मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गुठी जग्गा अतिक्रमण गरेर व्यक्तिको रजाइँ

गुठी जग्गा अतिक्रमण गरेर व्यक्तिको रजाइँ


  • ध्रुबसागर शर्मा
  • बैशाख २१ २०७६, शनिबार

म्याग्दी,२१ बैशाख –  म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटमा अवस्थित ऐतिहाँसिक कोत (खड्ग भवानी) को गुठी अतिक्रमणमा परेको छ । ज्यामरुककोटको बगरफाँटमा रहेको दुर्गा भवानी गुठी भनिने सो गुठी यहाँको ज्यामरुककोट बगरफाँटमा रहेको छ ।

तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली थुम (कमाइ खानु भनेर विर्तामा दिएको राज्य) ज्यामरुककोटका अन्तिम राजा भर्तिवम मल्लको अन्त्यपछि खड्गभवानी कोतको नाममा रहेको थियो । गुठीको नाममा १२ रोपनी ६ आना क्षेत्रफल जग्गा रहेको थियो ।, अहिले त्यो गुठीको करिब ३ रोपनी जग्गा अतिक्रमण भएको हो । दुर्गा भवानी गुठी जग्गाको साँधमा रहेका सँधियारहरुले जग्गा अतिक्रमण गरेर मनलाग्दी गर्दै आएका स्थानीयले आरोप लगाएका छन् । केही दिनअघि मात्र बगरफाँटका नरबहादुर कार्कीले गुठी जग्गाको रुख आफ्नो हो भन्दै काटेको पनि स्थानीयको गुनासो छ ।
जग्गा अतिक्रमण भएको बारेमा पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सम्बन्धित निकाय मौन रहेको गुठीयारहरुले बताएका छन् । खड्ग भवानी कोतको नाममा जग्गा धनी प्रमाण पूर्जा रहेको करिव ३३ रोपनी जग्गामध्ये २० रोपनी जग्गा ज्यामरुककोटको भकुण्डे क्षेत्रमा र १२ रोपनी ६ आना जग्गा बगरफाँटको कुरुङदीमा रहेको खड्ग भवानी कोत पूजा एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।
‘गुठी जग्गा अतिक्रमण भएको भन्ने गुनासो आएको छ, वडाध्यक्षसहित समितिका पदाधिकारीहरु गएर एक पटक निरिक्षण पनि गरेको हो’ अध्यक्ष घिमिरेले भने, ‘अब छिट्टै नापी लगेर के कति अतिक्रमण भएको छ वा छैन नाप जाँच गर्नेछु ।’ अध्यक्ष घिमिरेले धेरै पटक नापी लगेर जग्गा नापजाँच गर्ने बताउँदै आएपनि अहिलेसम्म गुठी जग्गाको बारेमा कुनै चासो लिइएको छैन ।
सापकोटा थरका ब्राह्मणहरुले पुस्तौदेखि भोगचलन गर्दै आएको सो गुठी जग्गा पछिल्लो समयमा आएर अतिक्रमण, पहिरो र बाटोका कारण घट्दै गएको गुठीयार गोविन्दप्रसाद शर्माले बताए । खड्गभवानी कोतमा सापकोटा थरका ब्राह्मणहरु नै पुजारी हुनुपर्ने मान्यता अनुसार पुस्तौँदेखि सो कोतमा दशैंका दश दिनसम्म सापकोटा ब्राह्मणबाट पूजाआजा हुने गर्छ । यसैगरी चैतेदशैं, नागपञ्चमी, साउने संक्रान्ति लगायतका पर्वहरुमा पनि सापकोटा गुठीयारहरुले पूजाआजा गर्दै आएका छन् ।
पुस्तौंदेखि खड्गभवानी कोतमा पूजाआजा गर्दै आएका ब्राह्मणका अतिरिक्त घर्ती र थापा थरका क्षेत्रीहरुले पनि गुठी जग्गाको भोगचलन गर्दै आएका छन् । गुठीयारहरुले गुठी जग्गाको भोगचलन गरेबापत आ–आफ्नो जिम्मेवारीको काम गर्नुका साथै कोतपूजा तथा गुठी व्यवस्थापन समितिलाई निर्धारित शुल्क समेत बुझाउनु पर्ने अर्का गुठीयार कृष्णबहादुर घर्तीको भनाई छ ।
चार–पाँच पुस्तादेखि भोगचलन गर्दै आएपनि गुठीयारहरुलाई जग्गाको कुनै पनि कागजात दिइएको छैन् । बरु गुठी व्यवस्थापन समिति र जनप्रतिनिधिबाट गुठीयारहरुलाई विभिन्न बहानामा दुःख दिने काम हुँदै आएको उनीहरुको गुनासो छ । केही समयअघि गुठीयारले हुर्काएका र संरक्षण गरेका टुनीका रुख काट्दा वडाध्यक्ष लगायत गुठी व्यवस्थापन समितिका अध्यक्षले गुठीयार धु्रव शर्मालाई अनावश्यक दुःख दिएको पीडितको भनाई रहेको छ ।
देव गुठीअन्तर्गत दर्ता रहेको सो जग्गा किनबेच गर्न नमिल्ने भएका कारण समस्या उत्पन्न भएको समितिका अध्यक्ष घिमिरेले बताएका छन् । गुठीयारहरुले नै संरक्षण र प्रयोग गर्दै आएको सो जग्गा अतिक्रमण हुने क्रम बढ्दै गएपछि उनीहरुले बेनपा २ का वडा अध्यक्ष हिराबहादुर थापा र गुठी व्यवस्थापन समितिका अध्यक्ष घिमिरेलाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको जिकिर गरे । वडाध्यक्ष थापाले गुठी व्यवस्थापन समितिले जग्गाको प्रमाण पूर्जासहित वडा कार्यालयमा निवेदन दिए प्रक्रिया अघि बढाउन सहज हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->