पोखरा, ९ वैशाख-प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशलाई समृद्ध बनाएरै छाड्ने प्रतिबद्धता दोहो¥याएका छन् । आईतबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सबैको साथ लिएर प्रदेशलाई समृद्ध बनाईछाड्ने उद्घोष गरे ।
चालु आर्थिक वर्षमा सरकारले अपेक्षाकृत काम गर्न नसकेतापनि जग भने बसाल्न सफल रहेको उनको भनाई छ । अझैपनि कर्मचारी अभाव, कर्मचारी अभावका कारण समयमै कार्यविधीहरु बनाउन नसकिएको हुँदा विकास निर्माणको कार्य सोचे अनुरुप हुन नसकेको उनले बताए ।
‘अन्तर प्रदेश परिषदको बैठकमा भएको सहमति अहिलेसम्म पनि कार्यान्वयन भएको छैन, पौषभित्रै कर्मचारी समायोजन सकिने भनिएको थियो, तर अहिलेसम्म पनि कर्मचारी समायोजन भईसकेको छैन, मैले निरन्तर यो कुरा उठाउँदै आईरहेको छु,’ उनले भने, ‘नयाँ व्यवस्थामा मन्त्री र कर्मचारी पनि अनुभवहीन हुँदा कसरी काम गर्ने भन्नेमा अन्योल पनि छ, यति पिडा होला भन्ने मैले सोचेको थिइन् ।’
यस्तै, उनले यो वर्षमा सरकारले २४ वटा कार्यविधी पारित गरेको र १४३ कार्यविधी बनाएको जानकारी दिए । ऐन र कानून निर्माणमा पनि बढि समय लागेका कारण विकास निर्माणले गति लिन समय लागेको उनको भनाई थियो ।
यस्तै, सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ८० प्रतिशत बजेट खर्चने उनले बताए ।
‘एक महिना अघि जम्मा ४ प्रतिशतमात्र बजेट खर्च भएको थियो, यो महिनामा २० प्रतिशत जति पुगेको छ, डिपिआर, सार्वजनिक खरिद ऐनको झन्झटिलो प्रक्रिया पनि निर्माणकार्यको बाधक बनेको छ’ उनले थपे, ‘२०६३ मा ल्याईएको ऐन पनि ५० वर्ष अघिको जस्तो छ, ३५ दिन लाग्ने काम अहिले ३५ सेकेण्डमा हुन्छ, यो ऐनले भाँजो हालेको छ, यद्यपी हामी हचुवाको भरमा काम गर्दैनौँ, थुपै्र योजनाहरु डिपिआरको चरणमा छन्, हामीले यसको अन्त्यसम्ममा ८० प्रतिशत बजेट खर्च गर्न सक्छौँ ।’
यसबाहेक, सडक, विद्युत, खाने पानी लगायतका क्षेत्रमा पनि सरकारले कार्य गरिरहेको उनले जनाए ।





