गत वर्षको असार महिना जिल्लाको बरेङ गाउँपालिकाका लागि सबैभन्दा धेरै दःुख दिने महिनाका रूपमा रह्यो । अविरल वर्षासँगै आएको पहिरोका कारण एकै परिवारका तीनजनाले ज्यान गुमाउनुप¥यो भने बरेङका कैयौँ किसानको खेतबाली मासियो । असार ११ गते बरेङ गाउँपालिका–१ लुरुङमा आएको पहिरोका कारण स्थानीय विष्णुबहादुर घर्ती, उनकी श्रीमती र साढे दुई वर्षकी छोरीले ज्यान गुमाए । जिल्ला सदरमुकामबाट झन्डै ३६ किलोमिटरको दूरीमा भएको यो घटना रातको समयमा भएको थियो । गाउँपालिका तहमा रहेको सुरक्षा निकायले समेत उद्धारका लागि तत्काल त्यहाँ पुग्न भीषण वर्षाका कारण नसक्ने अवस्था रहेको देखाइरहेका वेला गाउँपालिकाका अध्यक्ष र पदाधिकारीसहितको टोली घटनास्थलमा पुग्यो र उद्धारमा लाग्यो । घटना भएको झन्डै १२ घन्टापछि मात्रै जिल्लाको सुरक्षा दल, दैवी प्रकोप उद्धार समिति र राज्यको अन्य तहका सरोकारवाला घटनास्थलमा पुगे । संघीयताको कार्यान्वयनसँगै बनेको स्थानीय सरकारले दैवी प्रकोपका वेला उद्धारमा देखाएको यो कदमले संघीयताले नजिकमा सरकार भएको महसुस बरेङवासीले गरे । जसको उदाहरण सोही पहिरोमा परी उद्धार गरिएका विष्णुबहादुरका दुई छोरी हुन् । यदि समयमा उद्धार नभएको भए उनीहरू निस्सासिने अवस्थामा थिए । सानो उमेरका उनीहरू अत्तालिएको अवस्थाबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउँछन् । ‘पहिले–पहिलेजस्तो घटना भएको लामो समय उद्धार र राहतका लागि कुर्नुपर्ने अवस्था छैन,’ शर्माले भने, ‘हामी जनताका सेवक जहाँ दुःख पर्छ त्यहाँ पुगिहाल्छौँ ।’
गत वर्षकै साउन महिनाको २९ गते जिल्लाको निसीखोलामा पहिरोमा परी सासु–बुहारी बेपत्ता भए । निसीखोला गाउँपालिका –३ मुस्केलाका ६५ वर्षीया धनकुमारी शाही र उनकी बुहारी ३५ वर्षीया डल्ली शाही पुरिए । जिल्ला सदरमुकामदेखि झन्डै १ सय ३० किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा उद्धारका लागि पुग्ने पहिलो निकाय स्थानीय सरकार नै थियो । गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुशील पनेरु उद्धारका लागि घटनास्थलमा पुगे । केही समयपछि दुवैजना सासु–बुहारीको शव पहिरोमुनिबाट निकालियो । जिल्ला दैवी प्रकोप उद्धार समिति र सुरक्षा निकाय पुग्नेबेलासम्म उद्धारको काम सकिएको थियो ।
गत वर्ष नै बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९, नवी गाउँमा मंसिर ९ गते बिहान २ बजे आगलागी हुँदा ४८ घर पूर्ण रूपमा जलेर नष्ट भए । स्थानीय प्रहरी चौकीले जानकारी पाएलगत्तै ढोरपाटन नगरपालिकाको कार्यालयमा जानकारी आयो । बिहानै नगर प्रमुख देवकुमार नेपालीसहितको टोली घटनास्थल मात्रै पुगेन त्यहाँ पुगेर पीडितलाई तत्कालै राहतको घोषणा ग¥यो । प्रतिपरिवार १ लाख रुपैयाँ दिने गरी नगरपालिकाले गरेको घोषणाले मात्रै नवी गाउँबासीले अभिभावक पाएको महसुस गरे । स्थानीय यन्द्र शाही भन्छन्, यसले हामीलाई स्थानीय सरकार आफूसँगै भएको महसुस गरायो ।
यही साउन १९ गते रातिदेखि अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोलामा तीनजनाको मृत्यु भयो भने सातजना घाइते भए । तमानखोला गाउँपालिका–४ लाम्मेलामा आइतबार राति १ः३० बजे गाउँको करिब १५० मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा एकै घरका हजुरआमा र नातिको मृत्यु भयो । पहिरोमा परी घाइते भएका सातैजनालाई पहिरोभित्रबाट उद्धार गरिएको थियो । घटना हुँदा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा जिल्ला सदरमुकाममा भए पनि त्यहाँ तमानखोलामै रहेका प्रमुख प्रशासकीय अधिकृत र अन्य जनप्रतिनिधिको सक्रियतामा उनीहरूको २० गते बिहानसम्म उद्धार गरिसकिएको थियो । प्रहरीले उनीहरूलाई सघायो ।
घटना भएको दिनपछि बसेको तमानखोला गाउँ कार्यपालिकाको बैठकले उनीहरूलाई राहतको घोषणा मात्रै गरेको छैन । पहिरोमा पुरिएका सबै घर गाउँपालिकाले नै बनाइदिने घोषणासमेत गरेको छ । यी प्रतिनिधि घटना मात्रै हुन् । जिल्लामा भएका कैयौँ दैवी प्रकोपका घटनामा स्थानीय सरकारको सक्रियतालाई सर्वसाधारणको तहबाट नै प्रशंसा हुने गरेको छ । संघीयताको कार्यान्वयनपूर्व यहाँ रहेको गाउँविकास समितिको संरचनामा अधिकार र स्रोत सीमित हुने भएकाले अहिलेको गाउँपालिका तथा नगरपालिकाले जस्तो निर्णय गर्न कठिन थियो । दैवी प्रकोपमा सदरमुकाममा रहेको दैवी प्रकोप उद्धार समितिले उपलब्ध गराउने राहत रकमबाहेक विरलै पीडितले राहत पाउँथे ।
‘पहिले पनि स्थानीय निकायमा भैपरी आउने कोष हुन्थ्यो त्यसैबाट पुग्ने मात्रै खर्च गरेर पीडितले राहत पाउँथे’, जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले भने, ‘अहिले स्थानीय तहमा विपत् व्यवस्थापन समिति नै हुन्छ, अहिले दैवी प्रकोपका समयमा उद्धार र राहतको काम पहिलेभन्दा व्यवस्थित बनेको छ ।’
स्थानीय सरकारले तत्काल देखाउने प्रतिक्रियाका कारण सर्वसाधारणमा पनि आशाको त्यान्द्रो पलाएको छ । ‘आगो लाग्यो, सबै जल्यो, तर भगवान् आउनुभयो, हामीलाई घर दिनुभयो’ स्थानीय सरकारको कामको प्रशंसा गर्दै ढोरपाटन नगरपालिका–९ नवी गाउँकी सोमला श्रीपालीले भनिन् ‘सरकारले त हाम्रो सास अड्याइदिएको छ ।’ विपत्का बेला उद्धार र राहतमा तीनै तहका सरकारमातहतका निकाय सक्रिय हुने भए पनि पहिलो उपस्थिति स्थानीय सरकारको हुने गरेको छ । दूरीका हिसाबले नजिक रहने र जनताको अपेक्षा पनि नजिककै सरकारसँग हुने भएकाले सक्रियता बढेको स्थानीय सरकार प्रमुखहरू बताउँछन् ।





