पोखरा,२४ चैत -‘पब्जी’ युवापुस्तामा चर्चित गेम हो । अहिले अत्याधिक युवापुस्ताहरुले यो गेम खेल्ने गर्छन् । र, यही गेमका कारण केही घटनाहरु पनि नघटेका होइनन् ।
विश्वचर्चित यो गेमलाई थिम बनाएर एउटा गीतको म्यूजिक भिडियो बनेको छ । गीत हो , ‘भेटियो, भेटियो’ । मर्कुस दास र मेलिना राईले गाएको यो गीतको भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ । गीतको भिडियोलाई रोहन नेपालीले निर्देशन गरेका हुन् ।
यो भिडियोमा रोहन आफै फिचर भएका छन् । भिडियोमा उनको अपोजिटमा मोडल नबिना देखिएकी छन् । क्रेजी सर्कल (सूर्योदय कला केन्द्र) टिमसँगको सहकार्यमा यो भिडियो निर्माण भएको हो ।
केडी एण्ड सन्सको प्रस्तुतीमा बनेको गीतको भिडियो पोखरामा खिचिएको हो । ‘अहिलेको युवापुस्तालाई लक्षित गरेरै हामीले पब्जी थिममा यो भिडियो तयार पारेका हौँ, भिडियो सार्वजनिक भएको दोस्रो दिनसम्म आईपुग्दा हामीले निकै राम्रो प्रतिक्रियाहरु पाईरहेका छौँ ।’ भिडियोका निर्देशक रोहन नेपालीले भने । मर्कुस दासको यो पहिलो रेकर्डेड गीत हो । उनी चर्चित गायक कर्ण दासका छोरा हुन् । यद्यपी उनी आफूलाई बुवाको नामबाट भन्दा पनि आफ्नै कामबाट चिनाउन चाहन्छन् ।





