बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सांस्कृतिक क्रान्तिको बाछिटा: चिनियाँ फिल्म

सांस्कृतिक क्रान्तिको बाछिटा: चिनियाँ फिल्म


  • Dhorpatan News
  • फाल्गुन १८ २०७५, शनिबार

काठमाडौँ,  १८ फागुन – चिनियाँ फिल्मलाई ओस्कारसम्म पुर्‍याउने जस पाएका निर्देशक चाङ यिमुका प्रायः फिल्महरू चिनियाँ सांस्कृतिक क्रान्तिबाट प्रभावित हुन्छन् । ‘द रोड होम’, ‘जुदाउ’, ‘टु लिभ’, ‘कमिङ होम’ जस्ता उनका फिल्महरूमा सांस्कृतिक क्रान्तिका बाछिटाहरू भेटिन्छन् । माओत्से तुङको नेतृत्वमा स्न साठीको दशकदेखि सक्तरीको सुरुवाती दशकसम्म जारी रहेको ‘सांस्कृतिक त्रान्ति’ लाई आधुनिक चीनको अँध्यारा वर्षका रूपमा पनि चित्रित गरिन्छ । यही अँध्यारो समयको एउटा प्रेमकथा समेटिएको फिल्म ‘अन्डर द हाउथ्रोन ट्री’ ले शुक्रबार दर्शक मन जित्यो । राजधानीको कुमारी हलमा जारी चिनियाँ फिल्म फेस्टिभलको चौथो दिन चाङ यिमु निर्देशित यो फिल्म देखाइएको हो ।
सांस्कृतिक क्रान्तिको समय पुनर्शिक्षा लिन गाउँ गएको बेला हाई स्कुल विद्यार्थी जिङ छिउको एक युवक लाओ सानसँग भेट भएपछिको उतारचढाव फिल्ममा छ । उनीहरूबीचको प्रेम, त्यसमा आइपर्ने व्यावहारिक र सामाजिक राजनीतिक अवरोधहरूले फिल्मलाई गति प्रदान गर्छ । युवती जिङको बुबा दक्षिणपन्थीको आरोपमा जेलजीवन बिताइरहेका हुन्छन् भने युवक लाओ सानको बुबाचाहिँ आर्मी अफिसर । तर, सानकी आमाले भने बुर्जुवाको आरोप लागेपछि छतबाट हाम फालेर आत्महत्या गरिसकेकी हुन्छिन् । यस्तो कठिन अवस्था हुर्केको प्रेमकथाले सांस्कृतिक क्रान्ति ताकाको चीनको साँचो कथा भन्छ । राजनीतिक परिवर्तनको असर व्यक्तिगत जीवनमा कति मसिनो ढंग हुन्छ भन्ने यो फिल्मले प्रकाश पार्छ ।
फिल्ममा हाउथ्रोन (चेरी प्रजातिको एउटा रूख) लाई प्रतीकात्मक रूपमा देखाउन खोजिएको छ । दोस्रो विश्वयुद्धमा जापानीविरुद्ध लडदा सहिदको रगतले लत्पतिएको उक्त रूखलाई प्रेम साटासाटको प्रतीक बनाएर फिल्मले पुरानो पुस्ताको योगदानको अनुभवलाई नयाँ पुस्तामा कलात्मक तरिकाले हस्तान्तरण गर्न खोजेको छ ।
सांस्कृतिक क्रान्तिकालीन समय माओत्से तुङले समाजमा पारेको असरलाई पनि फिल्मले बिम्वात्मक रूपमा केलाउने खोजिएको छ । फिल्ममा प्रेम, भान्सा, अस्पताल, बाटोदेखि स्कुलसम्म ‘अध्यक्ष माओ’ को प्रशंसा गरिएको छ, जुन सामान्यतः प्रशंसाजस्तोलागे पनि खासमा निर्देशक चाङ यिमुले व्यंग्य गरेका हुन्, त्यति बेलाको समयप्रति ।फिल्म  हेर्दा चाङ यिमुको आफ्नै जीवन पढेजस्तो महसुस हुन्छ । चाङ स्वयंले स्कुले जीवनको बेला दक्षिणपन्थको आरोपमा श्रम शिविरमा काम गर्दै पढ्नुपरेको थियो । त्यही भएर पनि उनका प्रायः फिल्ममा सांस्कृतिक क्रान्तिको बाछिटाहरू भेटिन्छन् । महोत्सवअन्तर्गत च्याकी चाङको फिल्म ‘चाइनिज जुडिक’ र चिनियाँ युवाहरूको अमेरिकी सपनामाथि पेटर चानले बनाएको फिल्म ‘पर्टनर’ पनि देखाइनेछ । बुधबार अर्का चर्चित चिनियाँ निर्देशक वाङ कार वाईको फिल्म ‘द ग्रान्डमास्टर’ देखाइएको थियो । बिहीबार भने दिवंगत संस्कृतिमन्त्री रवीन्द्र अधिकारीप्रति शोक जनाउँदै फेस्टिभल स्थगित गरिएको थियो । चीनको इतिहास, युवाहरूको मनोविज्ञान र समृद्धि यात्रा बुझ्न पनि महोत्सवले सघाउने आयोजक वर्ल्ड कल्चरल नेटका दीपक सरकारले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->