बागलुङ, १८ वैशाख – बडिगाड गाँउपालिका ५ ग्वालिचौरको पौदिटारी आधारभुत विद्यालय यस क्षेत्रको नमूना सामुदायिक बिद्यालयको रुपमा उदाएको छ । २०३१ सालमा स्थापना भएको विद्यालयमा २०६९ सालमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ । स्थानीय युवा रामबहादुर कुँवरको संयोजकत्वमा अंग्रेजी माध्यम सञ्चालक समिती गठन गरी नर्सरीदेखि एलकेजी, युकेजीगर्दै कक्षा आठसम्म नै अंग्रेजी माध्यमबाट पठनपाठन चल्दै आइरहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमलाल खरेलले बताए ।
विद्यालयमा शिक्षक ,बिद्यार्थी र अभिभावकको समन्वयमा बिद्यार्थीहरुले नै कक्षाकोठा भित्र प्रत्येक दिन प्रत्येक पिरियडको शिक्षक उपस्थित भएको समय र शिक्षक कक्षाकोठाबाट बाहिरिएको समय सहित हाजिरी गर्ने गरेका छन । उक्त हाजिरी शिक्षक विद्यार्थी र अभिभावक उपस्थित बैठकमा बिद्यार्थीहरु नै प्रस्तुत गर्ने गरेका छन । यसरी शिक्षकको हाजिरी विद्यार्थीले गर्दा शिक्षक आफ्नो जिम्मेवारीप्रति सचेत र जवाफदेही भई गुणस्तरीय शिक्षा दिने अभियानमा सहजता भएको र शैक्षिक गुणस्तर बढेको विद्यालयका प्रधानाध्यापक टीका भुजेलले बताए ।
निजि बिद्यालयमा विद्यार्थीहरु अंग्रेजी बिषयमा राम्रो भए पनि नेपाली बिषयमा पास गर्न धौधौ हुने देखिए पनि पौदिटारीमा भने विद्यार्थीहरु सवै बिषयमा राम्रो भएको अभिभावकहरु बताउँछन् । 
विद्यालयले बिद्यार्थीहरुलाई प्रबिधीतर्फ पनि केन्द्रित गरेको छ । उक्त विद्यालयमा नर्सरी ,एलकेजी युएकेजीका कक्षाहरुमा समूह बिभाजन गरी एउटा कक्षामा कम्तिमा दुई जना शिक्षकले मन्टेश्वरी बिधिबाट पढाउने गरेको विद्यालयले जनाएको छ । विद्यालयमा बिज्ञान प्रयोगशाला ,ब्यवस्थित कम्प्युटर शिक्षा,विद्यार्थी केन्द्रित शिक्षण विधि लगायतका कुराहरुमा सूक्ष्म तरिकाले ध्यान पु¥याइएको अंग्रजी माध्यम सञ्चालक समितीका संयोजक रामबहादुर कुँवरले जानकारी दिए । पठनपाठन ब्यवस्थित गर्नकोलागि विद्युतीय स्वचालित घन्टी र सिसिटिभी जडान गरिएको छ ।
यस शैक्षिक सत्रमा ‘नयाँ शैक्षिक सत्र ,गुणस्तरीय शिक्षा को वर्ष’ भन्ने मुलनाराका साथ अगाडि बढेको उक्त विद्यालयमा दरबन्दी कम हुँदा समस्या परेको बिद्यालयले जनाएको छ । दुई सय पचासभन्दा बढी बिद्यार्थी रहेको उक्त बिद्यालयमा पाँच जना प्रावि दरबन्दी र २ जना राहत शिक्षक रहेका छन । समुदायको सहयोगमा सात जना निजी श्रोतबाट शिक्षकहरु राखेको धानाध्यापक टीका भुजेलले बताए ।





