बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङ कालिका र चैत्राष्टमी मेला

बागलुङ कालिका र चैत्राष्टमी मेला


  • Dhorpatan News
  • चैत्र २४ २०७५, आइतबार

बागलुङको कालिका भगवती मन्दिरमा चैत्राष्टमी मेला सुरु भएको छ । मेला आँउदो वैशाख २ गतेसम्म जारी रहने आयोजक कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । बागलुङ कालिका मन्दिर हिन्दुहरुको आस्था र विश्वासको प्रतिक मात्र हैन, बागलुङको सम्पदा पनि हो । सनातन धर्मावलम्बीहरु देवीलाई शक्तिको स्वरुपमा मान्छन् । नारी शक्तिलाई पूजा गर्ने यो सुन्दर परम्परामा बागलुङ कालिकाको झन ठूलो महत्व रहेको छ । पर्वतका राजा प्रतापी नारायण मल्लले १५९१ सालमा पाल्पाका राजा मणि मुकुन्द सेनकी छोरीसँग बिबाह गरे । बिबाहमा रानीले माझकी देवीलाई पनि दाइजोको रुपमा मागेर ल्याइन । देवीको डोली अहिले मन्दिर भएको ठाउँमा बिसाइयो । पछि डोली उठाउन सकिएन र त्यहीँ देवीको मन्दिर स्थापना गरियो ।
किंवदन्ती जे भए पनि, दाइजोमा शक्तिस्वरुपा देवी माग्नुलाई नारीशक्तिको सम्मानको रुपमा हेरिनुपर्छ । नारीशक्तिको पूजा गर्दा सबै मनोकामना पूरा हुन्छ र उनले नै सबै जगतको कल्याण गर्छिन् भन्ने मान्यतासहित बागलुङ ल्याइएकी कालिका अहिले बागलुङको पहिचान र संरक्षक बन्न पुगेकी छन् । बागलुङ अन्य धेरै हिसाबले सुन्दर र प्रख्यात रहँदारहँदै पनि कालिका मन्दिरले यसलाई धार्मिक र पर्यटकीय नगरीको रुपमा स्थापित गर्न विशेष महत्व खेल्दै आएको छ । हजारौँ भक्तजनहरु यो मन्दिरमा पुग्छन्, आफ्नो ईच्छा देवीको अगाडि राख्छन् । यसले धार्मिक पर्यटनको जग बसाएको छ । चैतेदशैँ र बडादशैँमा यहाँ विशेष पूजा हुन्छ र भक्तजनहरुको घुँइचो हुने बेला पनि यही हो ।
आस्थाको अगाडि भौतिक संरचनाले खासै महत्व राख्दैन । तर,बागलुङ कालिका मन्दिरको भौतिक संरचना पनि आफैमा सुन्दर रहेको छ । मन्दिर, मन्दिर परिसरमा रहेका ५ वटा सत्तल , मन्दिरको भित्तामा रहेका १४ वटा प्रस्थर मुर्ति यहाँको आकर्षण हो । कालिका मन्दिरको पूजा संचालन र अन्य व्यवस्थाको लागि कालिका भगवती गुठी संचालक समिति क्रियाशिल रहेको छ । अहिले यही समितिकै सक्रियतामा मेला आयोजना भएको हो । यो पटक मेलामार्फत बागलुङमा रहेका सबै पालिकाहरुको मौलिक संस्कृति संरक्षणको जमर्को पनि गरिएको छ । धार्मिक गुठीले जिल्लाकै सँस्कति संरक्षणप्रति देखाएको चासो आफैमा अनुकरणीय छ ।
बागलुङ नेपालको प्रख्यात व्यापारिक केन्द्र हो । पोखराले आफ्नो पहिचान बनाउनुअघि नै बागलुङ र बन्दिपुर चम्किसकेको थियो । बागलुङका व्यापारीहरुको पकड अहिले पनि कम भएको छैन । व्यापारिक नाकाको रुपमा प्रख्यात बागलुङलाई आधुनिक परिवेश अनुसार विकास गर्न र धार्मिक पर्यटनको केन्द्र बनाउन मेलाले सहयोग पु¥याउँछ । अहिले देशभर विभिन्न नाममा मेला र महोत्सवहरु हुँदै आएका छन् । राम्रै उदेश्यले आयोजना हुने यस्ता मेलाहरु नाफामुखी भएको आरोप पनि लाग्दै आएको छ । मेला र महोत्सवको नाममा साँस्कृति बिचलन ल्याउने,गुणस्तरहीन सामानह बेच्ने र चटकेहरुलाई उपस्थित गराएर नोट दुहुने मेला वास्तवमा मेला हुन सक्दैनन् । अब मेला र महोत्सवहरु परिस्कृत हुनैपर्छ । स्थानीय उत्पादनहरुको प्रवद्र्धन, आर्थिक सम्भावनाहरुको खोजी,मौलिक संस्कृतिको संरक्षणमा मेला÷महोत्सवहरुलाई उपयोग गर्नुपर्छ । अर्कोतर्फ,परम्परागत रुपले लाग्ने मेला र महोत्सवको मौलिकता संरक्षणमा पनि ध्यान दिनैपर्छ । हाम्रो देशका विभिन्न भागमा विभिन्न चाडबाडमा मेला हाटहरु लाग्दै आएका थिए । घरेलु सामानहरुको किनबेच तथा मनोरञ्जन प्रदान गर्ने त्यस्ता मेला र महोत्सवहरु द्धन्द्धको समयमा आयोजना हुन सकेनन् । द्धन्द्धले देशका धेरै ठाउँमा आयोजना हुने मेलाहरु हराउन पुगे । त्यसको बदलामा निजी क्षेत्र वा अन्य समूहहरुले मेला र महोत्सव आयोजना त गरे तर ती नाफामुखी बन्न पुगे । यसले मेला÷महोत्सवप्रति आम मानिसको रुचि घट्दै गयो । बागलुङ कालिका मन्दिरमा आयोजना हुने मेलाले भने आफ्नो मौलिकता जोगाएकै छ । मौलिकता जोगाउनु भनेको आधुनिकतालाई अस्वीकार गर्नु हुँदै होइन । चैतेदशैँमा आयोजना हुने यो मेला देवीको उपासनासँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यमा केन्द्रित रहेको छ । मेलाको सफलताले धार्मिक पर्यटन प्रवद्र्धन र गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई पनि मद्धत पु¥याउनेछ । आयोजकलाई मेला सफलताको हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->