स्याङजा, १७ चैत – गोर्खा सैनिकहरुको सम्झनामा स्याङ्जाको साल्मेडाँडामा निर्माण हुन लागेको गोर्खा समाधि स्थलमा खानेपानी पुगेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिकाको साल्मेडाँडामा निर्माणाधीन गोर्खा समाधिस्थललाई लक्षित गरी पु¥याईएको खानेपानी बाट अन्य स्थानिय ३० घरधुरी लाभान्वित भएका छन् । संघिय सरकार,गण्डकी प्रदेश सरकार र गोर्खा स्मारक ट्रष्ट नेपाल लगाएतको सहयोगमा साल्मेडाँडामा खानेपानी पुगेको हो । ६० लाख ८४ हजारको लागतमा खानेपानी आयोजनाको काम सम्पन्न गरिएको हो ।
परियोजनाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गोरखा समाधिस्थल निर्माणपछि साल्मेडाँडा नेपालकै ऐतिहासिक प्रमुख पर्यटकीय गन्तव्य स्थल बन्ने बताए । उक्त योजना पर्यटकीय हिसाबले अत्यान्तै महत्वपूर्ण रहने चर्चा गर्दै उनलेउक्त साल्मेडाँडालाई आन्तरिक तथा बाहृय पर्यटकहरूको गन्तव्यस्थल बनाउने योजना सुनाए । साल्मेडाँडामा गोर्खा समाधि स्थल,गोरखा म्युजियम,६३ मिटर अग्लो गोर्खा टावर,जातीय नमूना घरहरू निर्माण गर्ने योजना रहेको छ भने ३ डिब्बे सानो रेलले गोर्खा समाधि परिक्रमा गर्दै भैरवस्थान नुवाकोट देउरालीस पु¥याउने योजना छ ।
हाल बेलायतस्थित हेरिटेज ट्रष्टको अनुरोधमा नेपाल सरकार शहरी विकास मन्त्रालयले बहुवर्षीय कार्यक्रम अन्तर्गत ५ करोड रूपैयाँ विनियोजन गरेको छ । यस्तै गण्डकी प्रदेशको उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयले गोरखा समाधिस्थल पूर्वाधार विकासको लागि रु. ३० लाख रकम विनियोजन गरेको छ ।उक्त रकमले अहिँले विभिन्न संरचनागत पूर्वाधार,खानेपानी र समाधिस्थमा चौतर्फी पर्खाल,गोरखा टावर र बगैंचा निर्माण गर्ने काम भइरहेको छ ।
पोखरा देखि १५ किमी दक्षिण पश्चिममा पर्ने सिद्धर्थ राजमार्गको कुभिन्डे भञ्ज्याङ हुँदै त्यहाँ पुग्न सकिन्छ । १५ सयमिटर उचाइमा रहेको साल्मेडाँडामा गोर्खा समाधि स्थल निर्माण भईरहेको छ । ब्रिटिस आर्मीहरुको सहयोग तथा स्थानियवासीले आफैले चन्दा उठाएर उक्त योजना अगाडी सारेका थिए । उनीहरुले अहिँले सम्म २० करोड उठाइसकेका छन । यसको गुरुयोजना र डिपिआर समेत तयार पारिएको छ ।बिभिन्न युद्धमा करिब ६० हजार गोर्खाहरूले ब्रिटिस साम्राज्यको रक्षाको लागि ज्यान गुमाएका थिए ।





