शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

संकटमा तुरतुरे तालको डुंगा व्यवसाय

संकटमा तुरतुरे तालको डुंगा व्यवसाय


  • ढोरपाटन संवाददाता
  • चैत्र २१ २०७५, बिहिबार

बागलुङ, २१ चैत – गत भदौ २९ गते मध्यपहाडी लोकमार्गमा खसेको भीषण पहिरोले बनेको तुरतुरे ताल हेर्न जानेको लर्को लाग्न थालेको छ । बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा थुनिएको बडिगाड खोलाले यो ताल बनाएको हो । झन्डै ३० देखि ४० मीटर गहिरो र झन्डै डेढ किलोमिर लामो यो ताल हेर्नेको दैनिक भीड लाग्ने गर्छ । नीलो तालले मात्रै होईन यहाँ सञ्चालनमा रहेको डुंगाका कारण पनि आन्तरीक पर्यटक तुरतुरे पुगेका छन् । पहिरोले खोला थुनेर बनेको तालमा स्थानीयले तुरतुरे ढुंगा सञ्चालक समिति गठन गरेका छन् । उनिहरुले सञ्चालनमा ल्याएको डुंगाका कारण त्यहाँ पुग्ने पर्यटकले पानी माथि सयर गर्न पाएका छन् तर डुङ्गा सञ्चालकहरु भने ऋणको भारीले मन पोल्ने गरेको बताउँछन् ।
गत मंसिर २ गते देखि तुरतुरेमा डुङ्गा सञ्चालनमा आएको हो । बडिगाडकै एक युवा व्यवसायीले परीक्षणको लागि काठमाण्डौदेखि ल्याएको डुङ्गा ४ लाख रुपैयाँमा समितिले खरिद गरेको थियोे । सुरुमा ऋणधन गरेर किनेको डुङ्गा सञ्चालनमा त आयो तर सञ्चालनको पाँच महिना बितिसक्दा समेत समितिसँग ऋणको भारी छ । सुरु सुरुमा तुरतुरे आउने सबै पर्यटकहरुले डुङ्गा प्रयोग गर्ने गरेको भएपनि पछिल्लो समय टाढैबाट हेरेर फर्कनेहरु धेरै आउने गरेको स्थानीय दिल बहादुर थापाले बताए । पाँच महिनाको अबधिमा २ लाख ५० हजार ऋण चुक्ता गरेको समितिको जिम्मामा अझै डेढलाख रुपैयाँ ऋण रहेको छ । तालका कारण ढोरपाटन नगरपालिका–२ का २७ परिवार प्रभावित भएका छन् ।

‘डुङ्गाको ऋण तिरेर केही बचाउन सके प्रभावितको आय आर्जनका लागि केही गरौंला भन्ने थियो’ पिडित थापाले भने ‘अर्को बर्खा लाग्न थालिसक्यो डुङ्गा किनेकै ऋण चुक्ता गर्न सकिएको छैन् ।’ पहिरो खसेको ठाउँमा केही जमिन झुण्डीएको अवस्थामा रहेकाले आउँदो बर्षातको समयमा तालमा पुनः पहिरो खसेर तालमा परिवर्तन आउन सक्ने स्थानीयको आशंका छ । तालको नजिकै मध्यपहाडी लोकमार्ग छ । दैनिक सयौं मानिसले यात्रा गर्ने भएकाले तालको छेउमा होटल रेस्टुरेन्ट चलाउन सकिने र डुंगा सयरबाट कमाइ बढाउन सकिने स्थानीय बुझाइ छ । सोचेको जस्तो आम्दानी नभएकोले ऋण भुक्तान गर्न नसकेको डुङ्गा चालक दिपक कुमालले बताए । तुरतुरेमा डुङ्गा चड्नकालागि तीन किसिमको दर रेट छ । लामो दुरीको लागि ५ सय, मध्यम दुरीको लागि २५० र छोटो दुरीको लागि १५० रुपैयाँ तोकिएको छ । यहाँ आउने पर्यटकले डुङ्गा चडेर घुम्न भन्दा धेरै डुङ्गामा बसेर तस्वीर खिचाउने मात्रै चाहना राख्ने गरेको कुमालको अनुभव छ । डुङ्गामा बसेर तस्वीर खिचेको मात्रै १० रुपैयाँ शुल्क लिने गरेको भएपनि त्यो रकमले डुङ्गाको मर्मत खर्च समेत नपुग्ने उनले गुनासो गरे ।

लाको बहाव थुनिएर ताल बनेपछि स्थानीय कुमाल समुदायको घर डुबाएको छ । उनीहरूको व्यवस्थित बसोबासको वैकल्पिक व्यवस्था भइसकेको छैन । पीडितले आफ्ना लागि बसोबासको व्यवस्था गरेपछि मात्रै तालका बारे सोच्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । तालले स्थानीय कृष्ण कुमालको घरसँगै अन्य तीन जनाको गोठ डुबाएको छ । अचानक खोला थुनिएर ताल बन्दा सयौं रोपनी जमिनका बाली नष्ट भएको थियो भने स्थानीयका पशुपंछी पनि मरेका थिए । उनिहरुको लागि व्यवस्थीत तरिकाले बसोबासको व्यवस्था र गरिखाने जमिन पुरिएकाहरुलाई आय आर्जनको माध्यम बनाउने भन्दै सञ्चालनमा आएको डुङ्गानै ऋणको संकटमा परेपछि स्थानीय चिन्तित बनेका हुन् । दैनिक ५ सय पाउनेगरी नियुक्त भएका डुङ्गा चालकहरुलाई पारिश्रमीक दिनै कठिन हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->