बागलुङ २७ बैशाख –जिल्लाको काठेखोला गाउँपालिकाले योजना तथा कार्यक्रम सम्पादनका लागि उपभोक्तालाई प्रशिक्षित गर्ने भएको छ ।सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि गाउँपालिकाले बिहिवार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा अधिकाशं सहभागीले चालु आर्थिक बर्षका योजनाका काम सम्पन्न गरे पनि प्रक्रिया र केही तौरतरिका नमिलाउँदा सास्ती पाइरहेको गुनासो गरेका थिए । उनीहरुले अब यही अवस्था बिद्यमान रहे आगामी आर्थिक बर्षदेखी उपभोक्ता समितिमा कोही पनि बस्न नमान्ने अवस्था आउने भन्दै चिन्ता समेत व्यक्त गरे ।गाउँपालिकाका ८ वटै वडाबाट आएका अधिकाशं सहभागीले प्राविधिकहरु सँगको परामर्शमा उपभोक्ता समितिले काम गरेको तर गाउँपालिकाले रकम निकासा नदिएको बताए पछि गाउँपालिकाले अब उपभोक्तालाई थप प्रशिक्षित गर्ने कार्यक्रम ल्याउने भएको हो ।काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले काम गरे जस्तो गरेर बजेट मात्र सक्ने प्रवृत्ति रोक्न खोज्दा केही सकस भएको उपभोक्ताको गुनासो आएकाले अबका दिनमा अरु उपभोक्ता र समितिले थप सास्ती नपाउने गरि काम गर्नका लागि सबै वडाका उपभोक्ता समितिलाई योजना, फछ्यौट प्रक्रिया र आवश्यक कागजातबारे प्रशिक्षित गरिने बताउनुभयो । अध्यक्ष थापाले चालु आर्थिक बर्ष भित्रै गाउँपालिकाको आफ्नै भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाका सबै वडामा गौरवका योजना तयार गरिएको र त्यसले अब कार्यकालमा महत्वपूर्ण उपलब्धि देखिने बताउनुभयो । ‘पहिलो बर्ष नयाँ अभ्यास भएकाले धेरै सिकाईमा बित्यो, दोस्रो बर्षमा धेरै अनुभवका साथ कामलाई गति दिन सफल भएका छौ,’ अध्यक्ष थापाले भन्नुभयो,‘अब बाँकी अवधिमा जनतालाई महुशुस हुने गरि काम र उपलब्धि देखिने गरि लागिरहेका छौ ।’ समाज सुधार्न राजनीतिमा होमिएका जनप्रतिनिधि आँफै सुध्रिनुपर्ने अवस्थामा पुगेको हो भन्ने प्रश्नमा थापाले सुध्रिने नभई अब दैनिक नयाँ नयाँ ऐन नियम र व्यवस्था आइरहेकाले अध्ययनशिल भएर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिश्वकर्माले आर्थिक बर्ष सकिन दुई महिना बाँकी रहँदा ३ सय २ योजना मध्ये २ सय १४ योजना सम्झौता भएको र ७१ योजना सम्पन्न भएको जानकारी दिनुभयो । राजश्व संकलन पछि दोस्रो गाउँसभाबाट योजना छनोट गर्दा केही ढिलाई भएकाले अपेक्षाकृत प्रगति नभए पनि अब धेरै योजना सम्पन्न हुने क्रममा रहेको उहाँको भनाई छ । अब गाउँपालिकामा सेवा प्रवाहलाई थप चुस्त, योजना सम्पादनमा गतिशिलता, इन्टरनेटको सहज पहुँच, निवेदन व्यवस्थापन लगायतका बिषयलाई अघि बढाइने बताउनुभयो ।कार्यक्रममा गाउँपालिकाको जग्गा व्यवस्थापन, मध्यपहाडी लोकमार्गको काठेखोला खण्डमा पर्ने सडक कालोपत्रेका लागि पहल, योजनाको पारदर्शिता, नागरिक सहभागिता, प्रभावकारी अनुगमन, गाउँपालिकाको रणनीतिक योजना, सामाजिक सुरक्षा भत्ता बितरणको सकस लगायतका बिषयमा सहभागीले प्रश्न, जिज्ञासा तथा सुझाव राखेका थिए ।करिब दुई दर्जन सहभागीले प्रश्न र सुझाव व्यक्त गरेको कार्यक्रममा नेपाली कांग्रेस काठेखोला गाउँपालिकाका सभापति ज्ञामनाथ कंडेल, राष्ट्रिय जनमोर्चाका नेता लक्ष्मण पुनले गाउँपालिकाको दिगो विकासका लागि अब साझा एजेण्डा र श्रम सहकारी बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । उनीहरुले गाउँपालिकाका प्रत्येक वडामा पनि सार्वजनिक सुुनुवाई आयोजना गरेर जवाफदेहिता र पारदर्शितालाई आत्मसाथ गर्न जनप्रतिनिधिलाई आग्रह गरेका थिए ।
कार्यक्रम गाउँपालिका अध्यक्ष अमर थापाको अध्यक्षता, उपाध्यक्ष अर्जुन खत्रीको स्वागत, पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको सहजिकरण र कार्यालयका मनोज कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।





