मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गण्डकी प्रदेश : २ दलद्वारा संसद बैठक बहिष्कार

गण्डकी प्रदेश : २ दलद्वारा संसद बैठक बहिष्कार


  • Dhorpatan News
  • बैशाख ७ २०७६, शनिबार

पोखरा, ७ वैशाख – गण्डकी प्रदेशसभाको शुक्रबारको बैठक २ वटा दलले बहिष्कार गरेका छन् । सभामुखले अधिकार दुरुपयोग गरेको आरोप लगाउँदै प्रतिपक्षी दल नयाँ शक्ति पार्टी नेपाल र सरकारको समर्थन सहित प्रतिपक्षमा बसेको राष्ट्रिय जनमोर्चाले सदन नै बहिष्कार गरेका हुन् ।
संसदको सबैभन्दा सानो दल नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले सभामुखले अधिकार दुरुपयोग गरेको आरोप लगाए । ‘हामीलाई कम्तीमा पनि २४ घण्टा अगाडि सूचना आउनुपथ्र्यो, कुनै विशेष अवस्था पनि थिएन, सभामुखले जति बेला चाह्यो त्यतिबेला बोलाउने, अधिकारको दुरुपयोग गर्ने ?’ उनले प्रश्न गरे, ‘अनौपचारिक रुपमा भएतापनि दलका नेतालाई सूचित गर्नुपथ्र्यो, यस्तो हुँदैछ भनेर अनौपचारिक जानकारी गराउनुपथ्र्यो, यो सबै सभामुखको गम्भीर कमजोरी हो ।’
२ घण्टाको बिचमा बैठक राख्दा हेलिकप्टर भएको सांसद मात्र आउन सक्ने उनले प्रतिक्रिया दिए । ‘संसदको व्यवस्थापकीय कमजोरी हो, म सार्वजनिक ठाउँमा नि भन्न सक्छु, यसले सभामुखको अपरिपक्वता झल्काउँछ ।’
सदनमा अर्को प्रतिपक्षी दल राष्ट्रिय जनमोर्चाको पनि शून्य उपस्थिती रह्यो । उक्त पार्टीका सांसद तथा प्रदेश मामिला समितिका सभापति कृष्ण थापाले भने, ‘११ः४५ मा म्यासेज आएको थियो, ३ बजे आउन सक्ने अवस्था थिएन, म आफ्नो निर्वाचन क्षेत्र आएको थिएँ, सल्लाह नगरिकिन सभामुखले बैठक बोलाउनु भनेको हामीलाई महत्व नदिएर होला ।’
सदन प्रतिपक्षको भन्ने गरेतापनि सभामुखले बेवास्ता गरेको आरोपन उनको छ । ‘उहाँहरुले दम्भ देखाउन खोज्नु भएको होला ।’ थापाले भने ।
यता सभामुख नेत्रनाथ अधिकारीले चाहिँ सबै सांसदहरुलाई एकैपटक खबर गरिएको बताएका छन् । ‘सदन हुन्छ कि हुन्न भन्ने निश्चित थिएन, पछि विधायन समितिले विधेयकमाथिको छलफल टुंग्याउने र प्रतिवेदन दिने भनेपछि सदन चल्ने निश्चित भयो, अनि सबैलाई खबर गरेका हौँ’ उनले भने, ‘समितिले प्रतिवेदन जहिले टुंग्याउँछ त्यहिले नै बैठक बस्ने कुरा भएको थियो ।’
तर, प्रतिपक्षी दलको चाहिँ सभामुखले अधिकारको दुरुपयोग गर्नुभयो भन्ने आरोप छ नि भन्ने प्रश्नमा उनले भने, ‘विरोध गर्ने दलका नेताहरु कार्यव्यवस्था समितिमा हुनुहुन्छ, कार्यव्यवस्था समितिले नै यसअघि पनि समितिको प्रतिवेदन आएपछि बैठक बस्ने भन्ने निर्णय गरेको थियो । ’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->