बागलुङ, १७ चैत – के तपाईं सार्वजनिक स्थानमा मुनाफा आर्जन गर्नको लागि नेपाली गीत संगीतको प्रयोग गर्ने गर्नुभएको छ ? तपाईले बजाउने गरेका गीतको कसैको अनुमतीले बजाउँदै हुनुहुन्छ वा यत्तिकै ? यदि तपाई बिना जानकारी गीत संगीताको प्रयोग गर्ने गर्नुभएको छभने याद गर्नुहोस् त्यो दण्डनीय अपराध हो । नेपालको कानुनले कुनैपनि बौद्धिक सम्पत्तिलाई प्रयोग गर्दा सम्बन्धित व्यक्ति वा संस्थालाई जानकारी गराउनु पर्ने र प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । प्रतिलिपी बनाएर प्रयोग गरेको पाईएमा नेपाल सरकार पक्ष भएर सरकारवादी मुद्धामा फौजदारी अभियोग लाग्छ भने सोही अनुसारको कारवाही हुने व्यवस्था रहेको छ । प्रतिलिपी अधिकार उल्लंघन गरे १० हजारदेखि १ लाखसम्म जरीवाना र ६ महिना कैंद वा दुवै सजाय हुने कानुनमा व्यवस्था छ । यसको नेपाल प्रतिलिपी रजिष्ट्रारको कार्यालयले निमयन, अनुगमन र मुल्यांकन गर्दै आएको छ ।
नेपालको संबिधान २०७२ को धारा २५ मा बौद्धिक सम्पत्तिको प्रयोगका बिषयमा व्यवस्था गरिएको छ । बौद्धिक सम्पत्तिको रुपमा लिईने कला, साहित्य, बैज्ञानिक कार्य, संकेत चिन्ह, पेन्टेन्ट, डिजाईन, भौगोलिक नक्साङ्कन आदि बौद्धिक सम्पत्तिको रुपमा परिभाषित गरिएको छ । बौद्धिक सम्पत्तिको अधिकार कानुनतः सिर्जनाकर्तालाई हुनेछ भनिएको छ । कानुनको यहि धारामा उल्लेख भएअनुसार कुनैपनि सिर्जनाको प्रयोग गर्दा सिर्जना कर्ताबाट अनुमति लिने वा त्यो सिर्जनाको मुल्य भुक्तान गर्नुपर्ने भएपनि कार्यान्वयनमा समस्या छन् । बढ्दो आधुनिकिकरण र जिम्मेबार प्रयोगकर्ता नभएका कारण नेपालमा प्रतिलिपि अधिकार सम्बन्धि व्यवस्थाहरुको कार्यान्वयमा समस्या रहेको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताए । नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयले साविकको धौलागिरी अञ्चललाई समावेश गरेर बागलुङमा एक दिवशीय गोष्ठीको आयोजना ग¥यो । प्रतिलिपी अधिकार सम्बन्धि कानुन कार्यान्वयनको अवस्था, सुधारका क्षेत्रहरुको बिषयमा आयोजना भएको गोष्ठीमा सहभागीका गुनासाहरुको जनचेतनासँग जोडिएर आएका थिए ।
‘बौद्धिक सम्पत्ति राज्यको अर्थतन्त्रमा राम्रो प्रभाव राख्न सक्ने क्षेत्र हो’ प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले भने ‘दुःख गरेर बनेका सिर्जनाहरु प्रतिलिपी बनाएर प्रयोग हुँदा सिर्जनाकर्ता मर्कामा पर्ने गरेका गुनासाहरु सुन्नमा आउने गरेका छन् ।’ नेपालको कानुनले गरेको व्यवस्थाका बिषयमा सबै तहमा जानकारी नभएका कारणले पनि सिर्जना गर्नेहरु मर्कामा पर्ने गरेका छन् । सरकारले व्यवस्था गरेको प्रतिलिपी सम्बन्धि अधिकार पहुँचमा रहेकाहरुलाई मात्रै भएको र वास्तविक सिर्जना गर्नेहरु ओझेलामा पर्ने गरेको लोकगीतका सर्जक गणेश पौडेलले बताए । ‘सार्वजनिक ठाउँमा प्रयोग भएबापत वा अहिलेका डिजिटल माध्याममार्फत रोयल्टी संकलन हुन्छ’ पौडेलले भने ‘तर संकलन भएको रोयल्टी सर्जकले कहाँ कसरी पाउने भन्ने बिषयमा जानकारी समेत छैन् ।’ रोयल्टी दिनका लागि संकलन गरीरहेका संस्थाहरुले समेत आनाकानी गर्ने गरेको उनको गुनासो थियो ।
रजिष्ट्राररको कार्यालयले सिर्जनाहरु दर्ता गर्न सर्जकहरुलाई पटक–पटक आग्रह गर्ने गरेको भएपनि बिना अनुमति प्रतिलिपी बनाउनेलाई दर्ता नभएकै कारण कारवाहीको दायरामा ल्याउन कठिन हुने गरेको रजिष्ट्रार प्रकाश आचार्यले बताए । उनका अनुसार, हालसम्म कार्यालयमा एक हजार दुई सयको हाराहारीमा मात्रै सिर्जना दर्ता भएका छन् । प्रतिलिपीमा मात्रै नभएर रोयल्टीको बाँडफाँड र प्राप्त गर्ने तरिकाहरुमा पनि कयौं त्रुटीहरु रहेकाले त्यसलाई व्यवस्थापन गर्नु चुनौती रहेको उनको भनाई थियो । ‘नेपालमा हजार गीत गाउनेले दुई चार सय रुपैयाँ रोयल्टी पाउने र आठ दशवटा मात्रै गीत बनाएकाहरुले लाखौं रुपैयाँ पाउने गरेको पाईएको छ’ आचार्यले भने ‘ समाजिक सञ्जालको कार्यालय नेपालमा नहुनु, अको समस्या हो । ’





