म्याग्दी २६ बैशाख – बुधवार (हिजो) साँझ म्याग्दीको सदरमुकाम बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको ना ५ ख ५७२४ नम्वरको याुत्रवाहक वस दुर्घटनामा घाइते भएकोहरुको उपचारको खर्च बेनी नगरपालिकाले व्यहोर्ने भएको छ ।
बुधवार साँझ बेनीबाट यात्रु लिएर तोरीपानी जाँदै गरेको बस बेनी नगरपालिका–९ भुर्तेदैलाको जम्रेनीमा दुर्घटना हुँदा १६ जना घाइते भएका थिए । घाइतेको बेनी अस्पताल र पोखराको मणिपाल अस्पतालमा उपचार भैरहेको छ ।
बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले दुर्घटनामा घाइतेको उपचारमा बेनीनगरपालिकाले सहयोग गर्ने भएकाले उपचारमा खटिएका चिकित्सकलाई घाइतेको उपचारमा कुनै कमी आउन नदिन आग्रह गरेका छन।
‘घाइतेको उपचारमा आवश्यक खर्चको कुनै समस्या छैन,नगरपालिकाले आफ्नो कोषबाट नै खर्चको व्यवस्थापन गर्छ बराइलीले भने ।घाइतेमध्ये चालक हरि भण्डारी सहित १४ जनाको बेनी अस्पताल र दुई जनाको पोखरा मणिपाल अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।
बस दुर्घटनामा परेका मध्य बेनी नगरपालिका ९ तोरीपानीका रुद्रबहादुर चोखाल र मंगला गाउँपालिका १ टोड्केका रतन थजालीलाई थप उपचारका लागि पोखरा मणिपाल अस्पतालमा रिफर गरिएको छ ।
त्यसैगरी तोरीपानीका सुर्यप्रकाश बाँनिया, ४५ बर्षिय मिठु परियार, तोरीपानीकी १९ बर्षिया दुर्गा केसी, तोरीपानीका मनिषा पौडेल, नारायण कार्की, खिनामति आचार्य, याम चोखाल, बेनपा १० पात्लेखेतकी पवित्रा सार्की, बेनपा ९ को ४८ बर्षिय बसन्त शर्मा, ४३ बर्षिय पुस्कल शर्मा, बेनपा १० का दिपक छिनाल, बेनपा १० का ५३ बर्षिय चन्द्रबहादुर सार्की र बेनपा ९ को १५ बर्षिय सागर परियार को बेनी अस्पतालमा उपचार भैरहेको छ ।
उकालोमा स्टेरिङ नमोडेपछि दुर्घटना भएको चालक हरि भण्डारीलाई उद्घृत गर्दै प्रहरीले जानकारी दिएको छ । उकालोमा एक्कासी बसमा समस्या देखिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।





