बागलुङ, ३० वैशाख – हातहातमा मोवाईलको सुविधा भएपछि यात्रा गर्नेले फ्रि वाईफाईको सुविधा पनि खोज्न थालेका छन् । राजमार्गमा यात्रा गर्दा खाजा खाना खाने होटल र रेष्टुरेन्टदेखि चढ्ने बसमा पनि इन्टरनेटको सुविधा खोजेर मात्र यात्रा गर्ने चलन शुरु भएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डमा पनि यस्तो सेवाको खोजी गर्ने बढेका छन् । उनीहरुले सरसफाई र इन्टरनेटको सुविधा भएको रेष्टुरेन्टमा बसेर खाना खान चाहना राख्ने गरेको होटल व्यवसायीले बताए । मध्यपहाडीको बागलुङ खण्डमा कालोपत्रेको काम थालिएपछि दर्जनौं नयाँ होटल र रेष्टुरेन्ट खुलेका छन् । सफा र स्वच्छ खाना पाउने ती होटलले पर्यटक आर्कषण गर्न वाईफाईको व्यवस्था समेत गरेका छन् ।
हरेक यात्रीका हातमा स्मार्ट फोन भएकोले सबैले रोकेको समयमा फोटो खिच्ने र वाईफाई चलाउन मन गर्न थालेपछि होटलमा वाईफाईको व्यवस्था गरेको होटल संचालकले बताए । ‘आएका पाहुनाले वाईफाईको पासवर्ड माग्न थाल्छन्, छैन भन्यो भने अर्को होटलमा पुग्छन्’ रिजालचोकका व्यवसायी बिष्णु थापाले भने, ‘इन्टरनेटको सुविधा दिन नसकेमा आएका पाहुना अर्कै होटलमा जान्छन् ।’ पाहुना रोक्नकै लागि वाईफाई जोडेको उनले बताए । बिहुँ खण्डको २५ किमी बाहेक झण्डै ६० किमी कालोपत्रे भैसकेको छ । जिप र बसमा भन्दा निजी कारमा यात्रा गर्ने, ट्याक्सी लिएर आउनेहरु धेरै भएकोले यात्रीले रेष्टुरेन्टमा एकडेढ घण्टा बिताउन खोजेको उनले बताए ।
‘प्राईभेट कार लिएर आएकाले आर्कषण दृश्य देखिने स्थानमा रोकेर अर्गानिक खाँदै र इन्टरनेट चलाउन मन पराउँछन्’ उनले भने, ‘समय अनुसारको सेवा नदिने हो भने व्यवसाय पनि लोप हुन्छ ।’ सरसफाईमा ध्यान नदिएका, इन्टरनेटको सुविधा र पार्किङ नभएका धेरै होटल बन्द भएको उनले बताए ।
बाक्ला होटल बन्ने ठाउँभन्दा राजमार्गको छेउछाउमा कटेज बनाएर संचालन भएका स्थानमा बढी यात्रीहरु आउने गर्छन् । परंपरागत व्यपार गरेकाहरुले धमाधम होटल बन्द गरेको बिहुँका महेन्द्र पुनले बताए । काठेखोलाको रगेनी, बडिगाडको ग्वालीचौर, र गलकोटको आँगखेतमा नयाँ र आधुनिक रेष्टुरेष्ट खुलेका छन् । यसरी खुलेका रेष्टुरेन्टमा सम्पर्क गरेर खाना र खाजा खानेहरु आउँछन् ।
सरसफाई, फ्रि वाईफाई समेत राखेको र हिमाल तथा अन्य आर्कषक दृश्याबलोकनले नयाँ होटलमा आर्कषण बढेको हो । ‘वाईफाइ नभएको पसलमा लगियो भने यात्रीले पनि राम्रो मान्दैनन्, त्यसैले यात्रीकै रोजाईमा सवारी पार्किङ र खाजा खुवाउने गरेको छु’ जिप चालक चन्द्रबहादुर कार्कीले भने, ‘पहिला बास बस्ने गरी जाने गाउवँमा अहिले पुगेर फर्कन थालिएको छ ।’ पुगेर फर्कंदा जिप चालकहरुले एकैदिन दोहोरो भाडा कमाउन थालेका छन् । पहिला एक दिन लगाएर बुर्तिवाङ पुगेपछि भोलीपल्ट मात्र उनीहरु फर्कन्थे । अहिले चारपाँच घण्टामा बुर्तिवाङ पुग्न सकिन्छ ।
सडक सहज भएपछि शनिवार वा सार्वजनिक बिदाको दिन बुर्तिवाङसम्म पुगेर फर्कने धेरै हुने गरेको उनले बताए । दुइ तिन दिनको बिदा मिलाएकाहरुले ढोरपाटनसम्म घुमेर फर्कन्छन् । यो सडक खण्डको बाटो भएर हाल पूर्वी रुकुमका सयौंले यात्रा गर्न थालिसकेका छन् । हाल हिउँदमा बुर्तिवाङदेखि रुकुमकोटसम्म बस समेत चलेको छ ।
कालोपत्रे सडक बन्न लागेकोले बुर्तिवाङदेखि पर्यटक बोक्ने आरामदायी बस पनि चल्छन् । काठमाण्डौ, पोखरा र बुटवलका लागि दैनिक छुट्ने ती बसमै वाईफाई जोडिएका छन् । ‘यात्रा सहज भएकोले पर्यटक बढेका छन्’ व्यवसायी अर्जुन थकालीले भने, ‘सुविधा खोज्ने आन्तरिक पर्यटकले व्यवसाय सफल बन्दै गएको छ ।’ दिवा र रात्री बसको टिकट लिन आउनेले पनि वाईफाई भएकै बस रोज्न थालेको उनको अनुभव छ ।





