बागलुङ, २६ चैत – बागलुङ नगरपालिका–९ कुमालडाँडाकी उमावती मगर हरेक दिन बिहान बानपा–९ तित्याङमा रहेको मनकामनाको ओरालोमा भेटिन्छिन् । उमेर ६८ बर्षकी मगरको दैनिकी दुध बोकेरै चलेको छ । बिहान उज्यालो हुँदा डोकोभरि दुध बोकेर बागलुङ बजार नझरे भने उनको सानो परिवारको चुल्हो बल्दैन् । गाउँका किसानले उत्पादन गरेको दुध संकलन गरेर उमावतीले बागलुङ बजारका उपभोक्ताको घर–घरमा पु¥याउने गरेकी छिन् । उनले ठुलो सिल्टेको भाँडोमा जम्मा भएको दुध बजारमा रहेको एक डेरीमा पु¥याउनु पर्ने हुन्छ भने प्लाष्टिकका बोतलमा राखिएको अरु दुध बजारका उपभोक्ताको घर घरमा पु¥याउनु पर्ने हुन्छ ।
बढ्यौली बिसाउने बेलामा दैनिकी चलाउनकै लागि डोकोभरि दुध बोकेर दैनिक ३ घण्टाको पैदल यात्रा उकाली–ओराली गर्नु उनको बाध्यता हो । दश बर्ष भयो उमावतीले दुध बोक्न थालेको । परिवारमा ८१ बर्षका श्रीमान छन् । सन्तानका नाममा रहेकी एक मात्र छोरीको बिबाहपछि उमावतीलाई सहयोग गर्ने कोही पनि छैनन् । दुध बोकेर उमावतीले प्रतिलिटर ६ रुपैयाँ पारिश्रमीक पाउने गरेकी छिन् । त्यहीँ पैसाले आफ्नो जिवीका चलाईरहेको उनी बताउँछिन् । ‘अरु काम खोजौं भने पनि काम केही पाईएन, खर्च चलाउनका लागि दुध बोकेर कमाएको पैसाले पु¥याएकी छुु’ मगरले भनिन् ‘सहारा दिने कोही छैन्, उमेरले डाँडा काटेका बुढा र आफ्नो पेट पाल्न दुःख गरेकी छु ।’ जीवन चलाउनका लागि कर्म गर्नैपर्छ तर उमेर अनुसारको कर्म नपाएकोमा उमावतीलाई बैराग लाग्ने गरेको छ । हरेक दिनको बिहान दुध बोकेर काट्ने उनले दिउँसो र साँझको समयमा भने खेतीपाती र घरगोठको काम गर्ने गरेकी छिन् । थोरै जमिनमा परम्परागत हिसाबले खेती लगाउने, घाँसपात गर्ने र गोठमा भैंसी पालेको उनले बताईन् । ‘खेतीले मात्रै खान पुग्दैन, दिन दिनैका अनेक खर्च कसरी जुटाउने’ उमावतीले भनिन् ‘बाँच्नका लागि संघर्ष गरिरहेकी छु ।’
चैत बैशाखमा गाउँका चार पाँच घरका किसानले उत्पादन गरेको दुध र आफ्नो घरमा पालेको भैंसीको दुध बोक्ने उनले बर्षातको समयमा भने अझै धेरै दुध बोक्ने गरेकी छिन् । गाउँलेको दुध बोकेर बजार आउँदा आफ्नो घरको दुध पनि बेच्न पाएकाले उनलाई थप आम्दानी गर्न सहज हुने गरेको छ । उमेरले ७० ताके पनि उमावतीले अझै पनि दैनिकी ३० देखि ३५ लिटरसम्म दुध बोक्ने गरेकी छिन् । ‘हिउँदको सुख्खा सिजनमा दुध कम हुने भएकाले अली थोरै बोक्छु’ उनले भनिन् ‘दुधको सिजनमा दैनिक ३५ लिटरसम्म बोक्नुपर्छ ।’ बर्खे झरीको समय होस् वा चैत बैशाखको गर्मी उमावतीको दैनिकी चलाउनका लागि दुध नबोकी हुँदैन् । ‘अर्काले गर्देला भन्नु छैन्, दुध बोकेर बजार नझरे चार पैसो कतैबाट मिल्दैन’ उमावती भन्छिन् ‘बुढाको स्यारसुसार र बिरामी हुँदाको खर्चको जोहो गर्न पनि मलाई दुध बोक्ने बाध्यता छ ।’ लिटरका हिसाले पारिश्रमीक पाउने भएकाले बर्षात्को समयमा अलि धेरै र हिउँदको समयमा अलिक कम आम्दानी हुने गरेको उनले बताईन् । अहिले महिना मर्दाको पारिश्रमीक ३ हजारदेखि ४ हजारसम्म मात्रै हुने भएपनि आफ्नो खर्च चलाउन सहजनै भैरहेको छ ।





