पोखरा,१ जेठ – गण्डकी प्रदेश सरकार आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ । काम के भयो र हुँदैछ ? मन्त्री भन्छन्,‘भइरहेको छ ।’ पर्यटन वर्षसँगै प्रवद्र्धनात्मक काम हुनैपर्छ । प्रवद्र्धन सरकारकै मात्र त होइन नि ! त्यसलै बागलुङ गलकोट, आँगाखेतका मोहन केसी एक्लै आफ्नो गाउँको प्रवद्र्धनमा लागेका छन् । गाउँ प्रवद्र्धनको लागि गलकोटमा दुईवटा महोत्सव आयोजना गर्न भ्याएका उनी यतिबेला समग्र गाउँको प्रवद्र्धनको लागि बृत्तचित्र र सिनेमाको तयारी गर्दैछन्
‘हो हामी छिट्टै बागलुङका रमणीय ठाउँहरुको प्रचार गर्नेगरी एउटा फिल्म बनाउने तयारीमा छौँ’,उनले भने,‘त्यसको कथा तयार भएको छ, अब छिट्टै छायाङ्कन सुरु हुन्छ ।’ फिल्ममा देखाइने दृष्यले बागलुङका पर्यटकीय र ऐतिहासिक ठाउँहरुको प्रचार हुने र पर्यटनको विकास हुने उनले दावी गरे । उनका अनुसार सिनेमा बनाउन करिब ८० लाख खर्च लाग्नेछ । फिल्म मनोरञ्जनात्मकभन्दा पनि बागलुङलाई चिनाउने उदेश्यमा समर्पित रहने उनले बताए । जापान जाने अवसर छाडेर नेपालमै बस्दै आएका उनी पछिल्लो समय गीत संगीतको व्यवसायसँग पनि जोडिएका छन् ।
बागलुङ चिनाउने एक्लो यात्रा किन त ? उनी भन्छन्,‘पर्यटक गए उतै ( गाउँमै ) बसेर पर्यटनसँग जोडिएको व्यवसाय गर्ने धोको छ ।’मोहनको धोको त के के थिए के के !
उनी सधैँ आकारहीन सपना पछ्याउँथे । गाउँका साथीभाईहरु ‘लाहुरे’ सपना देख्दा उनी गाउँका पाखाहरुमा पसिनाको खेतीको तानाबाना बुन्थे । किसानी पिताको कर्मको निरन्ततामा उनी आफूलाई खुसी पाउँथे । त्यसैले उनले १६ वर्षको उमेरमै गाउँमै माछापालन गर्न पितालाई जोस्याए । माछासँगै उनको मन पोल्ट्री फार्म’ खोल्न तानियो । माछापछि उनले गाउँमा बंगुर पाल्न पनि भ्याए । क्षेत्रीको छोराले बंगुर पालेको गाउँलेले के सहन्थे, उनलाई झण्डै छोइछिटोकै व्यवहार भयो, आफन्तहरुबाटै । तर, उनी डग्मगाएनन् । निरन्तर आफ्नो कर्ममा लागिरहे ।
पिता कमल केसीका छोरा मोहन २०६० सालकोतिर कलिलै थिए । पिता पनि गाउँमै केही गर्नुपर्छ भन्ने मान्यता राख्ने । मोहनका अनुसार गाउँका सबै मान्छे जापान जाने लहर चलेको बेला पिता भने भिसा लागेर पनि जापान गएनन् । कृषि कर्ममै रमाए । पिताको छाप परेका मोहनको कलिलो मनमा केही गर्नुपर्छ भन्ने भावना भने थियो । त्यही भावनाले उनी पिताको माछा पालनलाई सघाउन थाले । कुलोको मुहानमै भएको खेतमा धान रोप्न छाडेर पिताले ३ वटा पोखरी बनाउँदा मोहनमा पनि गर्नुपर्ने यही रहेछ भन्ने भयो ।
‘पक्की पोखरीमा ग्रासकार्प, नैनी,मागुर जातका माछा थिए’, मोहनले भने‘आम्दानी पनि राम्रै थियो ।’ माछा पाल्दै गर्दा मोहनको मनमा बंगुर पाल्ने सोच पलायो । माछासँगै बंगुर पाल्दा माछालाई आहार पनि हुने सुनेपछि मोहनले पितासँग मिलेर २०६५ सालतिर बंगुर पाल्न थाले । बंगुर पाल्न सजिलो चाहिँ भएन । गाउँलेहरु क्षेत्रीको छोरा भएर बंगुर पालेको भन्दै खिसिट्युृरी गर्थे । तर मोहन डग्मगाएनन्
‘त्यो बेला भण्डै पानी नै बार्ने अवस्था पनि आयो’, मोहनले भने,‘हामीले वास्ता गरेनौँ बरु २०६९ सालतिर क्षेत्रीय पशु कार्यालय पोखराको परामर्शमा उन्नत जातका हिमसार र ल्यान्डेन्स बंगुर पाल्न थालियो ।’ उनका अनुसार त्यो बेला उको फार्मबाट वार्षिक २ सयवटा बंगुरका पाठा उत्पादन हुन्थे रे ।पाठा नजन्मदै छिमेकी गाविस रीघा, काडेबास, पाण्डबखानी, दगातुन्डाडा, हरिचौर, हटिया, दुदिलाभाटी हिल तथा गुल्मीबाट समेत मानिस किन्न आउने गरेको उनले सम्झिए ।
अब मोहन आफै व्यवसाय हेर्ने भइसकेका थिए । उनले करिब ४ सय कुखुरा अटाउने खोर बनाए । पोखराबाट चल्लन लगेर कुखुरामै भाग्य अज्माए । कखुराले राम्रै आम्दानी दियो ।
‘गाउँका मान्छेहरु विदेश नगएर के गरेको होला भन्थे’, उनले सुनाए,‘मचाहिँ गाउँमै केही गरौँ भन्ने ध्याउन्नमा थिएँ ।’ उनी गाउँमै बस्थे । कुखरासँगै उनले टनेल बनाएर तरकारी लगाउन सुरु गरे । ‘तर,सोचेजस्तो नहुँदो रहेछ, हाम्रो काम देखेर कुनचाहिँ पापीले माछा पोखरीमा विष हालिदिएछ, माछा सबै मरे’, उनले भने,‘ मन भरङ्ग भयो ।’
गलकोटतिर जापान जानेहरुको संख्या ठूलो थियो । मोहनलाई ‘सके पो जापान जान्थ्यो !’ भनेर हेप्नेहरुलाई देखाउन मन लाग्यो । उनी कृषि पेशा पितालाई सुम्पँदै पोखरा झरे । कुकिङ र जापानी भाषा सिके । कृषकबाट कुक बनेका उनलाई जापानले भिषा नै दियो । तर, मन न हो, उनले भिसा लागेको पासपोर्ट नै च्यातिदिए । जीवनले नयाँ मोड लियो ।





