबको नेपाली पुस्ताले सायदै साहिँली भेट्टाउला । कन्या भ्रुणहत्याको डरलाग्दो यथार्थलाई आँखै चिम्लिऊँ । तर, हामी बाँचेको समयमै ‘सुन साहिँली चालिस कटेपछि रमाउँला ….। ’भन्ने बोलको गीत खुबै चल्यो । युट्युबमा नयाँ रेकर्ड बनायो अनि विदेशिएका ४० लाख नेपाली र उनका जहानको सपनालाई भरथेग ग¥यो । ४० काटेपछि युवा भइँदैन । राम्रो लाउने राम्रो खाने भनेको युवा हुँदै हो । बिडम्वना हामी भने ४० काटेपछिको सपना पच्छ्याउन बाध्य छौँ ।यो गीतको रचनागर्भ पनि अनौठो नै छ । कालीप्रसाद बास्कोटा र हेमन्त राना अमेरिकाबाट फर्कँदै थिए । विदेशको पीडा र स्वदेशको पर्खाई दुबै देखेका उनीहरुले ‘नौलो’ गर्दै गर्दा यो गीत जन्म्यो । केही मिनेटको गीत समाजको ऐना बन्यो । गीत चलेपछि मनोरञ्जन क्षेत्रमा लागेका उनीहरुलाई फिल्म बनाउने हुटहुटी लाग्यो । त्यही हुटहुटीलाई जिएच इण्टरटेन्टमेण्टले वास्तविकतामा बदल्यो । अब साहिँली सिनेमा बन्न लागेको छ । कसैलाई कुर्दै गरेकी साहिँली यही चैत १५ गतेदेखि सिनेमा हलको पर्दामा नाच्दैछन् ।
‘साहिँली हामीले भोगेको समाजको प्रतिबिम्व हो, त्यसैले यो सिनेमा हामी सबैको कथा हो’, फिल्म प्रमोसनको लागि पोखरा आइपुगेका नायक दयाहाङ राईले भने,‘ फिल्मले हाम्रै वरपरका पात्रहरुको कथा बन्ने हो ।’ त्यसो त सिनेमा एकहिसाबले साहिँली गीतको प्रष्टिकरण पनि हो । तन्काएको कथाकी साहिँली देशभित्र पनि हुन्छिन्, विदेश पनि पुग्छिन् । टाइटल गीतसँगै फिल्मले सायद बिट मार्छ ।
रामबाबु गुरुङ खासमा फरक धारको फिल्मको लागि चिनिन्छन् । यो फिल्ममा उनले पुरानो डुंगाका निर्देशकले आफ्ना मनपर्ने कलाकारहरु माओत्से गुरुङ, मेनका, प्रकाश घिमिरेसँग काम गरेका छन् । रंगमञ्चबाट फिल्ममा आएका कलाकारसँगै फिल्म नै पढेर आएका गौरव पहारीको अभिनयले दर्शकलाई हलसम्म पु¥याउने दावी फिल्म युनिटको रहेको छ ।
फिल्मको परिवेश पोखरा र आसपास नै हुनु यसको अर्को विशेषता हो । किन त, पोखरा वरपर सुटिङ ? दयाहाङको प्रष्टिकरण छ,‘ विभिन्न जातजाति मिलेर बसेको ठाउँ सायद यहाँजस्तो अन्यत्र छैन, मलाई , गौरवलाई वा यो फिल्मको अर्को पात्रलाई हेर्नुभयो भने तपाईँले फरक पाउनुहुन्छ, यो यथार्थता लोकेसनले पनि देखाउँछ ।’
जीवन्त अभिनयको लागि माहिर मानिन्छन्, प्रकाश घिमिरे । जस्तो पात्र, उस्तै भेष मात्र हैन, पात्रमाथि नै डुब्नु उनको विशेषता हो ।‘यो फिल्ममा मैले मेनकाको ससुरा अर्थात हिरोको बाबु बन्ने मौका पाएको छु, फिल्ममा हामीले मिहिनेत गरेका छौँ ।’ नेपाली सिनेमा उद्योग खस्केको र फिल्मले हलसम्म दर्शक तान्न नसकेको बेला आउने यो फिल्म समीक्षक र दर्शक दुबैको लागि उत्कृष्ट हुने दावी निर्माण पक्षको रहेको छ ।





