बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सेल्फमेड रामकली !

सेल्फमेड रामकली !

उद्यम विकासमा रामकलीको संघर्ष


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०७५, शनिबार
?

पोखरा , ९ चैत –जन्मघर हुम्लाको लुम्कोटमा बुझ्ने हुँदै गर्दा उनले ‘ओम माने पेमे हुँम्’ मात्र सुनिनन्,बाबुको राजनीतिक रवाफ पनि बुझिन् । लामा काम गर्ने कुङ्गा लामाले परिवारकी जेठी छोरीको नाम किन रामकली राखे ? छोरीलाई अहिलेसम्म थाहा छैन ।
‘खै मेरो स्कूल देखिको नाम नै यही हो’, उनले सुनाइन्,‘ मैले गाउँकै स्कूलमा पढ्न पाएँ, मलाई बुबा आमाले एसएलसीसम्म पढाउनुभयो ।’
यो अहिलेको कुरो त हैन, सम्झुन् पनि उनले कसरी ? बरु, एसएलसी सकेपछि भने उनले मौका पाइन् राजधानी छिर्ने । महिला तालीम केन्द्रमा ६ महिने तालीमको अवसर पाएकी उनले त्यो बेला होम साइन्स भनिने विषयभित्र रहेर सबैखाले सीप सिकिन् । ६ महिनापछि भने उनी आफै पो तालीमे बनिन् त ! ‘मैले त्यहाँ एक वर्ष तालीम नै दिएँ’,उनले सुनाइन्,‘पछि त महिला कार्यकर्ताको रुपमा २१ वर्षे सरकारी जागरि पो खाएँ त ।’
जागिर नखाँदै उनले प्रहरीमा जागिरे श्यामसुन्दर खड्कालाई ‘खसम’ रोजिसकेकी थिइन् । जागिरमा गाउँतिरै जाँदै भेटेको खसम पनि जागिरे । दुबैको जागिरे जीवन फरक फरक ठाउँमा बित्यो । देशका धेरैजसो गाउँ घुम्दा उनले देखेको एउटै विषय थियो–पछौडेपन र महिलामाथिको विभेद । महिला आफै सम्पन्न र सक्षम भए परनिर्भरता घट्ने मात्र हैन, विभेदलाई पनि कम गर्न सकिन्छ भन्ने भेउ उनले त्यतै पाइन् ।
महिलालाई आत्मनिर्भर बनाउने कसरी त ? उनले जुक्ति पनि आफै निकालिन् । काम गर्न सक्ने बनाउने । त्यसको लागि तालीम चाहिन्थ्यो । उनीजस्तै महिलाहरु मिलेर २०४६ सालमा पोखरामा महिला सीप विकास केन्द्रको स्थापना गरिन् । केन्द्रले गाउँका महिलाहरुलाई निःशुल्क तालीम दिन्थ्यो र दिँदै आएको छ । तालीमकै क्रममा सानासाना उत्पादनहरु पनि बाहिर आए ।
‘त्यो बेला सूर्य पाण्डे, शान्ति थापा र लाल गुरुङहरु तालीममा सहभागि थिए र अहिले पनि हामी सँगै काम गर्छौँ’,रामकलीले सुनाइन्,‘त्यति सानो टिमबाट सुरु भएको तालीमबाट अहिले १२ हजारभन्दा बढी महिलाले लाभ लिइसकेका छन् ।’
४६ सालमा सुरु भएको तालीमले महिलालाई खासगरी सिलाइकटाई सिकाउँथ्यो । अनि, गरिब,असाहय,पीडितहरुलाई उनको संस्थाले तालीम दिँदै गयो ।
‘महिला,असक्त,अपाङ्गहरुलाई काम पाउन गाह्रो हुन्छ, उनीहरु आत्मनिर्भर भए हात फैलाएर खान पर्दैन भन्ने सोचेर हामीले थालेको अभियानले अहिले सार्थकता पाएको छ’, शान्तिको सास फेर्दै उनले भनिन्,‘अहिले हामीसँग यस्तैखाले तर फरक सीप भएका ५ सय महिला काम गर्छन् ।’
सीप विकास केन्द्रले तालीम दिन्छ । तालीम पाएका महिलाहरुले घरमै गएर हाते तानमा कपडा बुन्छन् । उनीहरुले बुनेको कपडालाई रामकलीले नै सुरु गरेको पोखरा वुमन स्किल डेभलपमेण्ट प्रालिले झोला, गुडिया, हाते पर्स लगायतका सामान बनाउँछन् र बजारमा पठाउँछन् । ती सामानहरु अहिले नेपालका विभिन्न भाग तथा युरोप र एसियाका धेरै देश पुग्छन् ।
रामकलीको कम्पनीले बजारबाट धागो किन्छ । धागोलाई यहीँको हर्रो, चिया, सयपत्री,अनार,प्याँजको बोक्रालगायतका घरेलु उत्पादनबाट प्राकृतिक रङ दिन्छन् । ‘गाउँ क्षेत्रका महिलाहरुले त्यसलाई बुन्छन् र मेहनत गर्नेले महिनामा २५हजारसम्म कमाउँछन्’, रामकलीले भनिन्,‘उद्योगमा काम गर्ने ९० जना अपाङ्,दृष्टिविहीन, एकल महिला, अभिभावक नभएका उमेर पुगेका युवतीहरु हरु छन्, उनीहरुले आफ्नो सीप अनुसार हातको काम गर्छन् ।’ रामकलीका अनुसार उद्योगमा काम गर्ने महिलाहरुले आफ्नो सन्तानलाई खानलाउन दिएका मात्र छैनन्, केही पैसा वचत पनि गरेका छन् । पोलियोले दुबै खुट्टा गुमाएकी चुमाया पुर्जा, बिबीमाया गुरुङ र लक्ष्मी पौडेलको नाम सम्झँदै उनले थपिन्–‘उनीहरु आत्मनिर्भर बनेको देख्दा खुसी लाग्छ ।’
अहिले उनको कम्पनको वार्षिक ‘टर्न ओभर’ ले ३ करोड नाघेको छ । सरकारी सहयोग नपाए पनि इज्जत पाएकोमा उनी दंग छन् । कहाँ हुम्लाकी रामकली , कहाँ महिला उद्यमी रामकली ?जीवनलाई पछाडि फर्केर हेर्दा उनी आफै दंग पर्छिन् । संस्थाको आफ्नै वेभसाइट छ । त्यही साइटमार्फत अन्तर्राष्ट्रिय बजारमा मार्केटिङ गर्छिन् उनी । हातले बुनेका सामानहरुको विदेशमा भाउ राम्रै छ तर रामकलीले लिने भनेको सुरुको मूल्य मात्र हो । त्यसलाई बेच्नेहरु अन्तर्राष्ट्रिय व्यापारी नै हुन्छन् । उताको बजार मूल्य पनि उनीहरुकै हातमा हुन्छ । गुणस्तर र फिनिसिङ दिनुपर्ने दायित्वचाहिँ रामकलीकै हातमा हुन्छ । वल्र्ड फेयर टे«ड ग्रुपको मेम्बर हो, महिला सीप विकास केन्द्र । ठूला टे«ड फेयरमा पुग्नु, सामानको मार्केटिङ गर्नु र क्रेतालाई सामान बेच्नु उनको दैनिकी हो । रामकलीले सुनाइन्–‘महिला भएकैले हेपिनुको कुनै कारण हुँदैन, बरु केही गर्छु भन्ने इच्छाशक्ति नै भएन भने चाहिँ यसै भन्न सकिन्नँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->