पोखरा, १२ साउन – गायक रामभक्त जोजिजुको नयाँ गीत सार्वजनिक भएको छ । ‘मायालाई ढाका पछ्यौरी’ बोलको गीतलाई एक विशेष कार्यक्रमका बीच पोखराबाट सार्वजनिक गरिएको हो ।‘डान्सिङ बिट’ मा रहेको गीतको भिडियो समेत निर्माण भैसकेको छ । ‘रामभक्तले स्टेरियो टाइपको गीत मात्र गायो । खासगरि विरहका गीतमा मात्र गाउने तर डान्सिङ नम्बरहरु नगाउने भन्ने खालको आरोप धेरै खेपेँ ।’ भिडियो सार्वजनिक कार्यक्रममा गायक जोजिजुले भने–‘दर्शकको चाहना अनुसारकै डान्सिङ नम्बरको गीत बजारमा ल्याएको हुँ ।’
सँस्कृतिकर्मी तीर्थ श्रेष्ठले गीतको विमोचन गरेका थिए । ‘रामभक्तलाई यो गीत निकै गज्जबले सुहाएको छ । साँच्चै गीतले नाच्न प्रेरित गर्छ ।’ श्रेष्ठले भने–‘गीतको सफलताको कामना गर्दछु ।’ मौलिकता नै गीतको आकर्षण भएको उनले बताए ।
‘हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ले जोजिजुको गीत सार्वजनिक कार्यक्रमको माहौल मिलाएको थियो । प्राज्ञ तथा साहित्यकार सूर्य खड्का बिखर्चीले गीत निकै सुन्दर बनेको प्रतिक्रिया दिए । ‘गीत सुन्दर हुन सरल, सहज र सरस्वतीको बास हुनुपर्ने र यी तीनवटै गुण यो गीतमा मैले पाएँ ।’ उनले भने ।
पछिल्लो समयमा चलचित्रको संगीतमा जमेका राजनराज शिवाकोटी यो गीतका संगीतकार हुन् । गीतलाई उमेश सिकेले लेखेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र अभिनेता निराजन प्रधान फिचर भएका छन् । निकेश खड्काको निर्देशनमा बनेको यो भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । बिकास धमला भिडियोका सम्पादक हुन् ।
चलचित्र निर्देशक घनश्याम लामिछानेले भिडियोको समिक्षा गरेका थिए । उनले गीतको भाव अनुसार नै भिडियो निर्माण भएको बताए । ‘केही राम्रो कुराका लागि धेरै राम्रा कुराहरुको मिश्रण चाहिन्छ । यो गीत र भिडियोमा सबैले राम्रो काम गरेका छन् । त्यसैले भिडियो उत्कृष्ट बनेको छ ।’ लामिछानेले भने ।





