बागलुङ, २५ बैशाख– जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको स्वास्थ्य चौकीका अहेव सुनिल गुप्ता अहिले बिरामीको चकेजाँच र उपचार मात्रै गर्दैनन् नजिकै रहेको वडा कार्यालयमा आउने सबै सेवाग्राहीको काम समेत गर्छन् । उनको काम बिरामी जाँच्ने, औषधी दिने र सल्लाह दिने हो तर गाउँपालिकाको कार्यालयले उनलाई वडाका कामको समेत जिम्मेबारी दिएको छ । वडा सचिव नभएका कारण उनलाई कार्यालयको जिम्मेबारी दिईएको प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए । गुप्ता जस्तै बडिगाडकै वडा नं १ मा रहेको स्वास्थ्य चौकीमा कार्यरत यानबहादुर श्रेष्ठलाई पनि वडा कार्यालयको समेत जिम्मेबारी दिईएको छ ।
स्वास्थ्य चौकी र वडामा आउने सेवाग्राहीको काम उनीहरुले पालैपालो गर्ने गरेका छन् । निसीखोला गाउँपालिकाको वडा नं ६ मा अहेव जुनी घर्तिले स्वास्थय चौकी र वडा कार्यालयको काम धानेकी छिन्भने निसीखोला–४ मा ताराकुमारी चन्दलाई खटाईएको छ । कार्यालयको काम कारवाहीका लागि सचिवको अभाव रहेका कारण स्वास्थ्य शाखामा काम गर्ने उनीहरुलाई थप जिम्मेबारी दिएर काम चलाईएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए । निसीखोला गाउँपालिकाको प्राबिधिक काम गर्नका लागि नियुक्त भएका सहायक कम्प्युटर अपरेटर प्रकाशसिंह धामीलाई पनि दोहोरो जिम्मेबारी दिईएको छ । उनले वडा नम्बर २ को कार्यालयको काम पनि गर्दै आएका छन् ।
गल्कोट नगरपालिकामा पनि दुई वटा वडा अहेवलाई नै जिम्मा लगाईएको छ । ११ वडा रहेको गलकोटमा ५ जना वडा सचिवले ९ वटा वडा हेर्ने गरेका छन्भने बाँकी दुई वडामा स्थानिय स्वास्थ्य चौकीका अहेवलाई थप जिम्मेबारी दिएर काममा लगाईएको हो । गल्कोट नगरपालिका–२ मा अहेव जमुना कार्की र गल्कोट नगरपालिका–११ मा दिबहादुर श्रीषले स्वास्थ्य चौकी सँगै वडा कार्यालयको काम समेत गर्दै आएका छन् ।
वडा कार्यालय सचिवबिहिन
समायोजनसँगै वडामा कार्यरत कर्मचारी हिँडेपछि बागलुङका अधिकांश वडा कार्यालय सचिवबिहिन भएका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका वडा कार्यालयमा काम गर्ने कर्मचारीको अभाव भएको हो । सदरमुकाममा रहेको बागलुङ नगरपालिकामा ७ जना मात्रै वडा सचिव कार्यरत छन् । १४ वडा रहेको नगरपालिकाका बाँकी ७ वडा सचिवबिहिन छन् । ‘केन्द्र तथा प्रदेश र अन्य स्थानीय तहमा समायोजन भएका कर्मचारी हिँडे’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने ‘रहेका केही वडाका सचिवहरु समेत हिँड्ने तरखरमा हुनुहुन्छ, नयाँ कोही आएका छैनन् ।’ पाँचवटा वडा रहेको बरेङ गाउँपालिकामा १ जना मात्रै वडा सचिव कार्यरत छन् ।
उनकै भरमा सबै वडामा पञ्जीकरण दर्ता, चलानी लगायतका काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ पौडेलले बताए । ९ वटा वडा रहेको ढोरपाटन नगरपालिकामा २ जना मात्रै सचिव छन् । कर्मचारीको अभावका कारण एक जनालाई चारवटा वडा र अर्का एक जनालाई पाँचवटा वडाको जिम्मेबारी दिईएको छ । ‘वडा अध्यक्षहरुले सघाउनु भएको छ, सचिवले नै गर्नुपर्ने कामको
जिम्मेबारी दुई जनालाई दिईएको छ’ प्रमुख प्रशासकीय अधिकृत धन प्रसाद पोखरेलले भने ‘कर्मचारीको अभावमा वडा कार्यालय कतै वडा अध्यक्षको भरमा छन्भने कतै कार्यालय सहयोगीले काम चलाउनुभएको छ ।’
६ वडा रहेको तमानखोला गाउँपालिकामा २ जना, ७ वडा रहेको निसीखोला गाउँपालिकामा २ जना, १० वडा रहेको बडिगाड गाउँपालिकामा ३ जना मात्रै सचिवले काम गर्दै आएका छन् । ८ वटा वडा रहेको काठेखोला गाउँपालिकामा पनि १ जना मात्रै वडा सचिव कार्यरत छन् । प्रायःसबै वडामा सचिव रहेको यो गाउँपालिका कर्मचारी समायोजनपछि खाली भएको हो । सचिव नभएका वडाहरुमा कतै गाउँपालिकाका सहायक कम्प्युटर अपरेटर त कतै स्वास्थय शाखामा काम गर्नेहरुलाई जिम्मेबारी दिईएको छ ।
ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा पनि वडामा खटाउन सकिने कर्मचारीको अभाव छ । समायोजनका बेला स्थानीय तह रोज्ने कर्मचारी कम भएको र केन्द्र तथा प्रदेशमा समायोजन भएर सरुवा हुने क्रम बढेपछि जिल्लामा वडा सचिवको अभाव भएको बडिगाड गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत प्रतिपचन्द्र सुवेदीले जानकारी दिए । वडा सचिव नभएका कारण सर्वसाधारणको पञ्जीकरणको काम सबैभन्दा प्रभावित हुने गरेको छ ।
जन्ममृत्यु, बसाईसराई जस्ता कामहरु सचिवले नै गर्नुपर्ने व्यवस्थाका कारण सर्वसाधारणका काम प्रभावित हुने गरेको काठेखोला गाउँपालिका–५ का वडा अध्यक्ष शिव प्रसाद कँडेलले बताए । चालु आर्थिक बर्षका योजना सम्झौता तथा फरफारकका काम समेत सचिवको अभावका कारण प्रभावित हुने देखिएको छ ।
‘कार्यपालिकाको कार्यालय तथा वडा कार्यालयमा कामको चाप हुने समय हो, यहीँ समयमा कर्मचारीको अभाव छ’ बागलुङ नगरपालिकाका प्रमुख पौडेलले भने ‘आर्थिक बर्ष सकिने बेलामा कर्मचारीको समायोजन र सरुवाका कामले हामी मर्कामा परेका छौं ।’ अन्यत्रै समायोजन भएका कर्मचारीले रमाना मागिरहेको भएपनि केही पालिकाले भने रोकेर राखेका छन् ।
सबै सचिव हुने भाग्यमानी पालिका ‘जैमिनी’
दशवटा पालिकामध्ये सबै वडा कार्यालयमा सचिव रहेको पालिका हो जैमिनी नगरपालिका । १० वडा रहेको यो नगरपालिकामा ७ वडामा सचिवहरुले काम गरिरहेको र बाँकी तीन वडामा नयाँ सचिव खटाउने काम भैरहेको जैमिनी नगरका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माले बताए । ‘हामीले कार्यपालिकाको कार्यालयमा काम गर्ने कर्मचारीलाई घटाएर वडामा खटाउने योजना बनाएका छौं’ शर्माले भने ‘खाली रहेका १, ३ र ५ नम्बर वडामा सचिव खटाउन प्रकृया थालनी भएकाले हाम्रो वडा सचिवबिहिन छैनन् ।’ समायोजनका बेला स्थानीय तह रोजेर जैमिनी आउने कर्मचारीको संख्या अन्यत्रको तुलनामा केही बढि रहेकाले जैमिनीमा कर्मचारीको समस्या नभएको हो ।





