पोखरा, ५ वैशाख -प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले बुधबारदेखि अनिवार्य अवकाश पाए । भदौ १४ देखि प्रदेश प्रमुख सचिवमा कार्यरत पौडेल उमेरहदका कारण अवकाश पाउने उनी प्रदेशको पहिलो कर्मचारी पनि हुन् । बुधबारको मन्त्रीपरिषद् बैठकले उनलाई स–धन्यवादसहित बिदाई पनि ग¥यो । पौडेल सहित चालु आर्थिक वर्षमा २ वटा प्रदेश प्रमुख सचिव फेरिइसके ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा २ जना सचिव लालमणि ओझा र विष्णु ढकालको महिनौँ अघि नै सरुवा भएको हो । त्यहाँका कानून सचिव धर्मराज कुईंकेलको ठाउँमा दलबहादुर अधिकारी आएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको पनि सरुवा भएको छ । शुक्रबारदेखि उनी कार्यालयमा हाजिर हुने छैनन् । उनको ठाउँमा अर्को सचिव आउने भनिएको छ, तर कहिले आउँछन् त्यो भने थाहा छैन् ।
प्रदेशसभा सचिवालयका सचिव शम्भु बहादुर खड्का समायोजनका कारण मुस्लिम आयोगमा खटिए । भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालयमा ३ पटक, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधारमा पनि सचिवहरु फेरिईसकेका छन् ।
प्रदेश प्रमुख सचिवदेखि मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय र प्रदेशसभा सचिवालयमा समेत सचिवहरुको पदपूर्ति भएको छैन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रदेशमा २६ जना उपसचिवको दरबन्दी छ । तर, कार्यरत चाहिँ ३ जना मात्र छन् ।
‘पहिले बल्लबल्ल कर्मचारी आएका थिए, समायोजनका कारण ती गए, यहाँ खटिएका कहिले आउँछन्, थाहा छैन्, आएपछि यहाँको वस्तुस्थिती बुझ्नुप¥यो त्यहीँ समय लाग्छ’ सरकारका प्रवक्ता रामशरण बस्नेतले भने, ‘हामीले पौषदेखि नै विकास निर्माण काम गर्ने भनेका थियौँ, समायोजनका कारण अहिलेसम्म कर्मचारीको टुंगो लागेको छैन्, समग्र प्रदेश नै प्रभावित भएको छ ।’
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रदेशमा समग्रमा २ हजार १ सयको संख्यामा कर्मचारी चाहिन्छन् । कर्मचारीको विवरण सामान्य प्रशासन मन्त्रालयमा पठाएको पनि हो, तर कति मात्रामा कर्मचारी आए भन्ने तथ्य चाहिँ यकिन छैन् ।
सबैभन्दा बढि बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पनि पर्याप्त कर्मचारी नभएको मन्त्री बस्नेतको भनाई छ । ‘केही आउनुभएको छ, आउँदै पनि हुनुहुन्छ होला, विकास निर्माणका कार्य प्रभावित हुनुमा कर्मचारी अभाव पनि हो ।’ उनले भने ।





