शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निधन

दीक्षितले 'माधवी' उपन्यासका लागि २०३९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए।


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७६, बिहिबार

काठमाडौं, ३० साउन -वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी निवास कालिकास्थान ल्याइएको थियो । निवासमा शौचालय जाँदा बेहोस भएका भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो । दीक्षितका ‘माधवी’, ‘ऋग्वेदः केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेका थिए । नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ । उनको जन्म १९७९ फागुन ६ गते काठमाडौंको गैरीधारामा भएको थियो । उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।
९७ वर्षको उमेरमा पनि उनी लेखपढ गर्न सक्ने अवस्थामा थिए । आजै उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा भएको थियो ।  लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । दीक्षितले ‘माधवी’ उपन्यासका लागि २०३९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। यही साल यो कृतिले साझा पुरस्कारसमेत पाएको थियो।
दीक्षितका प्रकाशित केही कृतिहरूः
१. माधवी (उपन्यासवि.सं. २०३९)
२. चरैवेति (निबन्ध संग्रहवि.सं. २०४४)
३. त्यो युग (निबन्ध संग्रहवि.सं. २०४७)
४. हाम्रा ती दिन (निबन्धवि.सं. २०२९)
५. म रुँदै बिर्सन्छु (संस्मरणवि.सं. २०२७)
६. बर्लिन डायरीका पाना (यात्रावर्णनसन् १९८४)
७. लाखौं शिशुहरू लिफ्ट मागिरहेछन्
८. मेरी आमाको प्रश्नलाई आज जवाफ चाहिएको छ
९. कसले जित्यो कसले हार्‍यो? (कथा संग्रहवि.सं २०२१)
१०. दशलाख हिरोसिमातिर
११. ग्यास च्याम्बरको मृत्यु (कथा संग्रहसन् १९८५)
१२. जीवन महाअभियान
१३. ऋग्वेद: केही प्रमुख सूक्त (२०६५ वि. सं.)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->