म्याग्दी, २९ जेठ – म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल र यसको आधार शिविर ओझेलमा परेको छ। विश्वको दशौँ र नेपालको नवौँ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस यर्सोगले पहिलो पटक आरोहण गरेका थिए। ८००० मिटर भन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल अन्नपूर्ण प्रथम हो। यर्सोगले अन्नपूर्ण हिमालको आरोहण गरेको तीन वर्षपछि मात्रै सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल भनिएको हो। कास्कीको अन्नपूर्ण गाउँपालिकाको छायामा परेको म्याग्दीको अन्नपूर्ण आधार शिविरको पर्यटन उद्योग पूर्वाधार र प्रचारप्रसारको अभावका कारण पछि परेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङ बताउँछन्।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ४ नम्बर वडामा पर्ने नारच्याङ गाउँदेखि तीन दिनको यात्रामा पुगिने अन्नपूर्ण प्रथम आधार शिविर गुमनाम छ। आरोहण भएको ६९ वर्ष सम्म पनि आरोही बाहेक अन्नपूर्ण आधार शिविरमा भ्रमणका लागि पर्यटक आउन सकेका छैनन्। २०६७ मा अन्नपूर्ण प्रथमको आधार शिविर म्याग्दीमा पर्छ भन्ने तथ्य थाहा पाएपछि नारच्याङका बासिन्दाहरूले गाउँदेखि आधार शिविरसम्म पुग्ने पदमार्ग पहिचान गरेका थिए।

आठ वर्षको अवधिमा पैदलमार्ग र झोलुङ्गे पुल निर्माण गरेर पदमार्ग सञ्चालन गरिएको छ। यसअघि हिमाल आरोहीहरू मुस्ताङको ताक्लुङ हुँदै करिब पाँच दिन भिर र जंगलमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्ने गर्दथे। यर्सोग पनि ताउलुङकै बाटो भएर आधार शिविर पुगेका थिए। आरोहीका बन्दोबस्तीका सामग्री नारच्याङदेखि तीन दिनको यात्रा गरेपछि पुगिने आधार शिविरमा भरियामार्फत् पुर्याउन थालिएको छ। पदमार्ग व्यवस्थित र सुरक्षित नभएकाले आरोहीहरू भने हेलिकप्टरबाट सिधै आधार शिविर पुग्छन्।
म्याग्दी र कास्कीको सिमा क्षेत्रमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणको लागि आधार शिविर भने म्याग्दीमा मात्र छ। आधार शिविर पुग्ने वैकल्पिक बाटो छैन। यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो हो। अन्नपूर्ण प्रथम आरोहणका लागि कठिन हिमाल मध्येमा पर्छ। आधार शिविर भने फराकिलो भूगोलमा भएकाले सुरक्षित छ। हिमपहिरो र अन्य दुर्घटनाको जोखिम कम छ। यही हिमालको नामबाट अन्नपूर्ण गाउँपालिकाको नामाकरण भएको छ। भौगोलिक रुपमा विकट क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर राज्यको उपेक्षाको शिकार भएको स्थानीय युवा सुवास विश्वकर्मा बताउँछन। गण्डकी प्रदेश र समग्र देशको पर्यटन उद्योगमा योगदान गरेको अन्नपूर्ण हिमाल आसपासको क्षेत्र भने विकासको पर्खाइमा छ।
आधार शिविरमा रहेको पञ्च कुण्ड नारच्याङ ताल यहाँको अर्को आकर्षण हो। निलो रंगको, गोलो आकारको करिब एक किलोमिटर लम्बाई र ५०० मिटर चौडाईमा फैलिएको यो हिमतालको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल छ। अन्नपूर्ण हिमालबाट आउने हिउँ पग्लिएर बनेको तलाउ निकै सुन्दर र मनमोहक छ। तालमा स्नान र पूजाआजा गरेमा दिवंगत आफन्तको उद्धार हुने धार्मिक विश्वास छ। पञ्चरामायणमा यो तालको बारेमा वर्णन गरिएको छ।
यसैगरी आधार शिविरबाट निलगिरि नर्थ, निलगिरी मिड, अन्नपूर्ण फ्रेन्क, तिलोचो पिक हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। जैविक विविधता, प्राकृतिक सौन्दर्यता र धार्मिक पर्यटनका हिसाबले यो क्षेत्रको प्रशस्त सम्भावना भएको धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाले बताए। पछिल्लो केही वर्षयता नारच्याङका बासिन्दा अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग लगायत पूर्वाधार निर्माण र प्रचारप्रसारमा जुटेका छन्। ६ वर्ष लगाएर बनाइएको पदमार्गको स्तरोन्नती सुरु गरिएको छ।
नारच्याङ गाउँदेखि छोटेपा भन्ने ठाउँसम्मको एक दिनको बाटोमा निलगिरी जलविद्युत आयोजनाले ११ किलोमिटर सडक बनाएको छ। छोटेपादेखि हुमखोलासम्म एक दिनको पैदलमार्ग पनि सोही जलविद्युत आयोजनाले सडक बनाउन लागेकाले छोटिने छ। निलगिरि खोलाको किनारै किनार अक्करे भिर र पहाड फुटाएर पदमार्ग बनाउन नारच्याङका बासिन्दा जंगलमै बास बसेका छन्। बस्तीदेखि टाढा र भौगोलिक रुपमा विकट क्षेत्र भएकाले ओदार र पाल टाँगेर जंगलमा बास बसेको पदमार्ग निर्माण समितिका अध्यक्ष मनबहादुर गर्बुजा बताउँछन्।पदमार्ग, छोटेपा र आधार शिविरमा आश्रयस्थल तथा दुई ठाउँमा झोलुङ्गे पुल बनाउन चालू आर्थिक वर्षमा संघीय सरकारले २० लाख, प्रदेशले १५ लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले १० लाख र गाउँपालिकाले तीन लाख रुपैयाँ विनियोजन गरेका छन्। यो पदमार्ग स्तरोन्नती र पूर्वाधार थपेर पदमार्गलाई सहज र सुरक्षित रुपमा आवतजावत गर्ने बनाउन लागिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताए। पदमार्गमा आवासगृह, खानेपानी, झोलुङ्गे पुल लगायत पूर्वाधार तयार पारेर हेलिकप्टरबाट जाने पर्यटक र आरोहीलाई पैदलमार्गबाट पुर्याउने गाउँलेको योजना छ।
यो पदमार्गमा होटल तथा लजको सुविधा नभएकाले क्याम्पिङको विकल्प छैन। वर्षमा १० देखि १५ समूह आरोहणका लागि अन्नपूर्ण आधार शिविर पुग्छन्। पछिल्लो याममा तीन समूहले अन्नपूर्ण आरोहण गरेका थिए। समुद्री सतहदेखि चार हजार पाँच सय मिटरको उचाईमा आधार शिविर रहेको छ। आधार शिविरमा रहेको तालको संरक्षण र धार्मिक पर्यटनमा स्थानीय जुटेका छन्। ताल परिसरमा करिब साढे दुई लाख रुपैयाँको लगानीमा नारच्याङबासीले शिव मन्दिर समेत बनाएका छन्।

नारच्याङका चन्द्रजित पुनले व्यक्तिगत लगानीमा सार्वजनिक शौचालय बनाएका छन्। तालको सौन्दर्यकरण गर्ने र बाँध बाँधेर गहिराई तथा क्षेत्रफल बढाउने योजना रहेको पुनले बताए। पदयात्राबाट उच्च हिमालको दृश्यावलोकनका साथै हिमताल र विभिन्न वनस्पति, चराचुरुंगी पनि अवलोकन गर्न सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले बताए।
हिउँचितुवा, नाउर, झारल, मृग, कस्तुरी मृग लगायतका जनावर, दुर्लभ रोसकोइया जातको बनस्पति, लालिगुराँस, विभिन्न जातका चरा र वनस्पति यहाँको आकर्षण भएको बरालले बताए। अन्नपूर्ण हिमालको सम्भावना र महत्वका बारेमा स्थानीय तथा जिल्लाका सरोकारवालाको ध्यान नपुग्नु, पूर्वाधार तथा व्यवस्थापनको अभाव र निर्माणाधिन जलविद्युत आयोजनाले विस्तार गर्न लागेका सडक यस क्षेत्रको पर्यटन विकासको चुनौति देखिएको छ। देशका धेरै पुराना पदमार्गहरू सडकका कारण विस्थापित भएका छन्। यसको पर्यटन विकासका लागि समुदाय, स्थानीय, प्रदेश, संघीय सरकारका निकायका साथै निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको सक्रियता आवश्यक देखिन्छ।





