म्याग्दी, ३० बैशाख -पश्चिम म्याग्दीको मंगला गाउँपालिका–१, पूर्णगाउँमा उद्यमसिलता विकास एवं होमस्टे तालिम सुरु भएको छ । मंगला गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा शनिबारदेखि पूर्णगाउँमा १० दिने तालिम सञ्चालन गरिएको हो ।
आगामी जेठ ५ गतेसम्म सञ्चालन हुने तालिममा कुहुँ र पूर्णगाउँका २० जनाको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकद्वय भूपेन्द्र कार्की र सौरब सापकोटाले सहजीकरण गर्ने आयोजकले जनाएका छन् । तालिमको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवाल र मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
तालिमको उद्घाटन गर्दै उद्योग वाणिज्य संघका वरिष्ठ उपाधयक्ष कटुवालले होमस्टेले स्थानीयलाई रोजगारी सिर्जना गर्नुका साथै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने बताए । उनले होमस्टे सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताउँदै आर्थिक रुपमा आत्मनिर्भर बन्न उद्यमसिलमैत्री बन्नुपर्नेमा जोड दिएका छन् ।
तालिम आयोजक मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले पर्यटकीयस्थल टोड्केमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होमस्टेमार्फत स्थानीयवासीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताइन् । पर्यटकीयस्थलको रुपमा परिचित टोड्के र बराङ्जाको झाँक्रीपानीमा होमस्टे सञ्चालनका लागि तालिम चलाइएको बताउँदै उनले गण्डकी प्रदेश सरकारले होमस्टे सञ्चालनका लागि २० लाख रुपैयाँ बजेट अनुदान उपलब्ध गराएको जानकारी दिएकी छिन् ।
कार्यक्रममा मंगला गाउँकार्यपालिका सदस्य डिलकुमारी केसी, घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग अधिकृत सरिता गौतम, प्रशिक्षक कार्की र स्थानीय दुर्गादत्त आचार्यले मन्तव्य राखेका थिए । कार्यक्रम गाउँपालिका उपाध्यक्ष केसीको अध्यक्षता, धौलागिरी पर्यटन परिषद म्याग्दीका अध्यक्ष अमर बानियाँको स्वागत र उद्योग वाणिज्य संघका सचिव सुवर्ण रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।





