पोखरा,२४ बैशाख – गत सालको असोजतिर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बोलीले एउटा बहसको सिर्जना ग¥यो । मुख्यमन्त्री गुरुङले नै बहस हुनुपर्नेमा जोड दिएका थिए ।
‘अवैध रुपमा यौन व्यवसायले पोखरालाई बदनाम गरिरहेको छ । यसलाई व्यवस्थित गर्नको लागि रेडलाइट एरिया तोक्ने र व्यवस्थापन गर्न बहस आवश्यक छ’ उनको भनाई थियो ।
तर, त्यतिबेला बहस आवश्यक छ भनेका मुख्यमन्त्रीलाई प्रदेश देखि संघीय संसदका महिला सांसदहरुले विरोध गरे, राजीनामा पनि माग्न भ्याए ।पछि यो कुरा यत्तिकै सेलायो ।
तर, यही सातादेखि ईन्जोय जोनको नाममा मुख्यमन्त्रीले त्यतिबेला गरेको बहसको चर्चा चुलिएको छ । ‘ईन्जोय जोन’ बनाउने र यसले पर्यटनको एउटा उत्पादन थप्ने उद्धेश्यले यसलाई पर्यटन मन्त्रालयले योजनाकै रुपमा अगाडि सारेको छ ।प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले ‘रेडलाईट एरिया’ नभई ‘ईन्जोय जोन’ बनाउन लागिएको बताए । लम्सालका अनुसार २४ घण्टा नै खुल्ने एउटा निश्चित क्षेत्रको व्यवस्थापन गरि त्यसलाई ‘ईन्जोय जोन’ को रुपमा व्यवस्थापन गरिनेछ ।
‘विश्वमा नै पर्यटकीय क्षेत्रमा २४ सै घण्टा खुल्ने केही निश्चित ठाउँहरु तोकिएको हुन्छ, हामीले पनि त्यही गर्न लागेका हौँ, हाम्रो पर्यटकीय क्षेत्र पोखरा पनि १२ बजे बन्द हुन्छ, फेवा किनारमा प्रहरीले ९ बजेपछि जान दिँदैन्’ उनले थपे, ‘२४ घण्टा नै खोल्ने र मनोरञ्जन लिन पाउनेगरि सरकारले यो योजना ल्याएको हो, हामीले छिट्टै डिपिआरको प्रक्रिया अगाडि बढाउँदैछौँ ।’
उक्त क्षेत्रमा कानूनले वर्जित गरे बाहेकका सबै सेवासुविधा उपलब्ध हुनेछन् । ‘केके सुविधा पाईन्छ भन्नेमा जानुभन्दा पनि कानूनले दिएका सबै कुरा उपलब्ध हुनेछन्,’ उनले भने, ‘मान्छेले कसरी मनोरञ्जन लिन चाहान्छ, ती सुविधा त्यहाँ उपलब्ध हुन्छन् ।’
पर्यटन मन्त्रालयले तयार पार्दै गरेको सय योजनाको सूचीमा ‘ईन्जोय जोन’ लाई पनि समेटिएको छ । सय योजनाहरु भने तयारीमा रहेको मन्त्री लम्सालले जनाए ।चर्चामा आएको यो योजनाको जिम्मा सरकारले नीजि क्षेत्रलाई जिम्मा दिनेछ ।‘पर्यटनको उत्पादन बढाउन यसले सहयोग गर्नेछ, हामीले सन्, २०२२ सम्ममा २० लाखय पर्यटक भित्र्याउने भनेका छौँ’ लम्सालले भने, ‘सरकारको सोही लक्ष्यलाई पुरा गर्न यो योजना ल्याईएको हो ।’
रेडलाईट एरिया होईन, तर सुविधा सबै हुन्छ
यो रेडलाईट एरियाको अर्को नाम त होईन ? भन्ने प्रश्नमा मन्त्रीको जवाफ थियो, होईन । तर, रेडलाईट एरियामा पाईने प्राय सुविधा भने त्यहाँ उपलब्ध हुनेछन् ।
‘व्यक्तिले कसरी मनोरञ्जन लिन्छ भन्ने कुरामा निर्भर हुन्छ,’ उनको भनाई थियो ।मनोरञ्जनमा खाने, बस्ने, सुत्ने सहित यौनजन्य क्रियाकलाप लगायत मनोरञ्जनात्मक सबै कुरा खुल्ला हुन्छ ।
इञ्जोय जोनमा गइसकेपछि पर्यटकले चाहेको सबै आनन्द र स्वाद लिन पाउने खालको बनाइने मन्त्री लम्सालले स्पष्ट पारे । जसमा खाना, खाजा, खेल्ने, रमाउने, स्विमिङ, क्यासिनोदेखी ज्याकोजीसम्म हुनेछ ।
अहिले लेकसाईडका होटेल राती १२ बजे बन्द हुन्छन् । महेन्द्रपुल क्षेत्रतर्फ त ११ नबज्दै प्रहरीहरु होटेल, रेष्टुराँ बन्द गर्न पुगिसकेका हुन्छन् ।फेवाताल किनारको फुटट्रयाकमा ९ बजेपछि प्रहरीको लाठीसहितको गस्ती हुन्छ । पर्यटकहरुले आफूले चाहेको बेलासम्म घुम्न पाउने वातावरण पनि छैन् । पोखराको पर्यटनमा यसले समस्या ल्याएको र २४ घण्टा नै खुला राख्नुपर्ने आवाज पनि समयसमयमा उठिरहेका छन् ।प्रदेश सरकारले सोही समस्याको एकहदसम्म व्यवस्थापनको लागि पनि यो योजनाले समाधान गर्ने जनाएको छ । ‘पर्यटकहरुले जतिबेला चाहे खान सक्छन्, सुत्न सक्छन्, डुल्न सक्छन्, सुरक्षाको जिम्मा प्रदेश सरकारले लिन्छ’ मन्त्री लम्सालले भने ।
पामे भन्दा माथि भदौरे भन्दा तल बन्नेछ ‘ईन्जोय जोन’
यो योजनालाई अहिलेको सबैभन्दा ठुलो समस्या भनेको जग्गाको हो । मन्त्रालयले लगानीको जिम्मा नीजि क्षेत्रलाई दिईने प्रतिबद्धता जनाईसकेको छ । तर, नीजि क्षेत्रका लगानीकर्ताहरुले तीनवटा शर्तहरु राखेका छन् । पहिलो ः बजारको नजिक, दोश्रो ताल देखिनुपर्ने र तेश्रो हिमाल पनि देखिनुपर्ने ।लगानीकर्ताको यो शर्त अनुसार जग्गा खोज्न यतिबेला प्रदेश सरकारलाई सकस परिरहेको छ । लगानीकर्ताको शर्तानुसार प्रदेश सरकारले केही ठाउँमा सम्भावित जग्गा खोजेको छ ।मन्त्री लम्सालका अनुसार पहिलो प्राथमिकतामा परेको छ, ‘पामेदेखि माथि र भदौरेभन्दा तलको क्षेत्र ।’
‘सम्भावित एउटा क्षेत्र यो पनि हो, तर फाईनल चाहिँ भएको छैन्, हामीले शान्ति स्तूपा नजिकको जग्गा पनि हेरेका छौँ’ लम्सालले भने, ‘उनीहरुको (लगानीकर्ता) को शर्त अनुसारको जग्गा व्यवस्थापन अहिलेको हाम्रो मुख्य समस्या हो ।’प्रदेश सरकारले प्राथमिकतामा राखेको पामेदेखि भदौरे बिचको जग्गा हाल पोखरा महानगरपालिका वडा नं. २४ मा पर्दछ ।
‘पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडदेखि करिब ५ किलोमिटरको दूरीमा पर्दछ । फेवाताल र माछापुच्छे« एकै स्थानबाट देखिने हुँदा यही क्षेत्रमा नै ईन्जोय जोन बनाउन सकिन्छ’ लम्सालले बताए ।
निश्चित क्षेत्र तोकिसकेपछि अन्य ठाउँमा भने रोकिनुपर्ने भन्दै उनले भने,‘पर्यटक आकर्षित गर्न र आएका पर्यटकलाई भुलाउन यो अत्यन्त आवश्यक छ, तर एक ठाउँमा राखिसकेपछि अर्को ठाउँमा भने जथाभावी नफैलियोस् ।’ सहरलाई छोएको कुनै क्षेत्रमा इञ्जोय जोन बनाउन उपयुक्त हुने भन्दै यसले पर्यटनमा टेवा पु¥याउने बताए ।
उनका अनुसार पर्यटनमा नया प्रोडक्ट थप्नका लागि अध्ययन, अनुसन्धान र डिपिआर तयार गर्न प्रदेश सरकारले ९ करोड बजेट छुट्याएको हो । सो रकमबाटै इञ्जोय क्षेत्रको डिपिआर तयार गर्ने तयारी थालिएको उनले जनाए । चालु आर्थिक वर्षको अन्त्यमा डिपीआर तयार हुने उनले बताए ।इञ्जोय जोन बनेपछि पर्यटक आकर्षित हुने, पर्यटकको संख्यामा बृद्धि हुने र आएका पर्यटकको बसाई लम्विने मन्त्रालयको ठम्याइ छ । इञ्जोय क्षेत्र बनाउने पर्यटन मन्त्रीको योजनामा पर्यटन व्यवसायीहरुपनि सहमत देखिएको छ ।





