मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

‘रिहाई सत्यको जीत’

‘रिहाई सत्यको जीत’


  • बालकृष्ण सुबेदी
  • बैशाख ६ २०७६, शुक्रबार

पोखरा ,६ बैशाख -पत्रकार अर्जुन गिरिले आफ्नो रिहाईलाई ‘सत्यको जीत’ भएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गिरिले प्रेस काउन्सिलका कर्मचारी ,प्रहरीदेखि नेताहरुको शक्तिको आडमा बिपिन बतासले चालेको कदम असफल बनाउन सहयोग गर्ने सम्पूर्ण पत्रकारलाई धन्यबाद दिए । ‘साइबर अपराधको मुद्दा गम्भीर हो ,पैसा र पावरवालाले फसाउन लागेका थिए ,अग्रज पत्रकार र पत्रकार महासंघ कास्की लगायतको अन्य शाखाको आन्दोलनको दबाब उनीहरुको योजना असफल भयो’, उनले भने,‘ प्रेस काउन्सिलको भूमिका गैरजिम्मेवार र शंकास्पद देखियो ।’ सत्य तथ्य र पत्रकारीताको मर्म अनुसार निरन्तर कलम चलाउने उनले बताए ।
कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले बिद्युतीय कारोबार ऐन लागू भएपछि हाल सम्म २८ ओटा मुद्दा दर्ता भएकोमा सामान्य तारिखमा रिहा भएको यो पहिलो घटना भएको जनाउदै पत्रकारको ऐक्यबद्दताले सफल भएको बताए । प्रेस काउन्सिलको लापरवाहीको बारेमा छानबिनको लागि केन्द्रीय समितिले कुनै कदम बाँकी नराख्ने बताए । कार्यक्रममा बोल्दै महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखराबाट सुरु भएको आन्दोलनले राज्य ,केन्द्रीय अनुसन्धान ब्यूरो र सरकारी वकिललाई झस्काएको बताए । अर्जुन गिरीको रिहाईको आन्दोलन समाप्त भएपनि प्रेस काउन्सिलका सुरेन्द्र मल्ललाई कारबाही र विद्युतीय कारोबार ऐनको धारा ४७ र ४८ खारेजीको माग सहितको आन्दोलन जारी रहने बताए ।
विहीबार रिहा भएर शुक्रबार पोखरा आएका गिरीलाई पत्रकारहरुले बिमानस्थल नै पुगेर स्वागत गरेका थिए ।
गिरीले गत चैत २२ गते शुक्रबार ताण्डब न्युजमा बतासकोरबारेमा समाचार लेखेका थिए । पोखराका ब्यवसायिहरु जनकराज पहारी र मनोज श्रेष्ठ जिप्रका कास्कीमा जाहेरी दिन पुगेको बेला उनीहरु दुबैलाई उधृत गर्दै गिरीले समाचार लेखेका थिए । त्यही समाचार लेखेको भन्दै बतासले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा गिरीविरूद्ध साइबर अपराधको मुद्दा हालेका थिए । त्यही मुद्दाका आधारमा सम्पादक गिरीलाई २ वैशाखमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->