मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

साहसले बाँचेको जीवन

साहसले बाँचेको जीवन

‘चटपट बेचेर डायलायसिस’


  • तारानाथ आचार्य
  • बैशाख २१ २०७६, शनिबार

बागलुङ, २१ बैशाख- बागलुङ–पोखरा राजमार्गको मध्यभागमा पर्ने लुम्लेमा चिया, नास्ता र खानाका लागि बिसाएका सवारी र यात्रुले देख्ने अनुहार हो– ‘गोलमान गुरुङ’ । कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेको सडक छेवैमा रहेको ‘गुरुङ खाजा घर’को देब्रेपट्टि गुरुङले चनाचटपट बेच्न थालेको धेरै भएको छैन् ।
खाजा, खाना र चियाको लागि बिसौनी बनेका लुम्लेका कयौं साना होटल तथा रेष्टुँरामध्यको एक गुरुङ खाजा घरको छेवैमा गोलमालले चनाचटपट र पानीपुरी बेच्ने गरेका छन । सवारीमा सवार कतिपयले खट्टोपिरो, अमिलो खोज्ने भएकाले गुरुङले रेष्टुरेण्टको छेवैमा चनाचटपट बेच्दै आएका हुन। सडकमा गुडिरहेका गाडीमा सवारी यात्रीलाई लक्षित गरेर ५९ बर्षिय गुरुङले चनाचटपट भन्दै कराउँछन। कतिपयले आवश्यकताले त कतिपयले एक बृद्धले कराईरहेको देखेर सहानुभुती राख्दै चनाचटपट खान पुग्छन् । बेला बेलामा ठट्टा गर्ने, लोकशैली गीत गुनगुनाउने र समसामयिक राजनीतिका कुरा गर्ने गुरुङले उहाँको नजिक पुगेका ग्राहकलाई केही बेर भुलाउँछन र  चनाचटपटको व्यापार गर्छन ।
बजारबाट ल्याएको चाउचाउ, गाउँकै खुर्सानी, अमिलो, लसुन, प्याज लगायतका समाग्रीको मिश्रण गरेर बनेको चटपट खाने यात्रुहरुले मुख मिठाएर गुरुङको चटपटको मुल्य तिर्छन् र खुसीहुँदै फर्किन्छन् । एकजना बृद्ध मानिसले सडक छेउमा कराईकराई के–का लागि चटपट बेचिरहका छन् ? यदि कसैले सोध्यो भने यसमा प्रसस्त फाईदा छ र सम्पत्ति जोड्नका लागि उसले यसो गरिरहेका छन् । जफाव यहिँ हो । उमेरले तिन बिस काट्नै लागेका बृद्धको हेरचाह गर्ने वा दैनिकी गुजार्नका लागि सहयोग गर्ने सन्तान होलान तर पनि कमाउने चेष्टाले छोडेको छैन भन्नेहरु पनि छन् । तर सडक छेउमा दिनभर कराउने उनको कथा र व्यथा भने बेग्लै छ ।
६ बर्ष पहिला दुवै मृगौलाले काम गर्न छोडेपछि कयौं ठाउँमा उपचार गराएर थाकेका  गुरुङले अहिले हप्तामा दुई पटक डायलायसिस गर्नुपर्छ । उमेरमा कमाएको पैसा र पैत्रिक सम्पत्ति समेत उपचारमा खर्च भएपछि अहिले अस्पताल जाने गाडी भाडा जुटाउनका लागि उनले चटपटको व्यापार गर्दै आएका हुन ।

दुबै मृगौलाले काम गर्न छोडेकाले देशका ठुला शहरमा पुगेर नाम चलेका अस्पतालमा उपचार गराउँदा सबै सम्पत्ति सकिए पनि गुरुङले हिम्मत भने पटक्कै हारेका छैनन। नियमित डायलायसिस गर्न चिकित्सकले भनेकाले सातामा दुईपटकउनी अस्पताल पुग्छन। अस्पतालमा लाग्ने शुल्क सरकारले निशुल्क गरेको भएपनि हरेक साता लुम्लेबाट पोखरा पुग्ने र यातायात खर्च उनीआँफैले जुटाउनु पर्छ । पोखराको गण्डकी अस्पतालमा डायलायसिस गराउने उनले यातायात खर्च, पोखराको बसाईमा लाग्ने खर्च र सामान्य घर खर्च चनाचटपटको व्यापारबाट नै जुटाउने गरेका छन । ‘भारी बोक्न सक्दिन, गह्रौं काम केही गर्न हुँदैन्’ गुरुङले भने ‘खर्च जुटाउनकै लागि सडकको छेउमा बसेको छु ।’

बिरामी परेर शरीर कमजोर र लाखौंको सम्पत्ति सकिँदा पनि हिम्मत नहारेको उनको भनाई छ । ‘आँट्नु पर्छ केही न केही गरेर जिवनगुजारा चल्छ’ गुरुङ भन्छन– ‘६ बर्षदेखि उपचार गराईरहेको छु, जसोतसो चलेकै छ ।’ मृगौलाको उपचार महंगो हुने भएपनि पहिले दाजुभाईको सहयोग र अहिले चनाचटपटको व्यापारले आँफुलाई सहज बनाएको उनि बताउछन ।
सामान्य परिवारका गुरुङको परिवारमा श्रीमतीसहित ३ सन्तान छन् । दुई छोरी र एक छोराले बिद्यालय तहको अध्ययन गरिरहेकाले खर्च जुटान सहयोग गर्ने अरु कोही नभएको उनको गुनासो थियो । बिद्यालय बिदा भएको बेला छोराछोरीले चटपटको ब्यापारमा सघाउने गरेको उनले सुनाए । ‘खर्च कटाएर महिनामा पन्ध्र बिस हजार बचाउने गरेको छु’ उनि भन्छन ‘प्राण धान्ने उपाय बनेको छ चटपट ।’
उनि बिरामी हुनुपूर्व खेती किसानीको काम गर्थे । पुर्खाले आर्जेको जमिनमा खेती किसानी गरेर दैनिकी चलेकै बेला जिवनमा बज्रपात आईलागे पनि आँफुले हिम्मत नहारेको उनले बताए । छिमेकी र दाजुभाईको सहयोगले पहिलो चरणको उपचारमा सघाएको भएपनि राज्यका तहबाट कुनै सहयोग नपाएको उनको गुनासो थियो । ‘मेसिनको शुल्क त तिर्नुपर्दैन तर अस्पताल जाने आउने कसरी गर्नु, हामी जस्ता पीडितको पहिचान गरी सरकारले सुविधा दिनुपर्ने हो ।’ गुरुङले भने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->